१३ औं साग : रंगशालाले बढायो अन्योल

शनिबार, ३० कार्तिक २०७६, ११ : ४० शुक्रवार
१३ औं साग : रंगशालाले बढायो अन्योल

दशरथ रंगशालाको पुनर्निर्माण सम्पन्न हुन्छ या हुन्न भन्ने अन्योल कायमै रहे पनि नेपालमा मंसिर १५ देखि २४ गतेसम्म १३ औं दक्षिण एसियाली खेलकुद (साग)  हुने पक्का भएको छ। यो भन्दा अगाडि २ पटक सागको मिति सरिसकेको छ। नेपालको फितलो तयारी र कमजोर पूर्वाधारका कारण यो पालि पनि नहुने हो कि भन्ने आशंकाका बीच नेपालमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बोर्ड बैठकले तोकिएकै मितिमा साग आयोजनाको निर्णय गरेपछि प्रतियोगिता पक्का भएको हो।

प्रतियोगिता पक्का भए पनि त्यो बेलासम्म दशरथ रंगशालाको पुनर्निर्माण सम्पन्न हुने हो या हैन भन्ने अन्योल भने कायमै छ। रंगशालाको पुनर्निर्माण सम्पन्न नहुँदा त्यहाँ हुने भनिएको विश्वकप छनोटको दोस्रो चरणअन्तर्गतको नेपाल र कुबेतबीच हुनुपर्ने खेल हुन सकेन।

अहिले खेलकुद मन्त्रालय लगायतका सरकारी निकाय रंगशाला पुनर्निर्माण सम्पन्न गर्न खटिएका त छन् तर मुख्य प्याराफिटमा राख्ने छत अहिलेसम्म चीनबाट आएको छैन। भूकम्पबाट क्षति पुगेको रंगशाला चीन सरकारले पुनर्निर्माण गरिरहेको हो। साग अन्तर्गतका खेलहरु काठमाडौं, ललिपुर, पोखरा र जनकपुरमा आयोजना हुँदैछन्।

कुन खेल कहाँ
प्रतियोगिताअन्तर्गतको आर्चरी, ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, ह्यान्डबल, प्याराग्लाइडिङ, ट्रायथलन, विच भलिबल, भारोत्तोलन  पोखरा रंगशालामा आयोजना हुँदैछ। कुस्ती जनकपुरमा आयोजना हुनेछ भने  एथ्लेटिक्स, बास्केटबल, थ्री बाई थ्री बास्केटबल, बक्सिङ, साइक्लिङ, पुरुष क्रिकेट, फेन्सिङ , पुरुष फुटबल, गल्फ, जुडो, कराँते, कबड्डी , खोखो, सुटिङ, पौडी,  स्क्वास, टेबुलटेनिस, टेनिस, तेक्वान्दो, महिला र पुरुष भलिबल र उसु काठमाडौं र ललितपुरमा आयोजना हुँदैछ।

सबै खेलमा नेपाल मात्र
सागमा समावेश सबै खेलमा आयोजक मुलुकसमेत रहेको नेपालले मात्र भाग लिने भएको छ। सागमा २७ खेलमा प्रतियोगिता हुँदैछ। त्यसमध्ये भारतले १७ खेलमा मात्र भाग लिने भएको छ।   भारतले क्रिकेटमा समेत भाग नलिने भएको छ। कम्तीमा चार मुलुक सहभागी हुनुपर्नेमा नेपाल मात्र समावेश भएकाले प्याराग्लाइडिङ खेल नहुने सम्भावना बढेको छ। ट्रायथलन खेलको अवस्था पनि उस्तै छ।

नेपालपछि बंगलादेश र श्रीलंका २५ खेलमा सहभागिता हुने पक्का भएको छ। पाकिस्तानले १८ र भुटानले १४ खेलमा सहभागिता हुँदैछन्। माल्दिभ्सले सबैभन्दा कम ११ खेलमा सहभागिता जनाउन लागेको छ।

Leave A Comment