दाेहाेरीमा गाउने कुरा लुकाए

बुधबार, ०६ कार्तिक २०७६, ०१ : २७ शुक्रवार
दाेहाेरीमा गाउने कुरा लुकाए

दर्जनौं दोहोरीसाँझमा गीत गाइसकेकी प्रमिला राईले अहिले गोंगबुमा रहेको ‘सुनकोसी दोहोरीसाँझ’ मा गाइरहेकी थिइन्। उनीसँग भोला अधिकारीले गरेको रात्रिकालीन कुराकानी :

दोहोरी क्षेत्रमा लागेको १६ वर्ष भयो। पहिला पुतलीसडक ओरालोमा फुलबारी दोहोरीसाँझ थियो। त्यहाँ २०६० सालबाट गाउन सुरु गरेकी हुँ। पूर्वको खोटाङको मान्छे मलाई दोहोरी भन्ने नै थाहा थिएन। म आधुनिक गायनमा राम्रो थिएँ। रेडियो नेपालको खड्ग दाइ काम गर्नुहुन्छ। रेडियो नेपालमा स्वर परीक्षा दिन जाँदा भेट भएको थियो। खड्ग दाइले आधुनिक गीत धेरै राम्रो गाउनु हँुदो रहेछ। उहाँले दोहोरीसाँझमा गाउनुहुन्छ भन्नुभयो। दोहोरीसाँझ कस्तो होला भन्ने नै मलाई थाहा थिएन। त्यसपछि म फुलबारी दोहोरीसाँझमा प्रवेश गरेकी हुँ। त्यो दोहोरीसाँझ विभिन्न झगडा भइरहेकै कारण बन्द भयो। त्यो बेलादेखि अहिलेसम्म मैले दर्जनभन्दा बढी दोहोरीसाँझमा गीत गाइसकेकी छु

पूर्वेली भनेर हेपिएँ
मलाई अहिले पूर्वेली गायिका कसैले पनि भन्दैनन्। तर म दोहोरीसाँझमा प्रवेश गरेँ। त्यो बेला भने मलाई निकै गाह्रो भएको थियो। म खोटाङको मान्छे दोहोरी नबुझेको भएर होला गाउन जानिनँ। अहिलेका चलेका गायकगायिका नै हो त्यो बेला मलाई हेला गरेका कलाकारहरु। पछिपछि त मैले अरुको भन्दा राम्रो दोहोरी गाउन थालेँ। मलाई हेप्ने कलाकारहरु र दोहोरी सञ्चालकले हेला गर्न नहुने रहेछ भनेर पछुुतो मानेको पनि सुनियो।

दोहोरीसाँझमा हरेक दिन झगडा
दोहोरीसाँझमा धेरै जसो झगडा हुने ग-थ्यो। हामी कलाकारलाई त अप्ठ्यारो परेन तर काटाकाटै पर्ने ग-थ्यो। अहिले त्यस्तो छैन। मैले दोहोरीसाँझ सुरुवात गर्दा एकदमै भिडन्त हुन्थ्यो। फुलबारी दोहोरी चलाउने पनि गुण्डा जस्तै थिए। त्यो दोहोरीसाँभका साहु पनि धेरै थिए। धेरै साहु भएकैले एकाएक झगडा परिरहन्थ्यो।

गेष्टहरु रक्सी पिउन भनेर आएका थिए। हात हतियारसहित भित्र छिरेका हुन्थे के निहुँमा झगडा गर्थे थाहै हुन्थेन। पुलिस नआउँदासम्म साम्य नै हुँदैनथ्यो। यी कारणले गर्दा दोहोरीसाँझ एकाएक  बन्द भयो। त्यहाँ काम गर्दा मैले तलब नै पाइनँ।

पैसाको मामिलामा कुरा गर्ने हो भने पाइँदैन थियो। अहिले पो संघसंस्था छ। त्यो बेला थिएन। साहुले पैसा दिएन भने पाइँदैन थियो। साहुको अडरमा बस्नुपर्ने हुन्थ्यो।  निकै गाह्रो थियो।

डरले घरमा सुनाइनँ
मैले घरमा दोहोरीसाँझमा गीत गाउँछु भनेर सुनाइनँ। दोहोरीसाँझ भनेपछि मान्छेको हेर्ने नजर पनि फरक थियो। मलाई घरमा गाली गर्नुहुन्छ कि भन्ने लागेर निकै  समयसम्म सुनाइनँ। पछिपछि दोहोरीसाँझ यस्तो हो भनेर बुबा आमालाई भने पछि परिवारले राम्रै रहेछ भन्न थाल्नुभयो र मैले यसलाई निरन्तरता दिएकी हुँ। दोहोरीसाँझमा गीत गाउने कुरा मैले घरमा धेरैे समयसम्म लुकाएँ। पछि आफैँले दोहोरीसाँझमा गीत गाउछु भनेर सुनाएँ। यो दोहोरी बन्द भएपछि सामाखुसीमा लेकाली दोहोरीसाँझ थियो। सबै कलाकारहरू यता  सरियो। यहाँ लेटर केसी भन्ने एकजना दाइ हुनुहुन्थ्यो। उहाँले ‘लभकुस’ भन्ने नेपाली फिल्म खेल्नुभएको थियो। उहाँ नै यसको सञ्चालक हुनुहुन्थ्यो। यहाँ तलब त पाइयो तर झगडा भएकै कारण यो पनि बन्द भयो।

यहाँ काम गर्दा धारिलो हतियार बोकेर आउनेहरु धेरै हुन्थे। अनि निहुँ खोज्यो कि बजाइ हाल्थे। यसै कारण झगडा उत्पन्न हुन्थ्यो। अनि धेरै झगडा हुने भएपछि अलि अलि आउने गेष्ट पनि आउन छोडे अनि बन्द भइहाल्यो।

तलब दुई हजार
यो बेलामा महिला गायिकाको तलब गायकको भन्दा अलिक बढी नै हुन्थ्यो। मैले २ हजार तलबमा काम गरेकी थिएँ। यसले खान लाउन पुग्दैनथ्यो। घरकी एक्ली छोरी भएका कारण आमा बुवाले वर्षमा ५ हजार पठाइदिनुहुन्थ्यो। त्यसले भरथेग गर्थेँ। अहिले पनि अविवाहिता नै छु। तर अहिले बाबा आमाले पैसा पठाउनु पर्दैन। निकै कठिन अवस्थाले गुजारा चलाइयो त्यो बेला। रेडियो नेपालमा आधुनिक गीत गाउन आएकी म दोहोरीसाँझमा फसेँ।

अन्तरजातीयका कारण छुटियौँ
मेरो केही समय अघि अन्तर जातीय विवाह भएको थियो। उहाँ दोहोरी क्षेत्रको भने होइन। उहाँ गुरुङ म राई भएका कारण मेरो घरपरिवारले स्विकार्नु भएन। मेरो बाबा ममीले मेरो छोरीलाई हाम्रै जात मिल्नेसँग दिने भन्नु भयो। उतापट्टि त कुनै आपत्ति थिएन। मेरो बाबा ममीकै कारण हामी छुटिन बाध्य भयौँ। अहिले उहाँको अर्कोसँग विवाह भइसक्यो। तर मैले अर्को विवाह गर्ने सोच बनाएकी छैन।

Leave A Comment