खञ्चुवा अजिंगर

शनिबार, २८ भदौ २०७६, ११ : ५३ शुक्रवार
खञ्चुवा अजिंगर

चीनको दक्षिणपूर्वी प्रदेश फुजियानको चुआनझोउमा चार मिटर लामो अजिंगरले क्रमैसँग खसीबाख्रा निलिदिएपछि गाउँभरि हल्लीखल्ली भयो। हुन पनि एउटा हैन, दुइटा होइन, पूरै २० वटा खसीबाख्रा खोरबाट हराएपछि खैलाबैला मच्चियो।

कसरी हरायो, किन हरायो र कसले चो-यो भन्ने हल्लीखल्लीका बीचमा खोजी गर्दा अजिंगरले तिनलाई निलेको पत्ता लगाउन किसानहरु सफल भएका थिए।

पछि त कतिसम्म भएछ भने सो अजिंगरले खोरबाट निलेको एउटा बाख्रो पचाउन नसक्दा ओकलेर फ्याँकिदिएको थियो। ओकलिएको बाख्राको अवस्था देखेपछि भने गाउँलेहरु यसबारे पक्का भएका हुन्।

गोठाले याओले भने, ‘हामी त खसीबाख्राहरु धमाधक कसरी हराए भनेर हैरान भएका थियौँ। पछि बुझ्दै जाँदा त यो अजिंगरले आहारा बनाएको रहेछ भनेर पक्का भयौँ।’

यसपछि भने याओले प्रहरीलाई खबर गरेका छन्। प्रहरीबाट आउँदा दिनमा सहयोगको अपेक्षा राखेको याओले बताए। उनले भने, ‘अब दिनका दिन अजिंगर आउने र हाम्रा बाख्रा चोर्ने भएपछि हामीलाई गाह्रो भइहाल्छ नि ! त्यसैले यो अजिंगरलाई ठेगान लगाउनका लागि प्रहरीको सहयोग चाहिएको हो।’

अजिंगरले ४० केजीसम्मको खसीबाख्रालाई आफ्नो आहारा बनाएको भिडियो फुटेजमा पनि कैद भएको पछि पत्ता लागेको थियो। यसले पछाडिबाट निल्ने र अन्तिममा टाउको सुलुत्त पार्ने गरेको भिडियो फुटेजमा देखिएको हो।
‘एउटा खान्की निल्न एक घण्टा जति लाग्दो रहेछ !’ याओले भिडियो हेरेपछि आफ्नो निष्कर्ष सुनाउँदै भने।

पछि अजिंगरलाई स्थानीय वन रक्षकहरुले आङ्सी अस्थायी जंगली जनावरशालामा पु¥याएका थिए। चीनमा यस किसिमको अजिंगरलाई दुर्लभ जनावरको सूचीमा राखेको छ। केही दिन जनावरशालामा राखेपछि जंगलमा छाडिएको प्रहरीले जनाएको छ।

Leave A Comment