दृष्टिविहीनको साथी ‘अडियो पुस्तक’

आइतबार, २३ साउन २०७३, १० : २४ हिमाल लम्साल , Kathmandu
दृष्टिविहीनको साथी ‘अडियो पुस्तक’

चितवनका कृष्णप्रसाद ढकाललाई अचेल किताब पढ्न सघाउन कोही चाहिँदैन । पहिलेजस्तो ब्रेललिपिमा आश्रित रहनु पनि पर्दैन । ‘अडियो पुस्तक’को सहारामा उनी आफैँ पुस्तक अध्ययन गर्न सक्छन् । ल्यापटप र मोबाइलमार्फत पुस्तक सुन्न सकिन्छ ।
अडियो पुस्तककै सहाराले त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा उपप्राध्यापकको लिखित परीक्षामा खुल्लातर्फ नाम निकाल्न आफू सफल भएको ढकाल बताउँछन् । ‘यो अडियो पुस्तकले पढाइ मात्रै नभएर हाम्रो आत्मबल र विश्वास पनि बढाएको महसुस गरेको छु,’ उनले भने, ‘अरूले हेरेर पढ्छन् । तर, हामीले सुनेर पढ्छौँ । त्यति मात्र फरक हो ।’
नेपाली विषयमा स्नातकोत्तर गरेका ढकाल २०६९ देखि निरन्तर अडियो पुस्तक सुन्दै आएको बताउँछन् । अध्ययनका भोका उनलाई अडियो पुस्तकले कोर्सका बुकसँगै समसामयिक पुस्तक पनि पढ्न सघाएको छ । ‘प्रकाशित सबै पुस्तक अडियोमार्फत सुन्न पाए त साह्रै जाती हुन्थ्यो,’ उनले भने, ‘बजारमा चलेका केही पुस्तक पढ्न नपाउँदा खल्लो लाग्छ ।’
ढकालजस्तै सयौँ दृष्टिविहीनको पढ्ने तरिका आजभोलि फेरिएको छ । नेपाल राष्ट्रिय अपांग मानवअधिकार संरक्षण मञ्चका महासचिव रमेशबाबु तिवारीका अनुसार अडियो पुस्तक दृष्टिविहीनहरूको सहारा बनेको छ । ‘हामीले लोकसेवा आयोग, शिक्षक सेवा आयोगलगायत अडियो पुस्तक उत्पादन गर्दै आएका छौँ,’ उनले भने, ‘अघिल्लो वर्ष अडियो पुस्तक सुनेका मध्येबाट ६७ जना दृष्टिविहीनले शिक्षक सेवा आयोगमा नाम निकाल्न सफल भएका छन् ।’
धरानकी दृष्टिविहीन आस्था आलेले पनि अडियो पुस्तक निकै उपयोगी भएको बताइन् । पुस्तक अभावकै कारण प्लस टूपछि अध्ययन छाडेकी उनी अडियो पुस्तकसँगै पढाइलाई निरन्तरता दिएको बताउँछिन् । ‘अडियो पुस्तक हातमा परेपछि मैले पहिला रोकेको पढाइलाई निरन्तरता दिन पाएँ,’ उनले भनिन्, ‘हामी दृष्टिविहीनका लागि अडियो पुस्तक वरदानजस्तै भएको छ ।’
बीएड पास गरेपछि उनी धरानको दन्तकाली माविमा राहत शिक्षकको दरबन्दीमा कार्यरत छिन् । ‘यसपालि स्थायी शिक्षकमा नाम निकाल्ने गरी तयारीमा छु,’ उनले भनिन् ‘अडियो सामग्री पर्याप्त पाए नाम निकाल्न सहज हुन्थ्यो ।’
धनुषा, हठीपुरका राजेश ठाकुर सानो ठिमी शिक्षा क्याम्पसमा अध्ययन गर्छन् । उनका दुवै आँखाले देख्दैनन् । ‘अडियो पुस्तक हुदैन्थ्यो भने त उच्च शिक्षा कसरी अगाडि बढाइन्थ्यो होला र ?’ बीएड अध्ययनत उनले भने, ‘यसले हाम्रो पढ्ने सपना पूरा गर्न सघाएको छ ।’ उनलाई कोर्सबाहेक साहित्यिक किताबमा रुचि छ । हरेक खालका पुस्तकमा अडियो पुस्तक व्यवस्था गरिदिए आफ्नो पढ्ने भोक मेटिने उनको भनाइ छ ।
जन्मजात दृष्टिविहीन लम्जुङका कुशल न्यौपानेले यसपालि एसएलसी उत्तीर्ण गरे । पत्रकारिता र इंग्लिस रोजेर अध्ययन सुरु गरेका उनले पनि अडियो पुस्तकबाट फाइदा लिइरहेको बताए । ‘बे्रेलमा पर्याप्त पुस्तक उपलब्ध हुदैँनन्,’ उनले भने, ‘अडियो पुस्तक ल्यापटप र मोबाइलबाट सुनेर पढ्न सकिने भएर सजिलो भएको छ ।’
नेपाल राष्ट्रिय अपांग मानवअधिकार संरक्षण मञ्चका महासचिव तिवारीका अनुसार मञ्चले २०६३ देखि दृष्टिविहीनका लागि अडियो पुस्तक उपलब्ध गराउँदै आएको छ । मञ्चले कक्षा १ देखि स्नातकोत्तरसम्मका अडियो पुस्तक तयार पारेको छ । ब्रेललिपि मेटिने र खर्चिलो हुँदा अडियो पुस्तक लोकप्रिय बन्दै गएको छ । मञ्चले शिक्षक सेवा र लोकसेवा आयोग, चर्चामा आएका साहित्यिक किताब तथा नियम कानुनका पुस्तकको अडियो रेकडिैङ गर्दै आएको छ ।
जसले भिœयाए अडियो पुस्तक
अपांगता अधिकार र विकासका लागि क्रियाशील संस्थाका अध्यक्ष वीरेन्द्रराज पोखरेलले दृष्टिविहीनका लागि अडियो पुुस्तक नेपालमा पहिलो पटक भिœयाएका हुन् । ‘हामीले सुरुवात गर्दा धेरैले अचम्म मान्थे,’ उनले अनुभव सुनाए, ‘दृष्टिविहीनले कसरी चलाउँछन् भन्थे । प्रविधिले हामीलाई ठूलो सहयोग गरेको छ । यसको फाइदा लिने तरिका सबै अपांगता भएकाहरूले थाहा पाउनैपर्छ ।’
सन् २००३ मा सरकारी छात्रवृत्तिमा जापान गएका उनले पहिलो पटक त्यहीबाट अडियो पुस्तकबारे थाहा पाए । विभिन्न संघसंस्थाको पहलमा उनकै सक्रियतामा नेपालमा सन् २००५ मा पहिलो पटक अडियो पुस्तक भित्रिएको हो । सुरुवातमा नेपाल नेत्रहीन संघ र दृष्टिविहीन कल्याण संघले अडियो पुस्तक प्रयोग गर्ने गरेका थिए ।

 

Leave A Comment