प्रचण्डको उटपट्याङ

शुक्रबार, १० असोज २०७६, १२ : ४७ शुक्रवार
प्रचण्डको उटपट्याङ

हुन त नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उटपट्याङ बोल्ने बानी नौलो हैन। परिस्थिति र माहोल हेरेर व्यक्तिलाई उत्तेजित र भावुक बनाउन माहिर प्रचण्ड उटपट्याङ बोल्न कम छैनन्। कहिले राजालाई डाँडा कटाउने त, कहिले  परिवर्तनको आँधिबेहरी ल्याउने भाषण ठोक्ने उनले यसपालि भने फेरि अर्को आन्दोलनको आवश्यकता रहेको पासा फ्याँकेछन्।

हुन पनि उनलाई नौलो कुरा के बोलौँजस्तो लाग्दोरहेछ क्यारे ! कार्यक्रममा एउटा न एउटा उटपट्याङ कुरा दिइहाल्छन्। यसो भएपछि उनी समाचारमा छाउने भइहाले। फ्रन्टपेजको बानी पर्नेलाई शायद यस्तो रोग हुँदो हो !
एक हिसाबले उनका यस्ता उटपट्याङे पासा केहीले सत्ताकुण्ठाको रुपमा पनि नलिने होइनन्। नेकपामा डबल अध्यक्षको व्यवस्था भए पनि तत्कालीन माओवादीमा सिंहजस्तो एकछत्र राज गरेका प्रचण्ड अहिले भने ओलीको चेपुवामा परेका छन्।

सोही सकसपूर्ण चेपुवाबाट उम्केर आफूलाई महान् साबित गर्न उनी बेलाबेला आफ्नो कुण्ठा पोख्ने गर्छन् भन्नेको पनि कमी छैन। यसपालि पनि सरकारलाई नै ‘जोर की धक्का धीरे से’ हान्न भ्याए, अर्को आन्दोलनको आवश्यकता देखेर।

हुन पनि पछिल्ला केही महिना उनले विकासको मात्रै कुरा गरिरहेका थिए। विकासका कुराले कोही उत्तेजित देखिएनन् पनि। सबैलाई थाहा छ, विकास जग हँसाउन चुट्किलाका रुपमा गरिन्छ, जस्तो कि नारा छ– समृद्ध नेपाल, सुखी नेपाली।

विकासका कुरा मात्र गरे पनि व्यवहारमा त्यस्तो नदेखिएको उनले महसुस गरेकै हुन्। र, सोही कुरा व्यंग्य प्रहार गरे पनि।

अब यस्तो बेलामा अर्को आन्दोलनको आवश्यकताको पासा फ्याँक्नु स्वाभाविक पनि हो। तर यस्तो आन्दोलनमा जान्छ चाहिँ को ? ‘मालिक’सँग वार्ता गर्ने आन्दोलन पनि देखिएकै हो। यस्ता कयौँ आन्दोलन तुहिएरै तपाईंको पार्टी पूरै विलय भएको हो। अब पनि आन्दोलनको बाटो देख्नु चाहिँ ‘सशस्त्र द्वन्द्व’मा फुटेको गोरुले सधैँ हरियो देख्छ भन्नुजस्तै हो ! कि कसो ?

Leave A Comment