मीठो खुवाउने ‘ब्रेजल’

सोमबार, २४ साउन २०७३, ११ : २७ युनिक , Kathmandu
मीठो खुवाउने ‘ब्रेजल’

राजधानीको व्यस्त ठाउँ हो, ठमेल । यहाँ एकान्तपन र शान्त वातावरणको कल्पना कमै गरिन्छ । दैनिक सयौँको संख्यामा भीड देखिने यो व्यस्त शहरमा यदि तपाईं शान्त वातावरणमा बसेर ब्रेकफास्ट, डिनर या खाजा खाने चाहना राख्नुहुन्छ भने ब्रेजल क्याफे एन्ड बार उपयुक्त हुन सक्छ ।
ठमेल, जेपी रोडस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको छेउमा रहेको यो क्याफेमा लोकल नेपाली खानादेखि कन्टिनेन्टल फुडको व्यवस्था गरिएको छ । वरिपरि बाँस, रबर, धुपी आदि रुख बिरुवा रोपिएको यो क्याफेमा पुगेर खाँदा तपाईंलाई कुनै व्यस्त शहरमा छु भन्ने नलाग्न सक्छ । ‘शहरको भीडदेखि वाक्क भएर एकछिनका लागि भए पनि शान्त ठाउँ खोज्नेहरूलाई ब्रेजल उपयुक्त स्थान हो,’ सञ्चालक कृष्ण नेपाल भन्छन्, ‘यहाँको हरियाली वातावरण हाम्रो विशेषता हो ।’ क्याफेको छेउको पर्खाल पनि कुनै सिमेन्ट या इँटाको छैन । हरियो बाँस नै पर्खालको रूपमा उभिएको छ ।

तीन वर्षअघि यही क्याफे ब्रेजल बेकरीका रूपमा थियो । त्यसपछि विविध कारणले बन्द भयो । गत वर्षको महाभूकम्पपछि योगेश घरासैनी, कृष्ण पौडेल, कृष्ण नेपाल, टंक मगर र शालिकराज रिमालका पाँच युवाको संयुक्त लगानीमा यो क्याफेको स्थापना भएको हो । ‘हामीले बेकरीलाई नयाँ स्वरूपमा हरियाली वातावरणको परिकल्पनासहित खोलेका हौँ,’ सञ्चालकमध्ये एक योगेश घरासैनीले बताए ।
क्याफेमा धेरैजसो विदेशी पर्यटक आउने गर्छन् । पिज्जा, रोयल फिस, स्टिक र बर्गर ब्रेजरको खास कन्टिनेन्टल खाना हो । धेरैजसो ग्राहक यसकै स्वाद लिन यहाँ आउने गरेको क्याफेका वेटर हेड विमल तामाङ बताउँछन् । यहाँ जर्मन बेस्ड बेकरी उपलब्ध हुने सञ्चालक कृष्ण नेपालले बताए । उनी आफैँ बारको कुक हेड पनि हुन् । ‘बेकरीका आइटमहरू हामी आफैँ बनाउँछौँ,’ उनले भने ।

लोकल चिकेन र मटन नेपाली खानाका लागि पनि ब्रेजल विशेष मानिन्छ । ‘सस्तो मूल्यमा टिपिकल नेपाली खाना खुवाउँछौँ,’ कुक हेड नेपालले भने, ‘आफैँले सिलौटामा पिनेर बनाएको मसला तरकारीमा प्रयोग गर्छौं जसको स्वादलाई स्वाद पारखीले मौलिक मानेर खान्छन् ।’

क्याफेमा फ्री–वाइफाईको व्यवस्था पनि छ । रेगुलर ग्राहकलाई छुटको व्यवस्थासमेत गरिएको क्याफेका म्यानेजर कृष्णले भने । क्याफेलाई स्पोट्र्स ड्रिंक्स बारका रूपमा पनि विस्तार गर्न खोजिरहेको उनी बताउँछन् ।
दिउँसो दुईबजेदेखि पाँचबजेको बीचमा तपाईं यदि यो क्याफेमा जाँदै हुनुहुन्छ भने तपाईंका लागि विशेष अफरका व्यवस्थासमेत छ । ‘यो समयलाई हामीले ‘ह्याप्पी आवर’ भन्छौँ,’ कृष्णले भने, ‘त्यसैले यो समयमा आउने ग्राहकलाई हामीले ‘बाई टू गेट वान फ्री’को अफर दिनेगर्छांै ।’

विभिन्न पर्व र अवसरमा क्याफेमा लाइभ म्युजिक र फेसन सोको समेत आयोजना हुने गर्छ । ‘अब हामी हरेक शुक्रवार लाइभ म्युजिक सञ्चालन गर्ने तयारीमा छौँ,’ कृष्णले योजना सुनाए । क्याफेमा १८ जना कर्मचारीले रोजगारी पाएका छन् ।

Leave A Comment