जंगली जीवन बाँच्दै

बुधबार, २६ साउन २०७३, १० : ३३ शुक्रवार , Kathmandu
जंगली जीवन बाँच्दै

विज्ञान–प्रविधिले संसारमा ठूलै परिवर्तन ल्याइदिएको छ । तर, पनि अर्जेन्टिनाका ७९ वर्षीय पेद्रो लुका यत्रो ठूलो परिवर्तनबारे बेखबरझैँ छन् । अहिले पनि उनी घुमन्ते शैलीको जंगली जीवन बाँचिरहेका छन् ।
अर्जेन्टिनाका पहाडमा फैलिएको जंगलमा पेद्रो विगत ४० वर्षदेखि बस्दै आएका छन् । उनका लागि आगोको अविष्कार अझसम्म भएकै छैन । भोक लाग्यो भने उनी जनावर मारेर काँचै मासु खान्छन् । प्यास लाग्यो भने नदी अथवा तलाउमा पुग्छन् र मुख गाडेर पानी पिउँछन् ।
अहिले उनले एउटा कुखुरा र बाख्रा पालेका छन्, तर खानका लागि होइन । बाख्रा र कुखुरा उनका साथी भएका छन् । उनको मनमौजी खालको जीवनशैली देखेर जंगल घुम्न आउने पर्यटकले उनका लागि लत्ताकपडा र खाना दिने गरेका छन् । उसो त सरकारले दिने पेन्सन बुझ्न उनी कहिलेकाहीँ मानव बस्तीमा पनि छिर्ने गर्छन् ।
जंगलको अग्लो पहाडमा रहेको गुफा उनको आवास हो । गुफासम्म पुग्ने हरेक दिन उनले तीन घण्टा पहाड चढ्नुपर्छ । उनको रोचक जीवनशैलीको चर्चा अर्जेन्टिनाका पत्रपत्रिकामा भइरहने गर्छ ।  

 

Leave A Comment