नेपाली हिटलर

शुक्रबार, ०१ कार्तिक २०७६, ०६ : ३० शुक्रवार
नेपाली हिटलर

घटना आजको हैन, २०६४ चैत २७ को साँझको हो ।
घटना ८ जनाको हत्या आशंका । दुई जना नेपाली छ जना भारतीय नागरिक । घटनाको उद्देश्य चुनाव कब्जा गर्ने अनि तयारी बम बनाएर पड्काउने । मुख्य अभियुक्त रौतहटका बाहुबली सांसद महम्मद आफताब आलम ।
तर योजना पूरा हुनुअगाडि नै जहाँ बम बनाइराखेको हो, त्यहीँ बम पड्कियो । ३५ जनाले बम बनाइरहेका थिए । बम विष्फोटको कारण देखियो चुरोट ।

पहिलो संविधानसभा निर्वाचन कांग्रेसका लागि कठिनै थियो । सशस्त्र द्वन्द्व त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको माओवादीको दबदबा र प्रभाव बढी थियो ।

पहिलो संविधानसभा निर्वाचनमा आफ्नो क्षेत्रको बुथ कब्जा गर्ने योजनासहित नेपाली कांग्रेसबाट उम्मेदवार बनेका आलमले बम बनाउन नेपाली र भारतीयलाई ल्याएर राजापुरको फरदवा गाउँको टहरोमा बम बनाउन लगाएका थिए । एक्कासि बम पड्कियो । स्थानीयको सातो गयो । भागाभाग नै भयो । घटनास्थलमा कालो बादलको मुस्लो उड्यो ।
पूर्वमन्त्री शेख इद्रिसको घरनजिकै बिस्फोट भएको थियो । आलम इद्रिसका भतिजा थिए । 
बम पड्केर मान्छेहरु मरे भन्ने हल्ला गाउँभरि फैलियो । प्रहरी पनि आयो ।

निर्वाचनमा त्यसको केही प्रभाव परेन । न आलमलाई नै केही भयो । स्थानीयको सातो जाने घटना भोलिपल्ट सामसुम भइसकेको थियो । निर्वाचनको परिणाम उनकै पक्षमा आयो ।

तर निर्वाचनमा बुध कब्जा गर्न आलमले बम बनाउन लगाएको ठाउँमा बम पड्केर मान्छेहरु मरेको हल्ला कायमै थियो । जहाँ घटना भएको थियो, त्यहाँ उनको त्रास निकै थियो । केन्द्रमा कांग्रेसकै गृहमन्त्री थिए कृष्णप्रसाद सिटौला ।
घटना ठूलै भएको थियो तर सामसुम बनाइयो ।

प्रहरी नै सहयोगी
तत्कालीन सरुअठा गाविस–२, हाल यमुनामाई गाउँपालिका–४ निवासी श्रीनारायण सिंहका २२ वर्षीय छोरा पिन्टु सिंहलाई आलमका सहयोगीले निर्वाचनमा सघाउन भन्दै लगेका थिए । उनी घर फर्किएनन् । सरुअठाकै रुक्साना खातुनका छोरा ओसी अख्तर कहाँ गए, अत्तोपत्तो भएन ।

जसले आफ्ना सन्तानलाई निर्वाचनमा सघाउन भनेर लगेका थिए, उनीहरुसँग सोधखोज गरे तर केही पत्तो लागेन । रुक्सानाले छोरा पाइनन्, उनको कपडा मात्र पाइन् ।

घटनास्थलमा पुगेको प्रहरीले घटना जे भनिएको थियो, त्यो नभएको रिपोर्ट दियो तर गाउँमा घटनामा घाइते भएका र मारिएकाहरुलाई नजिकै रहेको इँट्टाभट्टाको भट्टामा लगेर जलाएको चर्चा कायमै थियो ।

आलमको घटनाबारे थाहा पाएका तत्कालीन एमाले र माओवादीका नेताले चासो राखे तर अगाडि बढाउन सकेनन् । घटनामा परेका अधिकांश भारतीय नागरिक थिए । उनीहरुका कोही आफन्त आएनन् खोज्न । दुई नेपाली परिवार आफ्ना सन्तान खोज्न प्रहरी कार्यालय पुगे तर जिल्ला प्रहरी कार्यालय रौतहटले जाहेरी नै लिएन ।

उजुरी पनि नलिएपछि २०६५ वैशाख १८ मा हुलाकमार्फत् जाहेरी दर्ता भयो । हुलाकबाट आएको जाहेरी दर्ता गर्नुपर्ने कानुनी प्रावधानको आधारमा दर्ता पनि भयो । प्रहरीले पाँच जनालाई आरोपी बनाएर सोधपुछ पनि भयो तर प्रमाण नपुगेको भन्दै मुद्दा अगाडि बढेन ।

पीडित परिवार मान्ने पक्षमा थिएनन् । उनीहरुले असार ३० मा महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिए । महान्यायाधिवक्ताको कार्यालयले पनि प्रमाण नपुगेको भन्दै मुद्दा चलाउन नसक्ने जनायो । महान्यायधिवक्ताको कार्यालयले खोजेको प्रमाण मृतकको शव थियो, जो इँटाभट्टामा जलेर खरानी भइसकेको थियो ।
छोराको खोजीमा लागेकी रुक्साना खातुनकले हार मानिनन् । उनी महान्यायधिवक्ताको निर्णयलाई चुनौती दिन सर्वोच्च अदालत आइन् र रिट दिइन् । 

रिट हाल्नेको हत्या
शेख रुक्सना खातुन छोरालाई न्याय दिलाउन कम्मर कसेर लागेकी थिइन् । आलमका निकट उनको घरमा आएर फकाउँथे, धम्क्याउँथे तर उनी विचलित भइनन् । 

उनले जाहेरी दिएदेखि नै धम्की आउन थालिसकेको थियो । उनको घरमै आक्रमणसमेत भयो । तर्साउन गोली पनि चलाइयो, तर उनी डराइनन् । डराएर नहुने देखेपछि पैसा र जग्गाको प्रलोभन आयो तर उनी लोभिइनन् । २०६७ मा उनले सर्वोच्चमा रिट हालेपछि धमक्याउने क्रम झन् बढेको थियो ।

सर्वोच्चमा रिट हालेपछि उनी प्रायः एक्लै हिँड्न छाडेकी थिइन् । २०६७ मै तीन किलोमिटर टाढाको माइतीबाट सम्धिनीसँग घर फर्कंदै गर्दा उनीमाथि आक्रमण भयो र मारिइन् उनी । 

उनको रिटको आधारमा २०६९ जेठ १६ मा महान्यायाधिवक्ताको निर्णय खारेज गर्दै  सर्वोच्चले अनुसन्धान गर्न प्रहरीलाई आदेश दियो । आदेश आउँदा उनको हत्या भइसकेको थियो ।

अदालतबाट आदेश आए पनि अनुसन्धान भने अगाडि बढेन, थाँति नै रह्यो । अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै अदालतको मानहानिमा प्रक्रिया अगाडि बढ्ने भएपछि बल्ल प्रहरी तात्यो र रौतहट प्रहरीले आलमलाई पक्राउ गरी हत्या अभियोगमा हिरासतमा राखेर अनुसन्धान अगाडि बढायो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीका अनुसार घटनामा ८ जनाको हत्या भएको भनिए पनि प्रहरीमा २ जनाको मात्र जाहेरी परेकाले आलमलाई दुई जनाको हत्या आरोपमा अनुसन्धान भइरहेको छ ।

के–के छ प्रमाण
१२ वर्षअघि भएको घटनाको बलियो प्रमाण अझै देखिएको छैन । पहिलो पटक मुद्दा चलाउने प्रक्रिया शव फेला नपरेको र इँटाभट्टामा जलाएकोबारे बलियो प्रमाण नभएको भन्दै मुद्दा चलाउन अस्वीकार गरिएको थियो ।
कुनै व्यक्तिको शव फेला नपरी वा हत्या गरी शव गायब बनाएको प्रमाण फेला नपरी मुद्दा अगाडि बढ्न कठिन हुन्छ । कानुनसम्बन्धी जानकारका अनुसार प्रमाण ऐनले कुनै व्यक्ति हराएको १२ वर्षपछि मृत्यु भएको मान्छ । अहिले प्रहरीले त्यसैलाई टेक्ने तयारी गरेको छ ।

स्रोतका अनुसार २०६५ जेठ १९ मा  घटनास्थलबाट प्रहरीले माटो तथा मृतक ओसी अख्तरको लुगा र जुत्ता बरामद गरी परीक्षणका लागि पठाएको थियो । त्यो समेत यो घटनाको प्रमाण बन्न सक्छ ।
बम पड्किएको भनिएको स्थानको मुचुल्कामा समेत घटना भएको हो भन्ने आधार खुलाउने प्रमाणहरु रहेको अनुसन्धानमा संलग्न स्रोतले जानकारी दियो । 

घटनाका केही प्रत्यक्षदर्शी समेत प्रहरीले फेला पारेको छ । प्रत्यक्षदर्शीका अनुसार बम बिस्फोटमा दुई जना मारिएका थिए । त्रिलोक र ओसी घाइते मात्र थिए । बम बिस्फोट भएकै साँझ प्रहरीका दुइटा गाडी आएर त्यसको बीचमा ट्र्याक्टर गुडाएर घाइते र मृतकलाई इँट्टाभट्टामा लगेर जलाइएको थियो । 

ट्र्याक्टरबाट बोराको पोको निकालेर भट्टामा हाल्दै गरेको देखेका प्रत्यक्षदर्शीहरुसमेत अझै रहेको स्रोतले बतायो । 
प्रहरी स्रोतका अनुसार त्यसदिन बम बनाउन संलग्न र बिष्फोटमा बाँचेका एक व्यक्तिको पहिचान भएको छ । उनी जीवितै रहेको जानकारीका आधारमा प्रहरीले खोजी शुरु गरेको छ । 

घटनामा बाँचेका भारतीय नागरिकको बयान, ट्याक्टर चालक लगायतको बयानबाट समेत घटनाबारे महŒवपूर्ण जानकारी आउने भएकाले प्रहरी त्यतासमेत केन्द्रित भएको देखियो । 

‘घटनामा संलग्न एक व्यक्ति जीवितै रहेको सूचना आएको छ,’ अनुसन्धान स्रोतले भन्यो, ‘हामी उनको खोजीमा छौं ।’
आलमसहित उनका भाइ महताब, शेख भदई, मोबिन आलम र शेख सराज समेत घटनामा संलग्न देखिएका छन् । आलमको पक्राउपछि उनीहरु फरार छन् । प्रहरी उनीहरुको खोजीमा छ ।

आलमको राजनीतिक यात्रा
आफताब आलम नेपाली कांग्रेसका पुराना नेता शेख इद्रिसका भाञ्जा हुन् । उनकै बलमा उनले राजनीतिक यात्रा शुरु गरेका थिए । आलमले २०५३ सालदेखि लगातार चुनाव जित्दै आएका छन् । २०७० मा आफ्नै भाञ्जा मुस्ताक आलम तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट उम्मेदवार बन्दा उनी पराजित भएका थिए । त्यसयता उनी निरन्तर सांसद हुँदै मन्त्रीसमेत बने । २०७४ मा चुनाव जितेका उनी पक्राउ पर्दा समेत माननीय नै हुन् । पक्राउपछि उनको पद निलम्बन भएको छ ।
 

Leave A Comment