राष्ट्रपतिको उड्ने शौख

शुक्रबार, २२ कार्तिक २०७६, १२ : ५६ शुक्रवार
राष्ट्रपतिको उड्ने शौख

व्यक्तिको शौख पनि अनेक ! अब हाम्रै राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै हेरौँ न। कहिले उनी आफू सिंहासनमा बसेसरी आकर्षक कुर्सीमा बसेर दशैँका टीकाधारीलाई सामान्य पिर्का पनि नराखी टीका लगाइदिन्छिन् त कहिले १८ करोडको गाडी चढ्ने शौख गर्छिन्। एकताका त  राष्ट्रपति कार्यालयसँगै रहेको प्रहरी प्रशिक्षण काभ्रेको पनौतीमा सारेर राष्ट्रपति कार्यालय क्षेत्रमै हेलिप्याड बनाउने उनको शौख बाहिरिएको थियो।

कति धैर्यता गर्नु ? आफ्नो शौख त पूरा गर्नै प-यो नि ! आफ्नो गोजीको पैसा खर्च हुने भए पो डर ! जनताको करबाट चलेको राज्यको स्रोत–साधन त उपयोग गर्नै प-यो नि ! राष्ट्रपतिको हेलिकप्टर चढ्ने शौख कसले रोकोस्। गाडीमा हिँड्दा सडक जाम हुन्छ भन्ने बहानामा हेलिकप्टरबाट उडेर शितल निवासबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुगिन्। राष्ट्रपति म्यानमार र जापान जाने क्रममा असोज अन्तिम सातामा उडेर विमानस्थल पुगेकी हुन्। यसरी उड्नुमा क्या आनन्द !

उता बिदाई गर्न पुगेकाहरु भने गाडीमै विमानस्थल पुगेछन्। शौख नै उड्ने भएपछि कहाँ गुड्न मन लागोस्। दुवै देशको भ्रमण पूरा गरेर फर्किएकी राष्ट्रपति भण्डारीले फर्कँदा भने विमानस्थलमा ओर्लिएपछि सडकमार्गबाट गाडीमै शितल निवास पुगिछन्। हुन त उनी हवाइजहाज चढेर उड्ने शौख पूरा भएर गुड्ने बाटो रोजेकी होलिन् !

तर ख्याल गर्नैपर्ने कुरा के छ भने राष्ट्रपतिज्यू, ‘नेपालका कयौँ दुर्गम भेगका नागरिकले सडक र थोत्रा गाडीको अभावमा स्वास्थ्य समस्या भएर समयमै उपचार नपाउँदा ज्यानै गुमाउनु परेको तीतो यथार्थ छ।’ डाडु पन्युनै तपाइँहरुको हातममा भएपछि कसको के लाग्छ र ! यसको अर्थ हेलिकप्टरै चढ्न हुन्न भन्ने त हैन। तर गुडेरै जान सम्भव हुने ठाउँमा उडेर जानुपर्ने तपाईंको कस्तो शौख ! यसमा विचार पो प-याउने हो कि ?

Leave A Comment