क्याट्रिना होल्टे बिहान साढे ६ बजे उठ्छिन्, लोग्नेका लुगा मिलाइदिन्छन्, खाजा बनाइदिन्छिन् र अफिसका लागि तयार पारिदिन्छिन्।
उनको दिनभरिको काम भनेको घरको सफाइ, लुगा र अन्य सरसफाई, ईस्त्री लगाउनु र बेलुकीको खाना तयार गर्नु हुन्छ। उनलाई बेलुकी श्रीमानसँगै खाना खान यति रमाइलो लाग्छ कि त्यसको प्रतीक्षामा हुन्छिन्।
एक वर्षअघिसम्म उनको जीवनशैली यस्तो थिएन। उनी अफिस जान्थिन्, घरेलु काम उनका लागि दिग्दारीको काम हुने गथ्र्यो।
‘अहिले त म सन् १९५० को दशककी गृहिणीजस्ती भएकी छु,’ क्याटरिना हाँस्दै भन्छिन्, ‘मेरा लोग्नेलाई पुल्पुल्याउन म त घरैमा बस्ने भएकी हुँ।’
उनका २८ वर्षे लोग्ने लार्स कुनै कम्पनीमा इन्जिनियर छन्। ३० वर्षीया क्याटरिना राम्रो आम्दानी हुने अफिसको जागिर त्यागेर किन घरेलु काममा रमाउन थालिन् त ?
‘अफिसको कामले मलाई साह्रै तनाव हुन्थ्यो,’ उनले प्रस्ट्याउँदै भनिन्, ‘जुन दिनदेखि जागिर छाडेँ, बडो आनन्दले दिन बित्न थालेको छ। म सधैँ एउटी असल पत्नी र घरेलु जीवन बिताउन चाहन्थेँ। मैले जब लार्ससँग यसबारे सल्लाह गरेँ, ऊ पनि मेरो जागिरेजीवन त्याग्ने कुरालाई सहमत भयो।’
त्यसो त घरेलु काम पनि कम हुँदैन। बरु अफिसको काम सहज हुन्छ होला ! तर अफिसको तनावले जति स्वास्थ्यलाई खराब गर्छ, त्यति भने घरेलु काम गर्दा हुँदैन भन्ने उनको भनाइ छ।
यसअघि उनले कहिल्यै घरको यत्तिका भारी काम गरेकी थिइनन्। ‘घरको काम भन्नु मात्र छ,’ उनले प्रस्ट्याउँदै भनिन्, ‘खाएका भाँडा माझ, लुगा एक टन धोऊ, तिनलाई ईस्त्री लगाऊ... काम त गनिसाध्य छैन। तर मलाई यी सबै काम गन मन पर्छ। मलाई मेरो लोग्ने खुसी पार्न मन पर्छ।’
‘मेरा यी सबै काम देखेर लार्स यति मख्ख पर्छ कि कहिलेकाहीँ त कृतज्ञतासमेत व्यक्त गर्छ,’ उनले मख्ख पर्दै भनिन्।
‘लार्स आफ्नी आमासँग हुर्किएको छोरो हो,’ क्याटरिनाले लोग्नेको बखान गर्दै भनिन्, ‘उसले बच्चादेखि नै आमालाई पकाउने र सफाईमा सघाउँदै आउँथ्यो। त्यसैले उसलाई यसको महŒव थाहा छ। मैले साह्रै मज्जाको लोग्ने पाएकी छु।’
‘कहिलेकाहीँ जिउमा सञ्चो हुँदैन,’ उनले थपिन्, ‘त्यस्तो बेलामा म ओछ्यानबाट उठ्नुअघि नै मेरा काम गरिसकेको हुन्छ। यस्तो बेलामा त्यस्तो लोग्नेप्रति विछट्टै मोह जाग्दोरहेछ !’
‘जागिरबाट आएको बेला लार्स निकै थकित हुन्छ तर जब मैले सजाएको टेबल र खान्की देख्छ, उसको मुहारमा बेग्लै चमक देखिन्छ र त्यही हेर्न म सधैँ लालायित हुन्छु,’ उनले भनिन्।
‘खासमा भन्ने हो भने एउटा लोग्ने मान्छे यस्ती स्वास्नी चाहन्छ, जसले उसलाई बिगारिदिई भन्ने भाव आओस् !’
क्याटरिनाले जस्तो सोच्ने शैली बेलायतमा ६० वर्षअघि नै प्रचलनबाट हराइसकेको छ। त्यसैले उनले आफ्नो यो ‘प्राचीन’ शैलीलाई ब्युँताएको महसुस गर्न घरको सजावट नै ८० वर्ष पुरानोमा परिवर्तन गरेकी छन्।
‘म सधैँ यस्तो जीवन चाहन्थेँ,’ उनले भनिन्, ‘त्यसैले म गलत समयमा जन्मिएँजस्तो लाग्थ्यो। ईश्वरले मैले खोजेजस्तै लोग्ने दिए र सोचेजस्तै जीवन बिताउन पाइरहेकी छु।’
सन् २०१८ को सेप्टेम्बरदेखि उनले यस्तै जीवन बिताइरहेकी हुन्।
लोग्नेलाई अफिस बिदा गरिसकेपछि उनी पुरानै शैलीमा १५ मिनेट शारीरिक अभ्यास गर्छिन्, जुन अभ्यास सन् १९३० को जमानामा हुने गथ्र्यो। यसका लागि उनले सन् १९५० ताका चल्तीमा रहेको पहिरन लगाउने गर्छिन्।
उनको घरभरि सन् १९५० का लुगाले भरिएका छन्।
यसका लागि उनले त्यो बेलाको फेसन डिजाइनिङ पनि सिकेकी छन्। कहिलेकाहीँ उनका साथीलाई त्यो बेलाको फेसन वा लुगा चाहियो भने उनले सिइदिने पनि गर्छिन्।
आफ्नो मूड उही बेलाको बनाउन अधिकांश समय सन् १९५० कै दशकका पुस्तकहरु अध्ययन गर्ने गर्छिन्। त्यति मात्र होइन, उनीकहाँ पुरानो रेकर्ड प्लेयर छ र उनले प्रायः फ्राङ्क सिनात्रा र डोरिस डेका सङ्गीत सुन्ने गर्छिन्।
५० को दशकमा स्ट्रिमिङ वा युट्युब हुने कुरै भएन। त्यसैले घरमा उनीहरुले इन्टरनेट राखेका छैनन्। टेलिभिजन पनि लुकाएर राखेका छन्। प्रायः टेलिभिजन हेर्दैनन्।
लार्सले दुवैका लागि पर्याप्त कमाउने हुनाले आफूले काम गर्नुपर्ने आवश्यकता नरहेको उनी बताउँछिन्। ‘लार्सले लामो समय अफिसमा बिताउँछन् र मेरो यो सपना पूरा गर्न सघाइरहेका छन् भने मैले उनलाई खन्याउनुपर्ने माया खन्याउनु परेन त ?’ उनी प्रश्न गर्छिन्।
धेरैले उनलाई लोग्नेद्वारा हेपिएकी भनेर कुरा नलगाउने पनि होइन तर यो उनको आफ्नै छनोट भएकाले त्यस्ता कुरामा ध्यान दिन्नन्।
रोचक त के छ भने सन् २०१५ जुलाई १५ मा उनीहरुले आफ्नो विवाह गर्दा सन् १९५० को सुपरहिट फिल्म ‘द साउन्ड अफ म्युजिक’को गीतमा सबैलाई नचाएका थिए। जुली एन्ड्र्यु अभिनित यो फिल्मका हरेक गीत उनलाई कण्ठस्थ छन्। ‘बालापनमा मैले यो गीत यति धेरै पटक सुनेँ कि अहिले हरेक लाइन कण्ठस्थ छ,’ चहकिँदै उनले भनिन्।
‘घरलाई शान्त र खुसी बनाउने एउटै उपाय छ, जे तपाईंलाई मन पर्दैन, अरुलाई पनि त्यो नगर्नुस्,’ उनले सुखसूत्र बताउँदै भनिन्, ‘यसो ग-यो भने तपाईंले दुःख पाउनु हुन्न। त्यस्तै मानिसहरु अहिले एकअर्कासँग संवाद गर्न छाडेका छन्। ५० को दशकमा त्यस्तो हुँदैनथ्यो।’
त्यो बेलाको कल्पना गर्दै उनले आफ्नो घरमा कहिल्यै पनि ताला लगाउँदिनन्। जसलाई आउन मन लागे सिधा घरभित्र छिर्न सक्छन्। के उसो भए उनलाई चोरीको डर छैन त ? ‘घरमा के नै हुन्छ र चोर्ने माल ?’ उनको जवाफ छ।
उनलाई यतिबेला चार सन्तान जन्माउने इच्छा छ। ‘जन्मिएका सबैलाई म आफ्नै तरिकाले ५० कै दशकको शैलीमा हुर्काउनेछु,’ उनले आफ्नो इच्छा व्यक्त गरिन्।
Leave A Comment