पारसको ‘सरप्राइज’ राजीनामा

बिहिबार, ३० असोज २०७६, ०१ : १० शुक्रवार
पारसको ‘सरप्राइज’ राजीनामा

दश वर्षदेखि निरन्तर नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी सम्हाल्दै आएका पारस खड्काले कप्तानी छाडेका छन्। आइसीसीले नेपाल क्रिकेट संघ क्यानलाई सशर्त निलम्बन फुकुवाको निर्णय गरेलगत्तै उनले विज्ञप्ति निकालेरै कप्तानी छाड्ने घोषणा गर्दा निलम्बन फुकुवाबाट खुसी भएका क्रिकेटप्रेमीको मनमा चस्का पस्यो। उनको राजीनामा पत्रसमेत सार्वजनिक भइसकेको छ।

‘मैले क्रिकेटको कप्तान पदबाट राजीनामा दिने निर्णय लिएको छु’, पारसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने मेरो चाहना हो।’

सन् २००९ को एसीसी टी–२० कपका लागि राष्ट्रिय टिमको कप्तान बन्दा उनको उमेर २२ वर्ष थियो। उनले विनोद दासको स्थान लिएका थिए। त्यसपछि उनले लगातार नेपाली क्रिकेट टोलीको कप्तानी सम्हालिरहे।

चतुरबहादुर चन्दको नेतृत्वका नेपाल क्रिकेट एसोसियनको नयाँ टिम निर्वाचित भएपछि आइसीसीले सर्तसहित निलम्बन फुकुवा गरेलगत्तै उनले दिएको राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ। यसअघि चन्दको नेतृत्वको क्यानसँग उनको मतभेद देखिएको थियो।

खेल स्तर र उमेरका आधारमा पनि तत्काल राजीनामा दिएर कप्तानी छाडिहाल्नुपर्ने देखिएको थिएन तर उसले सरप्राइज दिँदै राजीनामाको घोषणा गरिदिए।

सफल कप्तान
पारसको कप्तानीमा नेपाली क्रिकेट टिम अन्तर्राष्ट्रिय छवि बनाउन सफल भयो। उनको कार्यकाल निकै सफल मानिन्छ। उनको नेतृत्वमा नेपालले डिभिजन–५ देखि एक दिवसीय टिम र टी–२० टिमको मान्यता पाउन सफल भयो।

सन् २०१४ मा बाङ्लादेशमा भएको टी–२० विश्वकपको नेपालको नेतृत्व गरेका पारसले नेपालका लागि एक दिवसीय र टी–२० शतक हान्ने रेकर्ड बनाए।

उनले सन् २००४ मा इन्टरकन्टिनेन्टल खेलमार्फत् नेपालको राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। मलेसियाविरुद्धको खेलमार्फत् डेब्यु गर्दा पारसले पहिलो इनिङमा ४४ रन  र १ विकेट लिएका थिए। नेपालले ९ विकेटले जितेको खेलमा उनले दोस्रो इनिङमा ब्याटिङ र बलिङ गरेनन्।

उनले नेपालका लागि ६ एक दिवसीय, २७ टी–२० अन्तर्राष्ट्रिय, २ फस्र्ट क्लास, ४० लिस्ट ए र ५० टी–२० खेल खेलेका छन्।

अबको कप्तान को ?
पारसको राजीनामासँगै नयाँ कप्तानको खोजी शुरु भएको छ। पारससँगै उमेर समूहमा खेलेका ज्ञानेन्द्र मल्ल एक दशकसम्म पारसको उपकप्तानको रुपमा रहेकाले उनको सम्भावना बलियो देखिन्छ।

दीपेन्द्र सिंह ऐरीले पनि उपकप्तानको भूमिका निभाइसकेका छन्। उमेर समूहमा कप्तानी गर्दै नेपाललाई सफलता दिलाइसकेका दीपेन्द्रले घरेलु फ्रेन्चाइज् क्रिकेट लिगमा पनि कप्तानी गरिसकेका छन्। घरेलु लिगमा कप्तानी गरेका सोमपाल कामी पनि कप्तानका दाबेदार मानिन्छन्।

Leave A Comment