जुवाले उकासिएका बले

सोमबार, २५ कार्तिक २०७६, ०१ : ४० शुक्रवार
जुवाले उकासिएका बले

सर्च इन्जिन गुगलमा ‘बले’ भनेर सर्च गर्दा अहिले गुण्डा नाइके देखाउँदैन, हास्य सिरियल ‘भद्रगोल’का एक पात्र ‘बले’ देखाउँछ। चार वर्ष अगाडिसम्म भने अवस्था भिन्न थियो। चार वर्षअगाडि बले सर्च गर्दा बलराम सापकोटाको हालिमुहाली थियो, सर्च इन्जिनमा जो आपराधिक दुनियाँमा बलराम भन्दा ‘बले’ उपनामले बढी परिचित थिए।

यो चार वर्षको बीचमा बलराम सापकोटा उर्फ बले सर्च इन्जिनबाट मात्र गायब भएनन्, अपराधबाट समेत गायब भए। प्रायः प्रहरीले निकालिरहने गुण्डा सूचीमा उनको नाम छुट्दैनथ्यो तर पछि सुनिनै छाड्यो। एकाएक यिनै बले तिहारअगाडि पुनः चर्चामा आए जब महानगरीय प्रहरी वृत्त महाराजगञ्जले आफ्नो क्षेत्रमा चलिरहेको मिनी क्यासिनोमा छापा मा-यो।

प्रहरीले जुवा खालबाट दुई करोड ६७ लाख नगदसँगै हाई प्रोफाइल २५ जुवाडे पक्राउ गरेको थियो। जसमध्ये एक यिनै बलराम सापकोटा उर्फ बलेको नाम पनि थियो। एकाएक हराएका बले पुनः चर्चामा आए। उनले अपराध कर्मबाट कमाएको अर्को टाइटल क्यासिनो किङ फेरि चल्तीमा आयो।

काभ्रे रोशी खोला गाउँपालिकाका बलराम सापकोटालाई क्यासिनो किङ र बलेको उपनाम यही काठमाडौंले जुराइदिएको हो। अन्नपूर्ण होटलमा सामान्य काम गर्दा बलराम सापकोटाको उपनाम बले बन्यो। अनि त्यही होटलको क्यासिनोले उनलाई क्यासिनो किङको उपनाम पनि जोडिदियो।

झैँझगडा, कुटपिट, अवैध हतियार हुँदै क्यासिनोको लतमा फँसेका नेपालीलाई चर्को ब्याजदरमा पैसा लगानी गरेर अपराध दुनियाँमा प्रभाव बढाउँदै लगेका थिए बलेले। काठमाडौंको क्यासिनोमा सशस्त्र द्वन्द्वको समाप्तिसँगै शान्तिपूर्ण राजनीतिमा आएको माओवादीको मजदुर संगठनको प्रभाव बढेसँगै प्रतिबन्ध गरिएको नेपाली नागरिकको प्रवेश खुकुलो भयो।

भ्रष्ट प्रहरी कर्मचारी र माओवादी मजदुर संगठनको सेटिङमा सामान्य आय भएका नेपालीले समेत सहजै क्यासिनोमा गएर जुवा खेल्न थाले। जुवा हार्दै जाँदा हारेको पैसा उठाउने लोभमा मौखिक वचनमा ऋण दिने बलेहरुको उदय भयो।

उनी अन्नपूर्ण क्यासिनोमा हारेका जुवाडेलाई मौखिक धितोमा ऋण दिन्थे एक लाखको दिनको १० हजार ब्याजदरमा। जुवाको तलमा फँसेकाले लिएको ऋण पनि हारेपछि बले भ्रष्ट प्रहरी र आफ्नो समूहका केटा प्रयोग गरेर घर सम्पत्ति नै लिलाम गरिदिन्थे, अपहरण गरेर घरजग्गा जबर्जस्ती आफ्नो नाममा पास गराउँथे। उनको प्रपञ्चमा परेर काठमाडौंमा कंगाल भएका करोडपतिहरुको संख्या मात्रै सय बढी फेला परेका थिए। 

क्यासिनोको चक्रीय ब्याजमा लगानीले बलेको आर्थिक हैसियत उकासिएसँगै उनको प्रभाव पनि बढ्दै गयो। तत्कालीन अन्नपूर्ण क्यासिनोसँगै काठमाडौंका अन्य क्यासिनोमा पनि उनको प्रभाव बढ्यो। दिएको ऋण र ब्याज उठाउन समूह नै परिचालन त गर्थे नै क्यासिनोमा टेबलै किनेर आफैं जुवासमेत खेलाउन थाले। अपराध कर्मबाट उनको आर्थिक हैसियत यसरी उकासियो कि उनी काभ्रेको गाउँ जाँदा पनि हेलिकप्टर चार्टर्ड गरेर जान थालेका थिए।

क्यासिनोमा नेपालीको खुला प्रवेशले अपराध थामिनसक्नु गरी बढाएपछि सरकारले कडाई शुरु ग-यो। क्यासिनो सञ्चालकले सरकारलाई बुझाउनुपर्ने रोयल्टीसमेत बुझाएका थिएनन्। नेपाली प्रवेशका कडाईसँगै रोयल्टीको बक्यौता उठाउन सरकार कस्सिएसँगै राकेश बाधवा लगायतका क्यासिनो सञ्चालकहरु फरार भए। क्यासिनोको अपैध कारोबार सुक्यो।

यता क्यासिनोमा अवैध लगानी गर्नेविरुद्ध प्रहरीसमेत सक्रिय हुन थालेपछि चार वर्ष अगाडि बलराम सापकोटा उर्फ बले नेपाल छाडेर भारततिर लागे र सिक्किममा खुलेको क्यासिनोलाई अड्डा बनाएर बसे। उनी नेपालमा भन्दा बढी भारत, बाङ्लादेश र सिक्किमतिरै बस्न थालेपछि उनको चर्चा कम हुँदै गयो। प्रहरीले खोज्न पनि छाड्यो र बले ओझेलमा परे।

एकाएक उनको उदय पुनः जुवाखालबाटै भयो तिहार अगाडि। वैध जुवाखाल क्यासिनो सुकेलगत्तै हराएका बले अवैध जुवाखालमा प्रहरीको छापा परेलगत्तै पुनः चर्चामा आए।

प्रधानमन्त्री ओलीका प्रिय
यसबीचमा राजनीतिक संरक्षण खोज्दै बले नेपाली कांग्रेसतिर सक्रिय हुन नखोजेका हैनन् तर सकेनन्। उनी काभ्रे कांग्रेसको कोषाध्यक्षमा चुनावमा उठेर पराजित भएपछि तत्कालीन एमालेमा सक्रिय भएका थिए। एमालेमा रहँदा वर्तमान प्रधानमन्त्री केपी ओलीसँग उनले पारिवारिक सम्बन्ध बनाउन सफल भएका थिए। बलराम सापकोटा उर्फ बलेको फेसबुक अकाउन्टमा अहिले पनि उनका छोराछोरीलाई अँगालो मारेर ओलीले खिचाएको तस्बिर छ।

व्यवसायी अवतार
वैशाखतिरको मूलधारका पत्रिकामा एउटा समाचार खुब छायो– ‘झापाको काँकडभिट्टामा अन्तर्राष्ट्रिय स्तरको पाँच तारे होटल खुल्दै। समाचारअनुसार झापाको काँकडभिट्टामा ‘मेची क्राउन प्लाजा’ होटल बन्दै थियो, जसको लगानी तीन अर्ब छ। एक सय ४ रोपनीमा क्षेत्रमा फैलिने होटल परिसरमा हेल्थ क्लबसँगै क्यासिनो भेनससमेत हुनेछ। हेलिप्याड, डिस्कोथेक सहितको होटलमा कोठा मात्र १ सय २५ वटा हुनेछन्। केही समाचारमा सञ्चालक पवित्रकुमार कार्कीलाई उद्धृत गरिएको थियो, केहीमा निर्देशक बलराम सापकोटा।

समाचारमा आएका बलराम सापकोटा उनै बले थिए। यस बीचमा काठमाडौंबाट एकाएक गायब भएर भूमिगत बसेका उनी तीन अर्ब लगानीको होटलको निर्देशकको रुपमा मात्र उदाएनन्, गुण्डा नाइके बले भनेर छापिने मूलधारका पत्रिकामा होटलका निर्देशक बलराम सापकोटा भन्दै नाम छाप्नसमेत सफल भए।

उनी निर्देशक रहेको भेगास सिटी इन्टरटेन्मेन्टले मेची क्राउनका क्यासिनो भेगाससमेत चलाउने तयारी गरिरहेको छ। क्यासिनो चलाउन भारतीय ग्रुप गोल्डेन क्यासिनो ग्रुपलाई बलेले सहमत गराएका थिए। होटलका अर्का लगानीकर्ता पवित्रकुमार कार्की पनि उनीसँगै अवैध जुवा अखडामा पक्राउ परेका थिए। भेगासका निर्देशक बलराम र जुवा अखडामा पक्राउ परेका बले एकै हुन् भन्ने देखिएपछि जुवाखालको साम्राज्यबाट उनले कमाएको अकुत सम्पत्तिको लेखाजोखा देखियो।

उनी पक्राउ परेपछि सम्पत्ति शुद्धीकरण विभाग उनीसँगै जुवा अखडामा पक्राउ परेका २५ जनाकै सम्पत्तिको स्रोतको खोजबिनमा जुटेको छ। बलेबारे विभागले २०७० ताकै सम्पत्ति शुद्धीकरणमा अनुसन्धान शुरु गरेको दाबी गरेको थियो तर त्यो अनुसन्धान गर्भमै तुहियो। उनीविरुद्ध मुद्दा प्रक्रिया अगाडि बढाएन विभागले। अहिले जुवा खालमा पुनः पक्राउ परेपछि विभाग तातेको छ। तर हिजोको नजिर हेर्दा जुवा खालमा पक्राउ परेको प्रसंग सेलाएसँगै बलेको सम्पत्तिको खोजबिन पनि सेलाउने सम्भावना उत्तिकै छ।

Leave A Comment