रियो ओलम्पिकको भव्य उद्घाटन

आइतबार, २३ साउन २०७३, १२ : ३० शुक्रवार , Kathmandu
रियो ओलम्पिकको भव्य उद्घाटन

चमकमा कमजोरी भए पनि शुक्रबार रियोले भावनात्मक रूपमा रियो ओलम्पिक २०१६ को उद्घाटन सम्पन्न गरेको छ ।
सीमित बजेट र महŒवपूर्ण समयको आर्थिक मन्दीले दक्षिण अमेरिकामा हुन लागेको पहिलो ओलम्पिकको तयारी नराम्ररी प्रभावित भएको थियो । त्यसैले ब्राजिलले ३१ औं गृष्मकालीन ओलम्पिकको उद्घाटनमा भव्यतालाई जानीजानी कम गर्दै ग्लोबल वार्मिङका कारण विश्वले भोग्न थालेको पीडाको सन्देश दिनमा समारोह केन्द्रित भयो ।
बेइजिङले २००८ तथा लन्डनले २०१२ मा गरेभन्दा पृथक थियो, रियोको उद्घाटन समारोह । रियोले ग्लोबल वार्मिङको सन्देश दिनका लागि ग्राफिकमार्फत सतह बढ्दै गरेका समुद्रले विश्वका मुख्य सहरहरूलाई प्रभाव पारेको देखायो ।
‘बढ्दो तापक्रमले हिउँ पगाल्दैछ,’ माराकाना रंगशाला गुन्जायमान थियो, ‘चाँडै हिउँ हराउने छ ।’
सधँै साम्बा र रमझममा रमाउने सहरले ओलम्पिकको उद्घाटन फरक रूपमा गर्ने प्रयास गरे पनि त्यसमा पूरा बेवास्था पनि गरिएको थिएन । सुपरमोडल जिसेले बुन्डचेन ‘दी गर्ल फ्रम इपानेमा’ को धूनमा मजाले जमेकी थिइन् भने आतिशबाजीले रियोको आकाश चिर्लाजस्तो गरेको थियो । ब्राजिली नृत्य साम्बाको मजासँगै ब्राजिलको राष्ट्रिय रंग पहेँलो र हरियोलाई विशेष महŒवका साथ प्रस्तुत गरियो ।
खचाखच भरिएका ७८ हजार दर्शकका बीच बुन्डचेनले रंगशालामा यताउता गरिरहँदा टम जोबिमका नाति ड्यानिअलले आफ्ना हजुरबुवाको गीत ‘इपानेपा गर्ल’ गाएका थिए ।
संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले भिडियो सन्देशमार्फत रियो ओलम्पिक ‘मानवताको पक्षमा सबैभन्दा राम्रो’ समारोह भएको बताए । उनले दुई सातासम्म चल्ने विश्व खेलकुदको सबैभन्दा ठूलो मेलाबाट हतियार उठाएका सबै पक्षलाई शान्तिको बाटोमा फर्कन आह्वान गर्न पनि अनुरोध गरे ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइसिसी) ले २००९ मा यो ओलम्पिक आयोजकका रूपमा रियोलाई छान्दा दाबी गर्ने अन्य सहरमा सिकागो, टोकियो र मड्रिड पनि थिए । त्यतिबेला आर्थिक र राजनीतिक रूपमा सबैभन्दा कमजोर दाबेदार रियो नै थियो । ६५ लाख जनसंख्या भएको सहरले विश्व खेलकुदको सबैभन्दा ठूलो मेला गर्न नसक्ने भय पनि देखाइएको थियो ।
लामखुट्टेको टोकाइका कारण हुने जिका भाइरसबाट उत्पन्न स्वास्थ्य समस्याले केही खेलाडीलाई अन्तिम समयमा रियोबाट बिछोड गरायो । स्वास्थ्यको कारण देखाउँदै केही खेलाडीले अन्तिम समयमा सहभागिता फिर्ता लिएका थिए । समयमै रियोको फोहोर पानीलाई सफा गर्ने प्रतिवद्धता पनि पूरा भइसकेको छैन । ओलम्पिकका लागि खर्च भएको १२ अर्ब डलरले देशभित्र असन्तुष्टि बढ्दो अवस्थामा रहँदा उदघाटन समारोहको केही समयअघि पनि रंगशाला बाहिर आन्दोलनकारीको समूहले प्रदर्शन गरेको थियो । तर, हतियारधारी सुरक्षाकर्मीले सानो संख्याका प्रदर्शनकारीलाई तत्काल नियन्त्रणमा लिए । आर्थिक मन्दीको चपेटामा रहेको देशले शिक्षा, स्वास्थ्य, यातायात र अन्य अत्यावश्यक क्षेत्रमा गर्नुपर्ने लगानी खेलकुदका प्रतियोगिता गर्न खर्चेको भन्दै ठूलो संख्यामा ब्राजिलीहरू सरकार र ओलम्पिक आयोजकको विरोधमा छन् । दुई वर्षअघि ब्राजिलले विश्वकप फुटबल गर्दा पनि यस्तै आवाज उठेका थिए ।
आइओसीका अध्यक्ष थोमस बाचले ब्राजिलको समारोहबाट आफू पूर्ण रूपमा सन्तुष्ट रहेको बताएका छन् । ‘ब्राजिलको इतिहासकै अत्यन्त कठिन समयमा तपाईहरूले यस्तो भव्य समारोह सम्पन्न गर्नुभएको छ । त्यसैले पनि हामी यसको अझ बढी प्रशंसा गर्न चाहन्छौं । ब्राजिलमाथि हाम्रो विश्वास सधैँ थियो,’ बाचले भने ।
ओलम्पिक उद्घाटन गर्ने अवसर ब्राजिलकी अलोकप्रिय कार्यवाहक राष्ट्रपति मिचेल टेमेरले पाए । तर उनले रियो ओलम्पिक सुरु भएको घोषणा गरिरहँदा दर्शकले भने उनलाई हतोत्साही गरिरहेका थिए । चार महिनाअघि भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका राष्ट्रपति डिल्मा रौसेफको सट्टा टेमेर राष्ट्रप्रमुखका रूपमा उपस्थित भएका थिए । पछिल्ला वर्षहरूमा ब्राजिलमा भएका शृंखलावद्ध भ्रष्टाचार र कुशासनका घटनाहरूको प्रभाव ओलम्पिक उद्घाटन समारोहमा पनि देखियो ।
२५ भन्दा कम देशका राष्ट्रप्रमुख मात्र रियो उद्घाटन समारोहमा उपस्थित थिए । जसका कारण दक्षिण अमेरिकाको नेतृत्व गर्ने ब्राजिलको उद्देश्यलाई समेत अन्तर्राष्ट्रिय समुदायले अस्वीकार गरेको सन्देश गएको आलोचकहरूले बताए ।
सहभागी ६ हजार १ सय ८२ पुरुष र ५ हजार १ सय ६ महिला गरी कुल ११ हजार २ सय ८८ खेलाडीका तर्फबाट दुईपटकका ओलम्पियन ब्राजिली सेलिङ खेलाडी रोबर्ट सेइट्टले सपथ ग्रहण गरे । सपथमा उनले भनेका थिए, ‘हामीहरू प्रतिबन्धित लागूऔषध सेवन गर्नेछैनौं ।’ जारी रियो ओलम्पिकमा डोपिङ अपराधका कारण सयभन्दा बढी रुसी खेलाडी प्रतिबन्धित भएका छन् ।

 

 

Leave A Comment