हत्यारो नेपोलियन विज्ञ

शनिबार, ३० कार्तिक २०७६, ०१ : ०५ शुक्रवार
हत्यारो नेपोलियन विज्ञ

६३ वर्षे ओलेग सोकोलोभ इतिहासका लेक्चरर थिए। उनको कक्षामा विद्यार्थीको भिड हुन्थ्यो। जब उनी नेपोलियन पढाउन थाल्थे, उनले हाल्ने कथामा विद्यार्थीहरु स्वयं नेपोलियन बोनापार्टका अघिल्तिर उभिएझैँ मान्थे।

हुन पनि उनी पढाउने मात्र काम गर्दैनथे, नेपोलियनको विषय आउनेबित्तिकै स्वयं नेपोलियनको भेषमा कक्षामा पुग्थे। उनले अभिनयसहित नेपोलियनको हाउभाउ देखाउँदा विद्यार्थी मुग्ध हुन्थे।

कहिलेकाहीँ कक्षाभित्र अनुशासनहीन विद्यार्थीसँग उनी यति क्रुद्ध हुन्थे कि फ्रान्सेली भाषामा चिच्याउँदै गाली गर्थे, जसरी नेपोलियन रिसाउँथे !

तर उनको ठूलो समस्या भने उनको रक्सी थियो। जुन बेला पनि रक्सीले मातेर कक्षा पुगिरहेको हुन्थे। उनका बारेमा कयौँ विद्यार्थीले गुनासो नगरेका होइनन् तर स्टार प्राध्यापक यो पात्तिएको बूढो यस्तै हो भनेर त्यत्तिकै छाडिदिए।

हुन पनि उनको नेपोलियन विज्ञताका कारण फ्रान्सेली राष्ट्रपतिले उनलाई उच्च सम्मान दिएका थिए। सन् २००३ मा ज्याक सिराकले उनलाई विदेशी भए पनि ओलेगलाई फ्रान्सेलीले समेत विरलै पाउने सम्मान पाएका थिए।

यस्तै विज्ञताका कारण इतिहासकी विद्यार्थी २४ वर्षीया एनेस्टासिया येस्चेन्को यी ६३ वर्षे बूढो ओलेगसँग नजिकिएकी थिइन्। यी दुवै यति मिल्थे कि धेरैले आरिस गर्थे तर पछिल्लो समय यो जोडीबीच बारम्बार झगडा परिरहेको थियो।

खासमा एनेस्टासियाले नयाँ केटो फेला पारेको सन्दर्भलाई लिएर ओलेग असन्तुष्ट थिए। यो असन्तुष्टि यति बढ्यो कि एनेस्टासियाको कपाल झ्याप्प समाते र भित्तामा ठोकिदिए। कलिलो टाउकोमा टुटुल्को मात्र उठेन, भल्भली रगतसमेत बग्न थाल्यो। बेहोस प्रेमिकालाई अब के गर्ने होला भनेर अत्तालिएपछि उनले बेस्कन रक्सी पिए। ओलेगले यसपछि आफ्नी प्रेमिकाको टाउको गिँडे, हात–गोडा काटे र पोको पारे। यसपछि उनी शहरको मध्यभागमा रहेको नदी मोइकामा शव लिएर गए। शव फ्याँक्ने क्रममा उनी स्वयं पनि पानीमा डुबे र कयौँ घुट्को पानी पिए।

यसपछि ओलेग आफ्नो कोठा गए। नेपोलियनको भेषमा तम्तयार भएर नजिकैको प्रख्यात पिटर एन्ड पल फोट्रेस पुगे। यहीँ उनले आत्महत्या गर्ने निधो गरेका थिए तर उनको योजना सफल हुन सकेन।

यहीबेला प्रहरीले उनलाई पक्राउ ग-यो। ‘उनले आफ्नो अपराध कबुलेका छन्,’ सोकोलोभका वकिल अलेक्जेन्डर पोचुएभले भने, ‘आफ्नो कर्मप्रति उनले पछुतो मात्र मानेका छैनन्, प्रहरीलाई सघाउनुपर्ने सबै चिजमा सहमति जनाएका छन्।’

उनी कति प्रख्यात थिए भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका इतिहास सल्लाहकार तथा रुसी अधिकारीहरुसँग नजिकका व्यक्तिमध्ये गनिन्थे।

जुन प्रेमिकालाई उनले हत्या गरेका थिए, उनीसँग मिलेर केही पुस्तकसमेत लेखेका थिए। पछिल्लो समय उनी मानसिक रोगीसमेत भएको केहीको भनाइ छ।
उनले कयौँ ऐतिहासिक फिल्ममा कन्सल्टेन्सीसमेत गरेका छन्।

एनेस्टेसियालाई उनी ‘प्यारी जोसेफाइन’ भनेर सम्बोधन गर्थे भने ओलेग आफूलाई ‘सायर’ (सर) सम्बोधन गरेको रुचाउँथे।

एनेस्टेसियासँगै अध्ययन गरेकी भसिली कुनिनले आफ्ना प्राध्यापक निकै प्रतिभाशाली भए पनि व्यवहार उति गतिलो नभएको बताइन्। ‘हामीले कयौँ चोटि विश्वविद्यालय प्रशासनमा गुनासो गरेका हौँ,’ उनले भनिन्, ‘यी बूढाको मति ठीक छैन, रक्सी खान्छन् र विद्यार्थीलाई नराम्रो व्यवहार गर्छन् तर प्रशासनले हामीले भनेको सुनेन। आज आएर यस्तो खबर सुन्नु पर्दा दिक्क लागेर आयो।’

सन् २००८ मा पनि ओलेग सोकोलोभले अर्की एक जना विद्यार्थीलाई तातो ईस्त्रीले डामिदिने धम्की दिएको र पछि तिनको हत्या गरेको आरोप लागेको थियो। सोबारे उनीमाथि कुनै पनि अनुसन्धान भएको थिएन।

यस घटनापछि आठ सय विद्यार्थीले विश्वविद्यालय प्रशासनलाई पत्र लेखी ओलेगमाथि कार्बाहीका लागि अनुरोध गरेका थिए।

‘त्यो बेला पनि नहुनुपर्ने घटना घटेको थियो,’ सेन्ट पिटर्सबर्ग स्टेट युनिभर्सिटीका एक लेक्चररले नाम नखुलाउने शर्तमा भने, ‘अब अहिले पनि यस्तो राक्षसी काम दोहोरिएको सुन्नु प-यो।’

यस घटनापछि अब ओलेगले फ्रान्सबाट पाएको सर्वोच्च सम्मान फिर्ता हुने हो कि भनेर केहीले सोधिरहेका छन्। यसका बारेमा अरुले निर्णय गरेर हुँदैन। स्वयं फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोँले नै निर्णय गर्नुपर्छ।

ओलेग सोकोलोभ स्थानीय रुसी मिलिटरी हिस्टोरिकल सोसाइटीका वरिष्ठ सदस्य हुन्। यो संस्थामा सांस्कृतिक मन्त्री भ्लादिमिर मेडिन्स्की अध्यक्ष हुने गर्छन्। यसबारेमा सोसाइटीकी प्रवक्ताको धारणा सोध्दा उनले यस्तो विवादास्पद विषयमा अहिले नै बोल्न नमिल्ने भनेर पन्छिइन्।

फ्रान्सको लियोनस्थित अर्को संस्था इन्स्टिच्युट अफ सोसाल साइन्स, इकोनमिक्स एन्ड पोलिटिक्सले भने ओलेगलाई पदबाट तत्काल हटाइएको वक्तव्य जारी गरेको छ।

Leave A Comment