पीडादायी अस्वीकारोक्ति

बुधबार, १८ भदौ २०७६, ०१ : ४१ शुक्रवार
पीडादायी अस्वीकारोक्ति

लामो समयपछि मिसन मंगल फिल्ममा मुख्य चरित्रमा देखिएकी विद्या बालनका लागि यतिबेला सफलताको अर्थ खासै ठूलो लागिरहेको छैन। उनको यो फिल्मले सय करोडभन्दा बढी बिजनेस गरेर वाहवाही कमाइसकेको छ। तर उनलाई शुरुवाती समयमा फिल्ममा लिन चाहने निर्माता–निर्देशकले कुन आधारले तँ फिल्म उद्योगमा आइस् ? तँमा हिरोइन हुने गुण रत्तिभर छैन भन्दै दुत्कार्दा बडो चित्त दुख्थ्यो।

हालै उनले आफ्नो संघर्षका दिनको मैलो पखाल्न खोज्दै भनेकी छन्, ‘एउटा दक्षिण भारतको फिल्ममा त नयाँ अभिनेत्री भनेर झन्नै शारीरिक शोषण नै गर्न भ्याए। तर आफू सचेत भएका कारण त्यस्तो दुर्घटना भने हुन सकेन।’

शुरुवाती दिनमा उनले जुन पीडा भोगिन्, उनलाई जसरी निर्देशकले हिरोइन हुने गुण छैन भनेर दुत्कारे, त्यो कारणले उनले महिनौँ ऐना हेरिनन्। उनले भनेकी छन्, ‘मलाई आफैँप्रति घृणा जागेर आयो। महिनौँसम्म मैले ऐना पनि हेरिनँ। यो चित्तदुखाईबाट निस्कन मलाई महिनौँ लागेको थियो।’

‘धेरैपछि मलाई लाग्यो, म जस्ती छु, त्यही रुपमा मैले स्वीकार गरिनँ भने अरुले मलाई स्वीकार गर्ने छैनन्,’ उनले भनेकी छन्, ‘यही स्वीकारोक्तिले मलाई यहाँसम्म ल्याएको हो।’

Leave A Comment