नातिनीको सपना

शनिबार, १४ भदौ २०७६, १२ : ३२ शुक्रवार
नातिनीको सपना

सामान्यतः दुई वर्षीया बालिकाप्रति को ईष्र्यालु हुँदो हो ? पक्कै पनि कसैले उनको उपलब्धिमा ईष्र्या गर्दैन तर यो खबर पढ्नुभयो भने चाहिँ उसप्रति ईष्र्या पलाउँछ नै !

आफ्नी नातिनी लोगनको ह्यारी पोटर मोह देखेर रुबी र डेभ लनलपले आँगनमा उनका लागि ३५० स्क्वायर फिटको ह्यारी पोटर पढ्ने स्कुल निर्माण गरिदिएका छन्। यो स्कुल ठीक त्यस्तै बनाइएको छ, जसमा ह्यारी पोटरले पढ्ने गरेका थिए।

क्यानडेली यी हजुरबा–हजुरआमाले दुई तल्ले ह्यारी पोटर थिमको घर बनाइदिएका हुन्। घरलाई ‘हफलिपफ’ नामकरण गरिदिएका छन्।

त्यसो त यो घर पूरा हुन अझै समय लाग्ने नै छ किनभने यसमा उपन्यासमा वर्णित होगवार्ट्स, ओलीभेन्डरको चमत्कारी पसल तथा निजी ड्राइभका लागि पर्याप्त ठाउँजस्ता कुरा निर्माण गरिएका छन्।

चमत्कारी कुचो, ह्यारीको सामान राख्ने ब्याग (ट्रङ्क) लगायत अन्य धेरै कुराहरु यो घरमा राखिएका छन्। कतिसम्म भने यो घरमा ह्यारी, रोन, हर्मोनी र एल्बस डम्बलडोर लगायत अन्य लोकप्रिय पात्रका तस्बिरहरुसमेत झुण्ड्याइएका छन्।

यो घर नक्कली भएकाले निर्माण गर्न भने उति धेरै समय लागेन। यस्ता घर निर्माण गर्न कहलिएको चाम्र्ड प्लेहाउस कम्पनीले जम्माजम्मी ६ सातामा यसलाई बनाएको हो। अझै तीन दिनभित्रमा सबै काम सकिने दाबी डनलप्स होमले जनाएको छ।

यो घर बनाउन कति खर्च भयो भन्नेबारे नखुलाइए पनि यस्ता घर निर्माण गर्नका लागि १५ हजार डलरदेखि २ लाख ५० हजारसम्म खर्च हुने कम्पनीले जनाएको छ।

नातिनीका लागि यो चमत्कारी घर बनाइसकेपछि डेभले भनेका छन्, ‘नातिनी कहिलेदेखि यसमा खेल्छे मलाई थाहा छैन तर मैले यो घर बनाउनुको मूल कारण चाहिँ मेरी छोरी ह्यारी पोटरको ठूलो प्रशंसक हो। मेरी छोरी नै यत्रो प्रशंसक छे भने नातिनी पनि भविष्यमा पक्कै प्रशंसक हुने नै छे किनभने हुर्कदै गर्दा पढ्ने भनेको यही उपन्यास हो। उसले पढ्नु र प्रशंसक हुनुअघि नै उपहारका रुपमा यो चिज पाओस् भन्ने मेरो कामना हो।’

अहिले नै आफ्नालागि घर बनेको चाल पाएकी लोगनले यो घरलाई ‘मेरो घर’ भनेर बारम्बार भन्ने गरेको हजुरबा डेभले बताए। ‘अहिले उसले घरमा छिरेर आफैँ चिया पकाउने (नक्कली) र हामीलाई पनि खुवाउने गरेकी छ,’ हाँस्दै उनले भने।

अब यो उमेरमा यस्तो अद्भूत उपहार पाउने लोगनप्रति तपाईंलाई थोरै भए पनि ईष्र्या लाग्दैन त !!
 

Leave A Comment