मालिङ्गाको दुर्लभ प्रदर्शन : एकै खेलमा ह्याट्रिकसहित पाँच विकेट

बिहिबार, २६ भदौ २०७६, ०१ : ०१ शुक्रवार
मालिङ्गाको दुर्लभ प्रदर्शन : एकै खेलमा ह्याट्रिकसहित पाँच विकेट

श्रीलंकाका चर्चित फास्ट बलर लासिथ मालिंगाले आफ्नो क्रिकेट करियरमा दोस्रोपटक चार बलमा लगातार ४ विकेट लिएर दुर्लभ प्रदर्शन गरेका छन्। गत शुक्रबार न्युजिल्यान्डविरुद्ध टी–२० सिरिजको तेस्रो खेलका मालिंगाले टी–२० क्रिकेटकै दुर्लभ प्रदर्शन गरेका हुन्। 

यसअघिका दुई टी–२० खेलमा पराजित भई सिरिज भ्रमण टोली न्युजिल्यान्डलाई सुम्पिसकेको श्रीलंकाले तेस्रो खेलमा पनि ब्याटिङतर्फ खराब प्रदर्शन जारी राखेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर जम्मा १ सय २५ रन बनायो। १ सय २६ रनको लक्ष्य न्युजिल्यान्डका लागि ठूलो थिएन । पहिलो ओभरमै बलिङ गर्न आएका मालिंगाले ३ रन दिए। दोस्रो ओभरमा अकिला धनञ्जयले १२ रन दिए। न्युजिल्यान्ड सहज लयमा थियो।

तेस्रो ओभरमा बलिङ गर्न आएका मालिंगाले दुई बल डट खेले। तेस्रो बलमा कोलिन मुन्रो बोल्ड भए। कोलिनपछि क्रिजमा आएका हामिश रदफोर्ड एबीडब्लुमा आउट भए। उनीपछि आएका कोलिन डे ग्रान्दमेलाई मालिंगाले मैदानमा टिक्न दिएनन्। बोल्ड गरेर उनले ह्याट्रिक गरे।

त्यसपछि क्रिजमा आएका रोस टेलरलाई उनले एलबीडब्लुको धरापमा पारे। ५ औं ओभरमा उनले पुनः अर्काे विकेट लिए। कप्तानसमेत रहेका मालिंगाले ४ ओभरमा १ मेडनसहित जम्मा ६ रन मात्रै दिएर ५ विकेट लिँदै कीर्तिमान बनाए।

मालिङ्गाले ब्याटिङ लाइन ध्वस्त बनाएपछि खेलमा फर्कन प्रयास गरेको न्युजिल्यान्डले १६ ओभरमा ८८ रन बनाउँदा सबै विकेट गुमायो। श्रीलंकाले ३७ रनको जित निकाल्दै सिरिज क्लिनस्वीप हुनबाट जोगायो।

Leave A Comment