चतुरले चप्काए क्रिकेट संघको अध्यक्ष

शनिबार, १८ असोज २०७६, ०२ : ४३ शुक्रवार
चतुरले चप्काए क्रिकेट संघको अध्यक्ष

अध्यक्ष निर्वाचित भए पनि राष्ट्रिय खेलकुद परिषद्को अवरोधका कारण काम गर्न नपाएका चतुरबहादुर चन्द आफ्ना प्रतिद्वन्द्वीलाई माथ खुवाउँदै प्यानलैसहित क्रिकेट एसोसिएन अफ नेपालको नेतृत्वमा फर्किएका छन्।

उनले कुल ५९ मतमध्ये आफ्ना प्रतिद्वन्द्वी विनयराज पाण्डेलाई १५ मत मात्र जान दिए। ४४ मतको सुविधाजनक अंकसहित उनी विजयी मात्र भएनन्। कार्यसमितिमा आफ्नै प्यानलको दबदबा बनाउनसमेत सफल भए।

संघको उपाध्यक्षमा उनकै प्यानलका राजुबाबु श्रेष्ठ वीजयी भए। सचिवमा जितेका अशोकनाथ प्याकुरेल, कोषाध्यक्षमा जितेका रोशन कुमार सिंह पनि उनकै प्यानलका हुन्।  प्रदेश १ बाट कैलाश विष्ट,  प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रसान्त विक्रम मल्ल, प्रदेश ६ बाट पदमबहादुर खड्का र प्रदेश ७ बाट विक्रम विष्ट निर्विरोध निर्वाचित भए।

महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध चुनिइन्। खुल्ला सदस्यमा दुर्गाराज पाठक, वीरेन्द्रबहादुर चन्द, माधवकुमार कर्माचार्य, संजयराज सिंह र करन छेत्री निवार्चित भएका छन्। यी सबै अनुहार हेर्दा चतुरका लागि अब संघको नेतृत्व गर्न निक्कै सहज देखिन्छ।

चार वर्षको अन्योलपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको निगरानीमा भएको निर्वाचनमा उनी अत्यधिक मतका साथ अध्यक्षमा निर्वाचित भए। क्रिकेट खेलमा प्रशंसकको भूमिकामा रहेका उनी शिक्षण पेशा हुँदै खेल राजनीतिमा होमिएका हुन्।

सुदूरपश्चिम क्षेत्रलाई क्रिकेटको भूमि बनाउन उनले खेलेको महत्वपूर्ण भूमिकाका कारण खेल राजनीतिमा नेपाल क्रिकेट संघमार्फत उनले बलियो उपस्थिति देखाइरहेका थिए। चार वर्षअगाडि टंक आङबुहाङसँगको टक्करका कारण उनी अध्यक्षमा निर्वाचित हुँदा पनि मान्यता पाएनन्।

त्यो बेला नेकपा एमालेबाट राष्ट्रिय खेलकुद परिषद्मा सदस्य सचिवको रुपमा नियुक्त केशव विष्टले भिलियनको भूमिका निभाएका थिए। चतुर प्रत्यक्ष रुपमा नेपाली कांग्रेसको राजनीतिमा थिए।

चुनाव भए उनै चतुरले जित्ने भएपछि टंकले निर्वाचनमा आलटाल गरिरहे, चतुरले निर्वाचनको मितिका लागि राखेपलाई आग्रह गरे तर उसले मानेन। उनले निर्वाचन गरे र अध्यक्षमा निर्वाचित पनि भए। तर राखेपले मान्यता दिएन। विवाद बढ्दै जाँदा उल्टो आइसिसीले नेपाल क्रिकेट संघलाई नै निलम्बन गरिदिएको थियो।

निलम्बित भएको अवस्थामा पनि निरन्तर जिल्ला संघहरुसँग सम्पर्कमा बस्ने, खेलाडीको मनोबल कायम राख्न खटिने र निलम्बन फुकुवा गर्न सक्रिय भएकाले उनको पल्ला भारी भएको हो।  पराजित उम्मेदवारसँगको सम्बन्ध, राखेप नेतृत्वसँगको सुमधुरता र आइसिसीसँगको सम्बन्ध विस्तारमा सक्रिय हुन सके उनको कार्यकाल सफल हुनसक्छ। उनको कार्यकाल सफल हुन राष्ट्रिय खेलाडीहरुसँगको सम्बन्ध पनि उत्तिकै महत्वपूर्ण हुने देखिन्छ।

उनको मुख्य चुनौती आइसीसीसँगको सम्बन्ध विस्तार राखेपसँग सम्बन्ध सुधारै देखिन्छ। क्रिकेट एसोसिएसन अफ नेपालको निर्वाचनको विवादको समयमा बनेको तदर्थ समितिको नेतृत्वमा जो आएका थिए अहिले राखेपको नेतृत्वमा उनै रमेश सिलवाल छन्। सिलवाल कट्टर नेकपा समर्थक हुन्। चतुर कट्टर कांग्रेसी दलको छायाँको प्रभाव संघमा पर्न सक्छ।

आइसीसीसँग चतुरको सम्बन्ध त्यत्ति सुमधुर छैन। खेलाडीहरुसँग पनि उनको हिमचिम नहुँदा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नै परेको थियो। विवादका कारण नेपाली क्रिकेट ४ वर्षसम्म टुहुरो भएकाले क्रिकेट खेलसँग सम्बन्धित अधिकारीले पुरानै गल्ती पक्कै नदोहो-याउलान् भन्ने आश गर्न सकिन्छ, ढुक्कै हुन पनि सकिन्न।

Leave A Comment