आमाको ठट्टा, छोराहरुको बेहाल

शनिबार, २१ भदौ २०७६, ११ : ०२ शुक्रवार
आमाको ठट्टा, छोराहरुको बेहाल

कहिलेकाहीँ गरिने ठट्टा र रमाइलोले कसैका लागि बडो अप्ठेरो पनि हुन जान्छ। बेलायती एउटी आमाले गरेको ठट्टाले उनका दुई छोरालाई कम सास्ती भएन !

मिरर पत्रिकाका अनुसार, फेलिसिटी क्रेन खाना बनाउँदै थिइन्। उनलाई सघाउन दुई छोरा पनि तम्तयार थिए। यताउता व्यस्त रहेका बेला फेलिसिटी चिच्याउन थालिन्। दुई छोराको सातो गयो। सोध्न थाले, ‘के भयो, आमा ?’

आमा फेलिसिटीले भनिन्, ‘के भयो भन्नु नि ! याँ हेर् त ?’
‘कसरी हात काटियो ?’ छोराहरुले सोधे, ‘अलि हेरेर छुरी चलाउनु पर्दैन त ?’

खासमा भएको के थियो भने आमा फेलिसिटीले चक्कुले गाँजर काट्दै थिइन्। अचानक चिच्याउन थालिन्। उनी चिच्याएको देखेर नजिकै रहेका उनका दुई सन्तान आमातिर आइपुगे।
आमाले भनिन्, ‘ऐय्या दुख्यो ! टवेल ल्याइदेओ !’
एक भाइ टवेल लिन दौडियो, अर्को भाइ नजिकैको भाँडोमा पानी लिएर आयो।

छोराले हतारहतार पानीमा हात चोबलिदिए। यसो हेरेको त उनको औँला त सद्दे नै देखियो ! अघिसम्म रक्ताम्य देखिएको हात त काटिएको नै रहेनछ !

तर त्योभन्दा अघि नै उनले फोन ल्याऊ, पुलिस बोलाउनु प-यो भनिरहेकी थिइन्, छोराले भने जबरजस्ती पानीमा हात हालिदिएका थिए।

‘तिम्ले त हाम्रो झन्नै ज्यानै लिएकी थियौ,’ छोराले गनगन गर्छन्।
आत्तिएका दुई छोरा भने यतिबेला ढुक्क देखिए र हाँस्न थाले। आमा फेलिसिटी भने चिच्याउँदै हाँस्न थालिन्। छोराहरुलाई बेवकुफ बनाउन पाएकामा !

खासमा टिकटकमा यतिबेला भाइरल भइरहेको भिडियोको दृश्य हो यो। अहिलेसम्म ४ करोड १० लाखभन्दा बढी पटक हेरिसकिएको छ। एक मिनेटको यो भिडियोलाई वास्तविकजस्तै बनाउन फेलिसिटीले रातो रङ र गाँजर प्रयोग गरेकी थिइन्।

उनको यो भिडियो टिकटकमा मात्र होइन, ट्वीटरमा पनि उत्तिकै भाइरल हुन पुगेको छ। कतिले त फेलिसिटीले आफ्ना दुई छोराको भावनाको दोहन गरेको, उनीहरुलाई आतंकित बनाएको भन्दै आलोचना मात्र गरेनन्, उनीमाथि मुद्दा नै हाल्नुपर्नेसमेत प्रतिक्रिया दिएका छन्।

कतिले भने ओहो धन्न उनको हात सद्दे नै रहेछ भनेर चित्त बुझाएका छन्। अर्का एक जनाले भनेका छन्, ‘ओहो, कति सैतान रैछ आमा चाहिँ अनि तिनका दुई भाइ छोरा कति सुन्दर मनका रहेछन्, आमाको पीडा बुझ्ने !’

Leave A Comment