फुच्चे मेसी

शुक्रबार, ०३ असोज २०७६, ०१ : २१ शुक्रवार
फुच्चे मेसी

स्पेनिस ला लिगाको शनिबारको खेलमा बार्सिलोनाका खेलाडी अन्सुमान फाती सबैको नजरमा परे। उनी टिमका सबैभन्दा कान्छा खेलाडी त भए नै उनको खेल कौशल पनि उनीतिर ध्यान तान्न योग्य थियो।

बार्सिलोनाले भ्यालेन्सियामाथि ५–२ को जित निकाल्दा १६ वर्षीय फातीले बार्सिलोनाका लागि दोस्रो गोल गरेका थिए। उनी मेसी वा स्वारेजको स्थानमा स्ट्राइकरको जिम्मेवारीमा मैदानमा उत्रिएका थिए।

उनी मैदानमा उत्रिएको दोस्रो मिनेटमै गोल गरेका थिए। उनले खेलमा गोलसँगै ७ औं मिनेटमै फ्रेन्की डे जोङलाई गोल गर्न पास दिएका थिए। उनी मैदानमा उत्रिएको ६० औं मिनेटमा मैदान बाहिर निस्किए र उनको स्थानमा मैदानमा प्रवेश गरे स्वारेज।

दक्षिण अमेरिकी राज्य ग्युनिया बिस्साउका फाती १० वर्षको उमेरमा बार्सिलोनामा प्रवेश गरेका थिए। उनले बार्सिलोनाको उमेर समूह टोलीबाट खेल्दा राम्रो प्रदर्शन गरेपछि मुख्य टोलीमा खेल्ने मौका पाए।

उनी २५ अगस्टमा रियल बेटिसविरुद्धको खेलमा बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गर्दै ७८ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान छिरेका थिए। ३१ अगस्टमा ओसासुनाविरुद्ध दोस्रो हाफपछि मैदान छिरेका फातीले लगतै गोल गरेर  १–० ले पछि परेको बार्सिलोनालाई बराबरीमा ल्याएका थिए।

उनी बार्सिलोनाका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडीसमेत हुन्। उनले १६ वर्ष ३०४ दिनमा गोल गरेका हुन्। उनीअघि यो रेकर्ड २००७ र ८ सिजनमा बोजनले १७ वर्ष ५३ दिन हुँहा गोल गरी आफ्नो नामा दर्ज गराएका थिए। यी दुई रेकर्ड पछि बार्सिलोनाबाट ला लिगामा कम उमेरमा गोल गर्ने कान्छा फर्वाड लियोनल मेसी नै हुन्। उनले २००४ र ५ सिजनमा १७ वर्ष ३ सय ३१ दिनको उमेरमा गोल गरेर रेकर्ड बनाएका थिए।

एकपछि अर्काे खेलमा प्रभाव देखाउन सफल फाती भविष्मा बार्सिलोनाका लागि नयाँ मेसी बन्ने लयमा देखिएका छन्।

Leave A Comment