विदेशी नागरिक बने पनि अंशमा हक लाग्छ

मङ्गलबार, २१ असोज २०७६, १२ : ५४ शुक्रवार
विदेशी नागरिक बने पनि अंशमा हक लाग्छ

प्रश्न : मेरो बुबा ब्रिटिस गोरखाको रिटायर्ड कर्मचारी हुनुहुन्छ। मेरो जन्म नेपालमा भएको हो र भाइ बहिनीको हङकङमा। हाल बाबा, आमा, बहिनीभाइ उतै बस्नुहुन्छ। भाइ र बहिनी ब्रिटिस राहदानी नै प्रयोग गर्छन्। मेरो बुबाले अंशवण्डा गर्दा हालको मुलुकी देवानी संहिताअनुसार कस्तो भागबण्डा हुन्छ ?

स्विकृती बराल,अधिवक्ता
–एकै परिवारका सदस्यहरु अंशका हकदार हुन्छन् र अंशका हकदारलाई अंशियार भनिन्छ। प्रत्येक अंशियार अंशको समान हकदार हुन्छ। जस्तै, एकै घरका बुवाआमा र छोराछोरी बीच अंशवण्डा गर्नु परेमा उनीहरुको सगोलमा भएको सम्पत्तिमा हरेक परिवारका सदस्यको समान हक अधिकार हुन्छ। मुलुकी देवानी (संहिता) ऐन, २०७४ को परिच्छेद १० मा अंशवण्डा सम्बन्धी व्यवस्था गरिएको छ।

मुलिकी देवानी (संहिता) ऐन, २०७४ को परिच्छेद १० को दफा २११ को उपदफा १ र २ अनुसार सगोलमा सम्पत्ति भएका पति, पत्नी, बाबु, आमा, छोरा, छोरीले पत्नी, पति, छोरा, छोरी, बाबु र आमालाई इज्जत अनुसार खान लाउन दिन र आर्थिक हैसियत अनुसार शिक्षा र स्वास्थ्योपचारको व्यवस्था नगरे वा आफूले गर्नुपर्ने दायित्व पूरा गर्न नसके  अंशियार आफ्नो अंश लिई छुट्टिन पाउँछन्।

मुलुकी देवानी संहिता, २०७४ को दफा २५७ अनुसार पुख्र्यौलीबाट प्राप्त सम्पत्ति, निजी सम्पत्ति बाहेक अंशियारको नाममा रहेको अन्य सम्पत्ति, अंशियारले सगोलको खेती, उद्योग, व्यापार, व्यवसायबाट आर्जन गरेको वा बढे बढाएको सम्पत्तिहरु सगोलका सम्पत्ति हुन्। कानुनबमोजिम भिन्न भएकोमा बाहेक पति वा पत्नीले कमाएको वा त्यसबाट बढे बढाएको सम्पत्ति पति वा पत्नीको सगोलको सम्पत्ति मानिन्छ। हालको मुलुकी देवानी संहिताअनुसार बुबाले कमाएको सम्पत्तिमा तपाईँको र तपाईँका भाइ, बहिनीको  समान हक लाग्छ। तपाईंहरु तीनैजना अंशको समान हकदार हुनुहुन्छ।

प्रश्नमा तपाईंले भाइ र बहिनीले ब्रिटिस राहदानी नै प्रयोग गर्ने कुरा बताउनु भएको छ। भाइ र बहिनीले उतैको राहदानी प्रयोग गरे पनि बुबाको अंशमा उहाँहरुको पनि  हक समान रुपमा लाग्छ तर नेपाली र गैर आवासीय नेपालीका लागि कानुनी प्रावधान छुट्ठाछुट्ठै रहेको छ।

मुलुकी देवानी संहिता,२०७४ को दफा ४३३ ले  विदेशीलाई अंश वा अपुताली प्राप्त भएमा हस्तान्तरण गर्नुपर्ने प्रावधान राखेको छ।  उक्त दफाको उपदफा १ अनुसार कुनै विदेशीलाई नेपालभित्रको कुनै अचल सम्पत्ति अंश वा अपुताली प्राप्त भएमा नेपाल सरकारको स्वीकृति भएकोमा बाहेक सो सम्पत्ति निजको नाममा नामसारी, दर्ता हुन वा सो सम्पत्तिको आम्दानी निजले उपभोग गर्न पाउने छैन।

तर गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको हकमा यो व्यवस्था लागू हुँदैन।  विदेशीलाई कुनै अंश वा अपुताली प्राप्त भएमा त्यस्तो विदेशीले त्यस्तो सम्पत्ति कुनै प्रकारले नेपाली नागरिकलाई हस्तान्तरण गर्नु पर्नेछ र त्यस्तो प्रयोजनका लागि सम्बन्धित कार्यालयले हक हस्तान्तरण गर्ने दिनका लागि मान्य हुने गरी अस्थायी जग्गा धनी प्रमाण पूर्जा जारी गर्नेछ।

विदेशीको नाममा प्राप्त भएको अंश वा अपुतालीको सम्पत्तिमध्ये अंशको हकमा जहिलेसुकै पनि र अपुतालीको हकमा त्यस्तो प्राप्त भएको तीन वर्षभित्र नेपाली नागरिकलाई हस्तान्तरण नगरेमा सो म्याद नाघेपछि त्यस्तो सम्पत्तिउपर नेपाल सरकारको हक हुने कुरा दफा ४३३ मा स्पष्ट तरिकाले उल्लेख गरिएको छ।

Leave A Comment