छोराका साथीहरुसँग आमाको सम्झौतापत्र

शनिबार, ११ असोज २०७६, ०२ : १८ शुक्रवार
छोराका साथीहरुसँग आमाको सम्झौतापत्र

तपाईंका सन्तानका साथीहरु घरमा आउँछन्, राति सुत्ने गरी नै आउँँछन् भने बाउआमाका लागि चिन्ता थपिन्छ। एउटा सन्तोष त के हुन्छ भने साथी छन्, साथी भएपछि सुखदुःखमा भरथेग गर्छन् भन्ने हुन्छ। तर जब यो मित्रता राति अबेरसम्म जाग्राम बस्ने र पूरै दैनिकी गडबडिने सम्भावनासम्म तन्कियो भने चाहिँ बाउआमाका लागि तनावको विषय बन्न पुग्छ।

छोराछोरी के–कस्ताको संगतमा छन्, तिनको व्यवहार कस्तो छ, यी सबै टपक्क टिपिहाल्छन्। शान्त बस्न मन हुनेहरुका लागि केटाकेटी भेला हुनु नै काउसो सरह बन्न पुग्छ।

यी सारा तनाव र झन्झटबाट मुक्त हुनका लागि बेलायतकी एक जना आमाले बडो गज्जबको सोच फुराएकी छन्। उनले आफ्नो छोरासँग संगत गर्ने छोराका साथीहरुसँग एउटा सम्झौता गर्ने गरेकी छन्।

फेसबुकमा यतिबेला भाइरल भइरहेको सो सम्झौतापत्रमा आमाको नाम भने खुलासा गरिएको छैन। तर उनले सम्झौतामा विभिन्न गर्न हुने र नहुने कुरा प्रस्ट्याएकी छन्।

उनले लेखेकी छन्, ‘मेरो घरमा आउन चाहने मेरा छोराका केटा वा केटी साथीहरुले निश्चित समयभन्दा बढी इन्टरनेट वा मोबाइल चलाउन पाउने छैनन्। साथै, एकअर्कालाई छुने/चिमोट्ने कार्य गर्न पाउने छैनन्। हात/गोडाको सदुपयोगमा उनीहरु सचेत हुनुपर्नेछ।’

दोस्रो नम्बरमा, ‘जस्तोसुकै अवस्थामा एकअर्काको नग्नताप्रति सबै सचेत हुनुपर्छ। ठाउँ–कुठाउँ लुगा फेर्ने, नग्न बस्नेजस्ता क्रियाकलाप पूर्ण रुपमा बन्देज छ। जस्तोसुकै अप्ठरो अवस्था भए पनि आमाबाबुलाई जानकारी नदिई गरिएको नग्नता प्रदर्शनीलाई उचित मानिने छैन।’

सम्झौताको तेस्रो नम्बरमा लेखिएको छ, ‘मनोरञ्जन गर्ने नाममा अत्यधिक चर्को आवाजमा सङ्गीत बजाउने कार्य भएमा दिइँदै आएको सुविधा खारेज गरिनेछ। टिभी हेर्दा अथवा आइप्याड चलाउँदा चिच्याउने, हल्ला गर्ने जस्ता क्रियाकलाप गरेमा घरबाट निकालासमेत गर्न सकिनेछ।’

सम्झौता नं. चारमा भनिएको छ, ‘सिर्जनशील अनुरोधहरुलाई उच्च मूल्याङ्कन गरिनेछ। खासगरी शान्त, सुसंस्कृत भाषा र शैलीमा गरिएको अनुरोधलाई मान्न सकिनेछ। खासगरी मसँग कसैले केही अनुरोध गर्नु परे, यसको आवश्यकता त छँदैछ, साथमा मैले स्वीकृति नदिउञ्जेलसम्म कोही पनि अघि बढेर बोल्ने छैन।’

यो चार बुँदे सम्झौतामुनि लेखिएको छ, ‘माथिका सबै नियमहरु मैले सुरुचिपूर्ण तरिकाले पढेँ र बुझेँ पनि। म फलानोको घरमा सोही नियमअनुसार रहन÷बस्न कबुल गर्दछु। हरबखत यहाँको नीतिनियमप्रति कटिबद्ध रहनेछु।’

‘यदि मेरो व्यवहार यो घरको नीतिनियम अनुसारको नभएमा कार्बाहीको भागिदार हुन स्वीकार गर्दछु। यहाँ बसुञ्जेल आफ्नो बसाई यादगार बनाउने प्रयास गर्दछु। मेरो व्यवहार घरअनुकूल नरहेको अवस्थामा भविष्यमा पाउने यो घरमा सुत्ने, बस्ने, साथीत्वका सबैजसो सुविधा कटौती गर्न स्वीकार गर्दछु,’ सम्झौतापत्रमा लेखिएको छ।

यो सम्झौता शुरुमा रेडइट सामाजिक सञ्जालमा भाइरल भएको थियो। भाइरल भएलगत्तै केहीले चर्को आलोचना गरेका थिए। एक जनाले त यस्तो सम्झौतालाई विक्षिप्त दिमागको प्रतिफलका रुपमा केहीले अथ्र्याएका छन्। अर्का एक जनाले भने ती आमा आफ्नी आमा नभएकोमा कृतज्ञता महसुस गरेको भनी टिप्पणी गरेका छन्।

Leave A Comment