बिजुक्छेको चतुर्‍याइँ

शुक्रबार, १० असोज २०७६, १२ : ४६ शुक्रवार
बिजुक्छेको चतुर्‍याइँ

लामो समय नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को नेतृत्व गर्दै आएका पार्टी अध्यक्ष नारायणमान बिजुक्छे केही वर्ष हल्लीखल्लीबाट हराएका थिए। जनताले सोचे, उनले सायद पार्टीबाट रिटायरमेन्ट लिए कि !

तर होइन रहेछ ! उनले त जनतालाई झुक्याएका पो रहेछन् ! कुनै पार्टीमा लामो समयसम्म कसैले बपौती ठानेर ओगट्नु हुँदैन भन्ने धारणा सर्वसाधारण बलियो हुँदै गर्दा नेमकिपाको अध्यक्षमा लामो समय एकछत्र राज गर्दै आएका बिजुक्छेलाई पनि नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नु एउटा बाध्यता बन्दै आइरहेको थियो।

०७४ मा भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा चुनाव नलडेका बिजुक्छेको नेतृत्व मोह छैन भनेर देखाउन गरिएको संकुचित त्याग प्रस्ट भएको छ। त्यतिखेर नयाँ पुस्तालाई अवसर दिन आफू चुनावमा नउठ्ने निर्णय गरेको उनले बताएका थिए। तर उनको यो त कम्युनिस्टहरुको नीति ‘दुई कदम पछाडि तीन कदम अगाडि’को प्रायोगिक डिजाइन पो रहेछ ! नत्र त नयाँ पुस्तालाई ठाउँ दिने उनको सोचको तीन वर्ष नपुग्दै किन अवशान हुन पुग्थ्यो र !

भक्तपुरबाट लगातार पाँच पटक संसदीय चुनाव जितेका उनले पछिल्लो समय प्रदेश सभा र प्रतिनिधिसभामा उम्मेद्वारी नदिँदा त्यागी नेताको छवि बटुलिहालेका थिए। तर नेमकिपाको सातौँ महाधिवेशनमा पार्टी अध्यक्षका रुपमा उनी पुनः निर्वाचित भएको खबर बाहिरिएसँगै उनको झूटो त्याग उदाङ्गो भइहाल्यो।

नेमकिपाको पहिलेको मार्गनिर्देशक सिद्धान्त जोछेँवाद हो क्यार ! यो वाद उत्तर कोरियाली कम्युनिस्टको प्रमुख सिद्धान्त हो। जहाँ पार्टी अध्यक्ष असक्षम नहुञ्जेल र चितामा नपुगुञ्जेलसम्म पार्टीको अध्यक्ष भइरहन्छ। अब त्यस्तो नीति अहिलेलाई नलेखिए पनि त्यसैमा बानी परेका बिजुक्छेले पार्टी के छाड्न सक्थे !
ठीक छ कमरेड, चितामा पुग्दा पनि पार्टीको कमान छाड्नु हुन्न, चाहे पार्टी नै चितामा किन नपुगोस् !

Leave A Comment