शिक्षामा समर्पित समूह

सोमबार, २४ साउन २०७३, १० : १० शुक्रवार , Kathmandu
शिक्षामा समर्पित समूह

विभिन्न क्याम्पसमा विभिन्न विषय पढ्दै गरेका तन्नेरीहरूले एउटा अभियान थालेका छन्, ‘टुगेदर फर एजुकेसन’ अर्थात् ‘शिक्षाका लागि सँगै’ । शैक्षिक उन्नतिका लागि आफूले सकेको गर्ने योजनासहित युवाले थालेको यो अभियानले सुरुवातमै प्रशंसा बटुल्न थालिसकेको छ ।
अभियान सुरु भएको २५ दिनमै २८ जना विद्यार्थीलाई निःशुल्क पढ्ने व्यवस्था मिलाइसकेको अभियन्ता तन्नेरीहरूले जनाएका छन् । ‘विभिन्न निजी स्कुलहरूले ५० वटा निःशुल्क कोटा दिलाएका छन्,’ अभियानका लिडर नवीन यादवले भने, ‘अरू विद्यार्थी छनोटको क्रममा छौँ ।’ उनका अनुसार यसबाहेक प्रोग्रेसिभ एजुकेसन फर नेपाल नामक संस्थाले वार्षिक ११ वटा कोटा दिलाउने प्रतिबद्धता जनाइसकेको छ ।
मेडिकल डाक्टर पढ्दै गरेका नवीन, सोसल वर्क पढ्ने अनिल मगर, कानुन पढ्ने विदुषी कोइराला, इन्जिनियरिङ पढ्ने सार्थक लम्साल, व्यवस्थापनका राजिव रौनियार, संध्या वज्राचार्य र इभाना उप्रेति अभियानमा छन् ।
खाली समयलाई सदुपयोग गर्दै शिक्षा क्षेत्रमा केही गर्न सकिन्छ भनेर यो अभियान सुरु गरेको नवीन बताउँछन् । ‘पढ्ने अवसरबाट वञ्चितहरूलाई सघाउन केही गरौँ भनेर हामी साथीहरू मिलेर यो अभियान सुरु गरेका हौँ,’ उनले भने, ‘यसलाई अहिले अभियानकै रूपमा चलाउने हो । आवश्यकता परे संस्थागत तवरले पनि जान सकिन्छ ।’
‘कुनै फाइदाका लागि मात्र गैरसरकारी संस्था खुल्छन् भन्ने मानसिकता परिवर्तन गर्न चाहन्छौँ,’ नवीनले भने, ‘हामी युवाहरू मिलेर कुनै पनि स्वार्थ नराखी सामाजिक काम गर्न सक्छौँ भन्ने प्रमाणित पनि गराउनुछ । आफ्नो पेशा, व्यवसाय वा पढाइलाई निरन्तरता दिँदै बाँकी समयलाई सदुपयोग गर्न खोजेका छौँ । फरकफरक क्षेत्रमा पढ्ने विद्यार्थी भएकाले आफूले सिकेको फरकफरक ज्ञान यसमा लगाउँछौँ ।’
अभियान संयोजक अनिलका अनुसार स्कुल तथा विभिन्न व्यक्तिसँगको सम्पर्कबाट ‘स्पोन्सर’ व्यवस्था गरिन्छ । स्कुलहरूले केही कोटा दिलाउँछन् । र, सबैको सल्लाह र आवश्यकता हेरेर विद्यार्थी छनोट हुन्छन् । ‘डोनर, स्कुल र विद्यार्थी बीचको पुल बन्न खोजेका छौँ,’ उनले भने, ‘यसमा हाम्रो भूमिका भनेको समन्वय गरिदिने र विद्यार्थीले पाएको प्रतिफलको मूल्यांकन गर्ने मात्र हो । स्कुल, अभिभावक र हामीबीच एउटा लिखित सम्झौतापत्रमा हस्ताक्षर पनि हुन्छ । जुन पत्रले भविष्यमा विद्यार्थीलाई गाह्रो नपरोस् भन्ने हो ।’ गरिब, दलित, भूकम्पपीडित, बाढीपीडित, मजदुरलगायत आवश्यता हेरेर विद्यार्थी छनोट हुने उनले बताए ।
अहिले यो अभियान काठमाडौँ, सिराहा, महोत्तरी, धनुषा, सर्लाही र रौतहटमा सञ्चालित छ । लगत्तै नुवाकोट र दाङमा पनि सञ्चालनको योजना रहेको विदुषीले बताइन् । उनका अनुसार गाउँगाउँमा गएर सर्भे गर्ने र संबद्धसँग समन्वय गर्ने काम भइरहेको छ । अनलाइनबाट पनि सम्पर्क, समन्वय गर्ने उनले बताइन् । ‘जहाँका विद्यार्थी हुन् त्यही ठाउँमा कोटा व्यवस्था गरेर भर्ना गर्ने गरिएको छ,’ उनले भनिन्, ‘जिल्लामा अभियानको कोअर्डिनेटर पनि तोकेका छौँ । यो अवसरलाई दुरुपयोग हुन नदिन सजग छौँ ।’ दीर्घकालीन रूपमै योजना बनाएर अघि बढ्न खोजेको पनि उनले बताइन् । काठमाडौँस्थित काष्ठमण्डप कलेजमा पोषण चौधरीलाई भर्ना गराएर यो अभियान सुरु गरिएको विदुषीले बताइन् । यो अभियानलाई क्याप्टेन विजय लामा र यूकेस्थित सारदा छात्रवृत्तिले पनि सघाइरहेको छ ।

 

Leave A Comment