माननीयको हाननीय बानी

शुक्रबार, ०१ कार्तिक २०७६, ०२ : ०८ शुक्रवार
माननीयको हाननीय बानी

आफैँ रक्षक, आफैँ भक्षक ! यो कस्तो शिष्टता अनि विवेकशीलता ! आफैँ नियम कानुन बनाउने ठाउँमा पुगेर जनतालाई पनि नियमसंगत ढंगले चल्न सिकाउने तहमा पुगेका व्यक्ति नै अराजक भयो भने त्यो मुलुकको हालत के होला ? हो, नेपालमा यस्ता पनि सांसद छन्, जो नियम कानुनलाई आफ्नो मुठ्ठीमा लिएर शक्तिको आडमा आफूले जे गर्दा पनि छूट हुन्छ भन्ने मानसिकताले ग्रसित देखिए। यस्तै एक अराजक सांसद हुन्, प्रतिनिधि सभा सदस्य (सांसद) प्रमोदकुमार साह। उनलाई नियम–कानुन र विवेकशीलताको के मतलब ?

जनकपुरबाट काठमाडौं आउने विमान के ढिलो भएको थियो, आफ्नो अराजक रुप देखाइहाले। जनकपुरस्थित बुद्ध एयरको काउन्टर तथा भिआइपी क्षेत्र तोडफोड गर्नेजस्तो आक्रामक व्यवहार देखाए उनले। रिसले आगो भएका सांसदले काउन्टरमा मुक्कै बजारेछन्। कर्मचारीलाई समेत अभद्र व्यवहार गरेको विषय बाहिरियो। कसो कर्मचारीलाई कुटेनन्, धकेलेरै चित्त बुझाए।

यस्तो ताल देखाएपछि सरकारले पनि सहोस् कसरी। उनी काठमाडौंबाट ओखलढुंगा जान विमान चढ्न काठमाडौं विमानस्थल पुगेको मौका छोपेर च्याप्पै समातिदिएछ। अब यसो हिरासतमा बसेपछि माननीयको हाननीय बानी शान्त हुन्छ कि !

Leave A Comment