विवेकशीलमा रमिता

शुक्रबार, ०३ असोज २०७६, १० : ३० शुक्रवार
विवेकशीलमा रमिता

बेलाबेलामा विवेकशील नेपाली दलले रमिता देखाउँछ क्या ! यो दल कहिले वर्तमान राजनीतिक दललाई बेकामेको ट्याग लगाइदिन्छ। जनताले नपत्याएपछि मिडियाको ध्यान आकर्षित गर्न नयाँ–नयाँ शैलीका आन्दोलन घोषणा गर्छ। ०७४ मा विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकृत भएर डेढ वर्ष पनि नपुग्दै छुट्टिएर रमिता देखाएकै हुन्। 

यसपालि भने एकछत्र आफ्नो पार्टीको नेतृत्व गरेका विवेकशीलका अध्यक्ष उज्ज्वल थापाले पार्टीको राष्ट्रिय सम्मेलनमा पुनः अध्यक्ष पदका लागि उममेद्वारी नदिने घोषणै ठोकिदिएछन्। कार्तिकमा नेतृत्व चयन गरिने हल्लाखल्ला छ। सम्मेलनको पूर्वसन्ध्यामा थापाले पार्टीका करिब एक हजार मतदातालाई आफू अध्यक्षमा नउठ्ने भन्दै सन्देश पठाएछन्। आठ वर्षअघि सुरु भएको यो दलको अभियान र दललाई आफूले नेतृत्व गर्दै आएको सन्दर्भमा थप ऊर्जाशील नेतृत्वलाई नेतृत्व हस्तान्तरण गर्न आवश्यकता रहेको भन्दै अध्यक्षका लागि उम्मेद्वारी नदिने भएछन्। त्यसो त ऊर्जै हराएको पार्टीमा ऊर्जा खोज्नु भनेको जुन गोरुको सिङ छैन, उसैको नाम तिखे भनेजस्तै हो। 

थापा पुनः अध्यक्ष पदका लागि दाबेदारी नहुने भएपछि पार्टीमा नयाँ नेतृत्वका लागि बहस हुने नै भयो। नेपाली राजनीतिमा नेतृत्व हस्तान्तरणको खडेरी लागेको समयमा यस्तो रमिता देखाउने दलप्रति मिडियाको नजर पर्ने नै भयो। प्रचार–प्रसारमा पार्टीका युवा नेताको ट्याग झुण्ड्याएका मिलन पाण्डे खप्पिस छँदैछन्। बकम्फुसे कुरा बोल्न उनलाई कसले पो भ्याओस् ! अब मिडियाको ध्यान तानिन गाह्रो पनि भएन। एकताका काठमाडौँमा निकै चर्चा बटुलेकी रञ्जु दर्शना नेतृत्वका लागि सम्भावित उम्मेद्वार हुन् भने पाण्डे लगायतका नेता पनि छँदैछन्। काहीँ नभएको जात्रा हाँडीगाउँमा भने जस्तै नो भोटको व्यवस्था पनि गर्ने रे ! त्यसो भए पार्टीको चुनावमा गएर पनि ‘नो भोट’मा भोट हाल्न पाइने भयो !

कहिले भ्रष्टाचार नियन्त्रण त कहिले सुशासनको चर्को नारा उठाउने दलले यसपालि भने नेतृत्व हस्तान्तरणको उपाय निकालेर हल्लाखल्ला गर्ने युक्ति निकालेछ।

०६९ मा विवेशील नेपालीका नाममा राजनैतिक अभियान चलाएको दल औपचारिक रुपमा ०७१ सालमा स्थापना भएयता केही गर्ला कि भन्ने अपेक्षा सर्वसाधारणको थियो। तापनि स्थानीय तहको निर्वाचनमा जित शून्य रह्यो। ०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि जित शून्यको अवस्था आयो। जनताले पार्टीको जित संख्या शून्य बनाए पनि आवाज त शून्य बनाउनु भएन नि ! कुनै न कुनै युक्ति निकालेरै भए पनि कम्तीमा आफ्ना कार्यकर्ता र केही मिडियाले त सुन्ने काम गर्नु गरिगो। थापाले यही युक्ति निकालेका होलान्, हैन त ?

Leave A Comment