जासुसीका लागि परेवा

शनिबार, ०४ असोज २०७६, १० : ४२ शुक्रवार
जासुसीका लागि परेवा

दोस्रो विश्वयुद्धमा अमेरिकाले युद्ध जित्नका लागि के मात्र गरेन ! हालै जारी एउटा गोप्य दस्तावेजमा अमेरिकाले युद्धको जासुसीका लागि परेवा, काग र डल्फिनसमेतलाई गोप्य रुपमा तालिम दिएको र तिनले रुसका गोप्य कुरा खुलासा गर्न सफल भएको बताइएको छ।

सन् १९६० र ७० को दशकमा परेवालाई सोभियत संघका विभिन्न ठाउँमा पुगी तिनको तस्बिर लिनका लागि उपयोग गरिएको गोप्य दस्तावेजमा उल्लेख गरिएको छ।

खुलासा भएका दस्तावेजका अनुसार कागले कतिपय गोप्य मानिएका ठाउँमा जासुसी यन्त्रहरु झ्यालमा राखिदिने र सारा वार्तालाप सुन्ने गरेको बताइएको छ। त्यस्तै डल्फिनहरुलाई पनि पानीमुनिका कयौँ मिसनका लागि उपयोग गरिएको जनाइएको छ।

रुस र अमेरिकीबीच चिसिएको सम्बन्धका कारण ६० देखि ८० को दशकमा कयौँ जासुसी संयन्त्र र यन्त्रहरु निर्माण गरिएका थिए। तिनको प्रदर्शनी यतिबेला सिआइएको मुख्यालय भर्जिनियाको लाङ्लेमा गरिएको छ। सर्वसाधारणले भने सो दस्तावेज हेर्न पाउने छैनन्।

७० को दशकमा प्रयोग भएका परेवाको शरीरमा जडित गोप्य साना क्यामेरा स्वचालित रुपमा तस्बिर खिच्न सक्थे। यी परेवाको विशेषता के थियो भने यिनलाई अचानक नदेखेको, नपुगेको ठाउँमा पु-याइए पनि पछि यिनले महिनौँ समय लगाएर भए पनि आफ्नो वासस्थान पत्ता लगाउँथे।

त्यसो त परेवा र चिललाई हजारौँ वर्षदेखि गोप्य अभियानमा सामेल नगरिएको होइन तर प्रथम विश्वयुद्धमा भने यसको व्यापक प्रयोग भएको थियो। खासगरी गोप्य जानकारी बटुल्नका लागि यी सहयोगी साबित भएका थिए।

दोस्रो विश्वयुद्धका बेलामा बेलायती जासुसी संस्था एमआई १४ डिले गोप्य रुपमा परेवाको जासुसी संयन्त्र निर्माण गरेको थियो। तिनले रुसले कब्जा जमाएको युरोपेली भूमिका बारेमा जानकारी बटुल्ने गर्थे। यसका लागि एक हजारभन्दा बढी परेवा प्रयोग गरिएको बताइएको छ।
पछि जासुसी संयन्त्रको ‘पिजन सबकमिटी’लाई युद्ध सकिएपछि विघटन गरिएको थियो।

पछि सिआइएले भने मान्छे पुग्न नसक्ने ठाउँमा चिललाई प्रयोग गरी जासुसी यन्त्रहरु स्थापित गराउन थाल्यो।
कतिपय अवस्थामा बिरालो, कुकुर र अन्य चराहरुलाई पनि यस्तो जासुसी कार्यमा संलग्न गराइएको समेत सो गोप्य दस्तावेजमा बताइएको छ।

Leave A Comment