झस्काउन खप्पिस प्रचण्ड

शुक्रबार, ०१ कार्तिक २०७६, ०२ : ०४ शुक्रवार
झस्काउन खप्पिस प्रचण्ड

दसैंमा चिया खुवाउने परम्परालाई ज्युँदो राख्दै नेपाली कांग्रेसले यसपालि पनि पार्टी कार्यालय सानेपामा सबैलाई बोलाएर चिया खुवायो। प्रायः सत्ता पक्ष भएर चिया खुवाउने कांग्रेस यसपालि प्रमुख प्रतिपक्षीको भूमिकामा थियो।

कांग्रेसको चियापानमा नेकपा लगायतका अन्य दलका नेताको उपस्थिति बाक्लै थियो। चीनका राष्ट्रपतिलाई बिदाइ गरेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली चिया खान कांग्रेस कार्यालय पुगेका थिए। चियापानमा पुगेका नेकपाका केही नेताले कांग्रेसलाई व्यंग्य गरे त केहीले आफ्नै दल नेकपालाई नै झस्काउन खोजे।

बेलाबखत अर्थपूर्ण बोली बोलेर तरङ्ग ल्याउन माहिर नेकपाका डबल अध्यक्षमध्येका एक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो बानीलाई निरन्तरता दिँदै चियापान कार्यक्रममा शुभकामनासँगै झस्काउने अर्थपूर्ण बोली पनि फुत्काए।

उनले कांग्रेसको बीचमा आउँदा आफूलाई सहयात्रीकै बीचमा आएजस्तो अनुभूति हुने मात्र बताएनन्, ‘हेर्दै जाउँ आउने दिनमा राजनीतिले कसरी कोल्टे  फेर्दै जान्छ’ समेत भनिदिए। पाँच वर्षका लागि निर्वाचित भए पनि प्रधानमन्त्री पद आधा आधा खाने शर्तमा पार्टी एक गराए पनि ओलीले सत्ता छाड्ने संकेत नगरेको बेला कांग्रेसको कार्यालयमा गएर यस्तो बोल्दा नेकपाका एमालेतिरका नेताको मुटुको झस्काइ बढ्ने नै भयो।

पदका लागि जस्तोसुकै जोखिम मोल्न तयार हुने चतुर नेता दाहालको यो अभिव्यक्ति आफैँमा अर्थपूर्ण छ। आफू प्रधानमन्त्री हुनका लागि उनले कांग्रेससँग मिलेर सरकार बनाएका पनि हुन्। त्यसमा पनि भर्खरै चिनियाँ राष्ट्रपतिसँग वान टु वान कुरा गरेका प्रचण्डले यस्तो भन्नु आफैँमा अर्थपूर्ण हुने नै भयो। 

तापनि अहिलेसम्म एमालेतिरका नेकपाका शुभेच्छुक डराइहाल्नुपर्ने संकेत भने आएको छैन है ! प्रचण्डले झस्काउन बोल्ने अर्थपूर्ण बोली सधँै टिकेको पनि त छैन ! त्यसमा पनि ओली नेतृत्वको सरकारले साढे दुई वर्ष पनि त टेकेको छैन ! त्यसैले आजसम्मलाई ढुक्कै भए हुन्छ, भोलि त खै कुन्नी !

Leave A Comment