कार स्टन्ट गर्नेमाथि कार्बाही

शनिबार, २१ भदौ २०७६, ११ : १४ शुक्रवार
कार स्टन्ट गर्नेमाथि कार्बाही

बेलायतको वेल्स राज्यमा एक जना व्यक्तिलाई अनौठो कुरा दिमागमा आयो। उनको एउटा थोत्रो कार थियो। त्यो कार त्यत्तिकै घरमा थन्किरहेको थियो। एउटा त राम्रै अवस्थाको चल्ने कार पनि थियो। उनलाई लाग्यो, यो थोत्रो कारले बाहिरको हावा नखाएको धेरै भयो। यसलाई यस्सो घुमाएर किन नआउने ?
त्यसपछि उनले थोत्रो कारलाई सद्दे कारमाथि चढाए र घुमाउन निस्किए।

५१ वर्षे ग्लाइन्डर वाइन रिचर्डलाई यो जुक्ति सुझेपछि उनी बाहिर निस्केका मात्र के थिए, बुई चढेको कार केही अघि गयो। एक हजार फिट हिँडेपछि बुई चढेको कार गुँडुल्कियो। धन्न वरपर कोही थिएन र कसैलाई पनि चोट लागेन, कुनै दुर्घटना घटेन।

पछि प्रहरीले उनलाई पक्राउ गरी अदालतमा हाजिर गरायो। उनले आफूबाट गल्ती भएको स्वीकार गरेका छन्। रिचर्ड्सले ट्राफिकलाई ९७ डलर जरिवाना मात्र तिरेनन्, बिना कारण अदालतको समय बर्बाद गरेको भन्दै थप १४० डलर पनि तिरेका छन्।

Leave A Comment