शिक्षकलाई सुझाव : विद्यार्थीलाई कसरी सिकाउने ?

सोमबार, ०२ मङि्सर २०७६, ०१ : १४ शुक्रवार
शिक्षकलाई सुझाव : विद्यार्थीलाई कसरी सिकाउने ?

गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकको मुख्य भूमिका रहेको हुन्छ। बच्चा बेलादेखि नै कस्तो शिक्षकले सिकाएको छ कसरी सिकाएको छ भन्ने कुराले विद्यार्थीमा प्रत्यक्ष प्रभाव पछिसम्म पारेको हुन्छ। त्यसकारण प्राथमिक तहदेखि नै सिर्जनात्मक, विषयवस्तुको गहिराइलाई बुझाउने तरिकाले सिकाउन शिक्षकले ध्यान दिन जरुरी छ।

उद्देश्यमा प्रस्ट हुनुस्
जसरी यात्रामा जान लागेको बसको चालकलाई गन्तव्यसम्मको जानकार हुन्छ ठ्याक्कै शिक्षक पनि त्यस्तै हो। पढाउने विषय, विद्यार्थीको सिक्ने क्षमता, तहमा एकदमै ध्यान दिन जरुरी छ। आफूले पढाउने विद्यार्थीको उमेरअनुसार उनीहरुलाई सिकाउने कुरामा प्रस्ट हुन जरुरी छ। एकदेखि पाँचसम्म ६ देखि ८ र ९ देखि १२ सम्मको विद्यार्थीलाई सिकाउने तरिका र उनीहरुले बुझ्ने क्षमता फरक हुन सक्छ। पढाउने शिक्षकले पाठ्यक्रम सिर्जनात्मक बनाउन जरुरी छ।

कक्षालाई रमाइलो बनाउनुस्
शिक्षकले हरेक दिनको कक्षामा प्रमुख कुन विषयवस्तुलाई दिने भनेर केन्द्रित गर्नु छँदै छ। विषयवस्तुलाई प्रस्तुत गर्ने शैली पनि प्रयोगात्मक र झ्याउ नलाग्ने गरी बनाउनुपर्छ। त्यसका लागि विद्यार्थीलाई स्वयं प्रत्यक्ष सहभागी गराएर रमाइलो बनाउन सकिन्छ।

तत्कालको परिणाम नहेर्नुस्
पढाउने बेला तत्काल परिणाम नहेर्नुस्। तपाईंले बनाएको लेसन प्लानले तत्कालै परिणाम निकाल्छ भन्ने पनि हुँदैन। कहिलेकाहीँ सत् प्रतिशत काम गर्दा पनि नतिजा आफूले सोचे जस्तो नआउन सक्छ। बरु समय लागोस् तर जिवन्त हुने गरी सिकाउनुस्।

विद्यार्थीलाई बुझ्नुस्
पढाइरहेको शिक्षकको अनुभवमा के हुन्छ भने पढाइरहेको कुन विषय विद्यार्थीले ध्यान दिएका छन् कुन दिएका छैनन् भन्ने कुरा फ्याट्टै थाहा पाइहाल्छन्। जुन शिक्षकले विद्यार्थीलाई सुन्दैन त्यो शिक्षकले राम्रो गर्न सक्दैन। विद्यार्थीको कुरा पनि सुन्ने उनीहरुलाई बुझ्ने प्रयास गर्नाले सिकाउने नयाँ तरिकाको विकास हुन्छ।

सकारात्मक सोच्नुस्
हरेक विषयलाई जसरी हे-यो त्यसरी नै देखिन्छ। नकारात्मक र निराशावादीले भइहाल्ने धेरैको बानी हुन्छ यस्तो बानी छ भने तुरुन्तै हटाइहाल्न जरुरी छ। विद्यार्थीको अगाडि मुडी पारा पनि देखाउनु राम्रो हुँदैन सधैँ कुल भएर सिकाउनु शिक्षकको जिम्मेवारी हो ।

हरेक विद्यार्थीले राम्रो गर्न सक्छन् भन्ने सोचाइ राख्ने
यो धारणा शिक्षकले मात्र हैन अभिभावकले पनि राख्न जरुरी छ। मेरा छोराछोरी सिक्दैनन् अथवा राम्रो गर्दैनन् भन्ने बानी धेरैको हुन्छ यो गलत हो। शिक्षकले पनि विद्यार्थीमा सम्भावना देख्नुपर्छ। उनीहरुप्रति आशा राख्नाले नयाँ कुरा सिक्दा विद्यार्थीहरु उत्प्रेरित हुन्छन्।

हँसिलो बन्नुस्
तपाईं हँसिलो हुनुहुन्छ भने तपाईंबाट विद्यार्थी प्रभावित हुन्छन्। यसले गर्दा तनाव कम हुने हुन्छ। पढाउने कुरा सिरियसै छ भने रोमान्टिक तरिकाले पढाउने गर्नुपर्छ। यदि हजार विद्यार्थीमा सर्वेक्षण गर्नुभयो भने उनीहरुलाई प्रभावित पार्ने शिक्षक हँसिलो र विषयवस्तुलाई रोमान्टिक तरिकाले प्रस्तुत गर्ने रहेको हुन्छ।

प्रोत्साहित गर्नुस्
यो विषयवस्तु तिमीहरुले सिक्नै सक्दैनौँ यो गाह्रो छ भनेर भन्नै हुँदैन। कुनै गाह्रो विषयवस्तु छ भने पनि विद्यार्थीलाई तिमीहरुले सक्छौ गर भन्नाले उनीहरुमा आत्मविश्वास बढ्दै जान्छ।

रिस्क लिनुस्
रिस्क लिन सक्नु नै सफल हुनुको सूत्र हो। विद्यार्थीले जहिले पनि शिक्षकले नयाँ तरिकाले पढाओस् भन्ने चाहेका हुन्छन्। त्यसकारण बेला बेला पढाउने नयाँ तरिका शैली लिन हिच्किचाउनु पर्दैन।

हतार नगर्नुस्
सिकाउन हतार गर्न जरुरी छैन। आफ्नो मुडअनुसार कक्षा जाने नजाने पढाउने नपढाउने गर्नु हुँदैन। निरन्तर सिकाइरहने सधैँ ठण्डा दिमागले पढाउन जरुरी छ।

चिन्तनशील बन्नुस्
हरेक विषयवस्तुमा अपडेट हुनु त छँदैछ सँगै नयाँ नयाँ तौतरिकामा पनि चिन्तनशील हुन जरुरी छ। राम्रो पक्ष कमाजोर पक्ष बारे बुझ्दै राम्रो पक्षलाई बढाउने कमजोर पक्षलाई सुधार्ने गर्नुपर्छ।

अभिभावकसँग कुरा गर्नुस्
शिक्षक र अभिभावकबीच संवाद हुन जरुरी छ। खुल्ला संवादले शिक्षक र अभिभावक बीच रहेको दुरीलाई कम गर्छ। यसो गर्नाले विद्यार्थीले छल्ने सम्भावना पनि कम हुन्छ।

काममा रमाउनुस्
काममा सफल हुने तरिका भनेकै काममा रमाउन सक्नु हो। काममा रमाउन सकिएन भने त्यो कामले आफूलाई सन्तुष्ट दिँदैन नै झन् शिक्षण पेशामा त अरुलाई पनि प्रभाव पारेको हुन्छ।

विद्यार्थीको चाहनालाई बुझ्नुस्
कक्षाकोठा भनेको परिवर्तनशील हुन्छ। सधैँ एउटै तरिकाले पढाउँछु भनेर हुँदैन। बाहिरी वातावरणले त प्रत्यक्ष प्रभाव पारेको हुन्छ नै सिकाउने तरिका विद्यार्थीप्रति गरिने व्यवहारले पनि प्रभाव पारेको हुन्छ। विद्यार्थीले कसरी सिक्न चाहन्छन् कसरी बस्न चाहन्छन् सानो तिनो कुरामा पनि ध्यान दिनाले सिकाइ प्रभावकारी बन्न सक्छ।

सिकाउने कला
सिकाउन विषयवस्तु जानेर मात्र पुग्दैन। विषयवस्तुलाई कसरी प्रस्तुति दिने भन्ने कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। अझ विद्यार्थीको स्वभावको समेत ख्याल गरेर सिकाउने कला शिक्षकमा हुन जरुरी छ। विद्यार्थीले केही कारण बस कुनै विषयवस्तु सिकेनन् भने किन सिकेनन् ? सिकाउने तरिका के–के हुन सक्छ भनेर चिन्तन मनन गर्नु शिक्षकको भूमिका हो। 

जिवन्त हुने गरी सिकाउनुस्
शिक्षकले कुनै अमुक तरिकाले सूत्रबद्ध हुने तरिकाले सिकाउनु मात्र ठूलो कुरा हैन। बालबालिकालाई बोल्ने तरिका, विषयवस्तु प्रस्तुति गर्ने शैलीले ठूलो प्रभाव पारेको हुन्छ। जुनसुकै विषय सिकाउँदा पछिसम्म  नबिर्सिने गरी सिकाउनु राम्रो हुन्छ। सकेसम्म अभ्यास गराउँदा प्रयोगात्मक गराउनु उपयुक्त हुन्छ।

समूहमा सिकाउनुस्
विद्यालय भनेको दोस्रो घर हो। पढाइको कुरा मात्रै हैन विद्यालय तहबाट नै भविष्य निर्धारण भइरहेको हुन्छ।  सामूहिक पढ्ने बानीले पछि सामूहिक काम गर्दा सहज  बनाउँछ।

Leave A Comment