चिहानबाट चिच्याउँदा

शनिबार, ०९ कार्तिक २०७६, ०१ : ३३ शुक्रवार
चिहानबाट चिच्याउँदा

गएको साता आयरल्यान्डमा उदेक भयो। चिहानमा गाडिएको मानिस चिच्याउन थाल्यो। यसपछि त केही मानिसहरुको भागाभाग भयो भने केही मानिसहरु चिहान खोतल्न थाले।

चिहानमा भएका मानिस चिच्याउँदै भन्न थाले, ‘मलाई यो अँध्यारोबाट निकाल मुर्दारहरु हो। म ज्यूँदैछु।’ यसरी चिच्याउने अरु कोही होइन, से ब्राडली थिए। उनलाई मृत ठानेर गएको अक्टोबर १२ मा उनको परिवारले किल्केनी भन्ने ठाउँमा गाडिएको थियो।

‘कहाँ छु म ? चिहानमा कोही पूजारी छ ?’ चिहानबाट आवाज आउन थाल्यो, ‘मेरो नाम से हो। म चिहानको बाकसभित्र छु।’ यसपछि सेले गीत गाउन थाले, ‘हेल्लो अगेन हेल्लो, हेल्लो आई जस्ट कल्ड टु से गुडबाई !’

यसरी चिहानमा चिच्याउँदै गाउने ६२ वर्षे आइरिस डिफेन्स फोर्सका सेना थिए। उनलाई अन्तिम बिदाई गर्नका लागि परिवार, साथीभाइ र अन्य आएका थिए।

यी आवाज आउँदा उनलाई चिन्ने उनको परिवारका सदस्यहरु भने चिहान खोतल्ने कुनै योजनामा थिएनन्। भाग्नेहरु र चिहान खोतल्न चासो दिनेहरुलाई उनीहरुले सम्झाउन थाले।

खासमा भएको के थियो भने चिहानमा आफ्नो बिदाई यस्तै होहल्ला र आश्चर्यमिश्रित होस् भन्ने सेले चाहेका थिए। उनी चाहन्थे, आफ्नो बिदाबारी हुँदा कोही नरोओस्। मर्दा पनि सबैलाई हँसाउँदै जान पाइयोस् !

सेकी छोरी एन्ड्रियाले भनिन्, ‘मेरा बा तीन वर्षदेखि बिरामी हुनुहुन्थ्यो। अस्ति ८ अक्टोबरमा परमधाम हुनुभयो। गएको वर्षदेखि नै म दुनियाँलाई आश्चर्यमा पार्ने गरी बिदा लिन्छु भन्दै हुनुहुन्थ्यो। यस्तो बदमासी गर्नलाई रहेछ !’

उनले स्काई न्युजलाई भनिन्, ‘उहाँ सधैँ हँसिमजाक रुचाउने व्यक्तिका रुपमा मैले चिनेँ र जाने बेला पनि ठट्टा छाड्न रुचाउनु भएन। उहाँले आफ्नो जीवन सधैँ ‘लार्जर द्यान लाइफ’ बाँच्नुभयो।’

चिहानभित्रबाट आवाज आउँदा शान्त रहने घरका सीमित केही सदस्यहरु मात्र जानकार थिए। चिहानबाट ठट्टा गरौँ भन्ने बाउको सपनालाई छोरा–छोरी र केही नातिनातिनाले सफल पारेका थिए।

सेकी दिदीले त जब भाइ चिहानमा चिच्याउन थालेको सुनिन्, उनको झण्डै मुटुको व्यथा बल्झियो। जब पछि बुझिन्, ‘कस्तो ठट्टा गरेको’ भन्दै रिसाएर उधुम गरिन्।

Leave A Comment