परम्परागत शैलीमै महिला भलिबल

आइतबार, २३ साउन २०७३, १० : २० कमल खत्री , Kathmandu
परम्परागत शैलीमै महिला भलिबल

दक्षिण एसियामा नेपाली महिला भलिबललाई स्वर्ण पदक जित्ने सम्भावना भएको टोलीको रूपमा लिने गरिन्छ । भलिबल संघका पदाधिकारी पनि महिलाले स्वर्ण जित्न सक्ने दाबी गरिरहन्छन् । भलिबलका प्रायः हरेक कार्यक्रममा पदाधिकारी महिला भलिबलको प्रशंसा गर्दै आत्मसन्तुष्टि लिने गर्छन् । तर, महिला भलिबलको वास्तविक अवस्थाबारे थाहा हुँदा पनि उनीहरू सुधारमा चासो देखाउँदैनन् । गत शुक्रवार भारतसँग नेपाली महिला टोलीले मैत्रीपूर्ण खेल खेल्यो । खेलमा नेपालले नतिजामा सुधार गरेको छ । तर, नेपालको वास्तविक कमजोरी भने यथावत् छ । जुन एक दशकदेखि कायमै छ ।
नेपालले विगतमा भारतसँग खेल्दा १७ स्कोरभन्दा माथि स्कोर जोड्न सकेको थिएन । तर, पहिलो मैत्रीपूर्ण खेलमा नेपालले २७–२५ स्कोरसम्म पु¥याएर भारतलाई चुनौती दिएको थियो । दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपालले पहिलो सेटमा २६–२४ सम्म पुगेर आफ्नो क्षमता देखाउने प्रयास ग¥यो । स्कोरमा सुधार भए पनि महिला भलिबलमा थुप्रै सुधारको खाँचो छ । नेपाली महिला भलिबल परम्परागत शैलीभन्दा माथि उठ्न सकेको छैन । भारतसँग पनि नेपालले त्यही शैलीमा खेल्यो ।
परम्परागत भलिबल शैलीमा एउटा खेलाडीले निश्चित स्थानबाट खेल्ने गर्छ । विपक्षीलाई स्पाइकर (अट्याकर) को भन्ने स्पष्ट थाहा हुन्छ । तर, आधुनिक भलिबलमा विपक्षीलाई अट्याकर को हो र कहाँबाट स्पाइकर गर्छ भन्ने समेत विपक्षीले सहजै थाहा पाउन सक्दैनन् । र, लिबेरोबाहेक अन्य सबैले अट्याकरको रूपमा खेल्ने गर्छन् । जुन नेपाली महिला टोलीमा अहिलेसम्म देख्न पाइएको छैन । स्पाइकर प्रतिभा माली र सरस्वती चौधरीको प्रदर्शनमै निर्भर छ टोली । अन्य पोजिसनको स्पाइकरले उनीहरूलाई साथ दिन सकेका छैनन् । दुवै खेलमा प्रतिभाले असाधारण प्रदर्शन गरिन् । उनले पहिलो खेलमा २६ स्कोर र दोस्रोमा २१ स्कोर गरेर सर्वाधिक अंक लिने खेलाडी बनिन् ।
राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक कपिल किशोर श्रेष्ठ रणनीतिक रूपमा नेपाली टोली अझै कमजोर भएको बताउँछन् । उनले भने, ‘हामीले स्कोरमा केही सुधार ग¥यौँ । तर, हाम्रो टोलीमा प्रतिभाबाहेक अन्य कसैको प्रदर्शन सन्तोषजनक भएन ।’
दुई दशकअघि पहिलो पल्ट थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै अन्तर्राष्ट्रिय अनुभव बटुलेको थियो नेपालले । त्यसयता नेपालले सन् १९९८ मा श्रीलंकामा खेलेको रूपा बाहिनी महिला भलिबल च्याम्पियनसिपसहित चार आधिकारिक प्रतियोगिता खेलिसकेको छ । नेपालले दक्षिण एसियाली खेलकुद (साग) मा तीन पटक महिला भलिबल समावेश गर्दा तीनैमा कास्य पदक जितेको छ । नेपालले आठौँ, १० औँ र १२औँ सागमा कास्य हात पारेको थियो ।
अन्तर्राष्ट्रिय अनुभवको कमी भए पनि महिला भलिबल सागमा स्वर्ण जित्ने सम्भावना भएको टोली हो । नेपालले भारतबाहेक दक्षिण एसियाका अन्य सबै देशलाई हराइसकेको छ । दुई वर्षअघि काठमाडौँमा भएको प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई हराउँदै ऐतिहासिक रजत पदक जितेको थियो । तर, नेपालले श्रीलंका विरुद्धको जीतलाई लामो समयसम्म टिकाउन सकेन । र, भारतमा पाँच महिनाअघि भएको १२औँ सागमा श्रीलंकासँग सोझो सेटमा पराजित हुन पुग्यो ।
भारतीय टोलीकी प्रशिक्षक बैशाली फडतरेका अनुसार नेपाली टोलीमा प्रतिभाजस्तै अन्य खेलाडीको खाँचो छ । उनले भनिन्, ‘भलिबल टिम खेल हो । एउटा खेलाडीको प्रदर्शनमा निर्भर हुनु हुँदैन ।’
राष्ट्रिय टोलीका प्रशिक्षक सुदेश कुमार रिमालले करिब २० दिनको बन्द प्रशिक्षणबाट मैत्रीपूर्ण खेल खेल्ने टोली तयार पारेका थिए । बन्द प्रशिक्षणमा उनीसँग १७ खेलाडीभन्दा धेरै थिएनन् । सीमित खेलाडीमा निर्भर भएका कारण नेपाली टोलीको फिटनेस, मुभमेन्ट, समन्वयमा धेरै कमजोरी छन् । राष्ट्रिय टोलीको अर्को कमजोर पोजिसन भनेको सेटर हो । कप्तान विनिता बुढाथोकी टोलीकी अनुभवी खेलाडी भए पनि प्रतिभामा आत्मविश्वास देखिएन । उनले दुवै खेलमा ओपन स्पाइकरबाहेक अन्यलाई धेरै प्रयोग गर्न सकिनन् । र, हरेक खेलमा उनको रिसिभ गर्ने शैलीका कारण नेपालले केही अंक गुमाइरहेको छ ।
महिला भलिबलको अर्को मुख्य समस्या भनेको नयाँ खेलाडी नहुनु हो । प्रशिक्षणको मुख्य जिम्मेवारी लिएको संघ, क्लब र प्रशिक्षक पनि नयाँ खेलाडी उत्पादनमा चासो देखाइरहेको छैनन् । न्यू डायमन्ड एकेडेमी र विकास क्षेत्रको टोलीले केही नयाँ खेलाडी उत्पादन गरिरहेका छन् । तर, विभागीय टोलीबाट नयाँ खेलाडी उत्पादन हुन सकेको छैन । विभागीय टोली रेडिमेड खेलाडीमा निर्भर छन् । त्यसैले पनि नेपाली महिला भलिबलमा प्रतिभावान खेलाडीको कमी हुँदै छ ।
दक्षिण एसियाको बलियो टोली भारत, श्रीलंकाजस्ता टोलीसँग जुनियरदेखि सिनियर टोलीको वैकल्पिक टोली छ । विश्व भलिबल महासंघले नियमित रूपमा सिनियरसँगै यू–२०, यू–२१, यू–२३ प्रतियोगिता गर्ने गरेको छ । तर, नेपालले अहिलेसम्म एउटा पनि जुनियर प्रतियोगितामा भाग लिन सकेको छैन । घरेलु भलिबलमा नेपाल भलिबल संघले पनि एउटै जुनियर प्रतियोगिता गर्न सकेको छैन ।
न्यू डायमन्डका प्रशिक्षक कुमार राई राष्ट्रिय टोलीको स्तर माथि उठ्न नसक्नुमा जुनियर टोली नहुनु मुख्य कारक तŒव भएको बताउँछन् । उनले भने, ‘हरेक खेलमा जुनियर खेलाडीले सिनियरलाई दबाब दिने गर्छन् । तर, हामीले जुनियर प्रतियोगितालाई ध्यान नै दिएको छैनौँ ।’
थुप्रै कमजोरीका बीच नेपाली खेलाडीमा देखिएको सकारात्मक पक्ष आत्मविश्वास हो । प्रतिभा, सरस्वती, क्विक स्पाइकर एवं ब्लकर उषा विष्ट, साइड स्पाइकर अरुणा शाही, रेश्मा भण्डारी, सेटर कृपा अधिकारीले आत्मविश्वासका साथ खेले । जुन नेपाली भलिबलका लागि सकारात्मक सन्देश हो ।

 

 

Leave A Comment