विदेशीले पनि ठगे

मङ्गलबार, ०३ मङि्सर २०७६, ०२ : १९ शुक्रवार
विदेशीले पनि ठगे

गोविन्दकुमार श्रेष्ठ, ट्याक्सी चालक

ट्याक्सी चलाउन थाल्नुभएको कति भयो ?
६ महिना जति भयो।

त्यो भन्दा पहिला के गर्नुहुन्थ्यो ?
बैंकमा कार्यरत थिएँ। बैंकमा खासै कमाइ नभएका कारण ट्याक्सी चलाउन मन लाग्यो। अनि यतातिर आएँ।

ट्याक्सी चलाउन थालेदेखि नै नाइट ट्याक्सी चलाउनुहुन्छ ?
होइन म बिहान ७ बजेदेखि राति ११, १२ बजेसम्म मात्रै चलाउँछु। आफ्नै ट्याक्सी भएका कारण राति अबेरसम्म चलाउने गर्छु। ऋणमा लिएको ट्याक्सी हो। ऋण तिर्नु परिहाल्यो। त्यसैले डे नाइट दुवै चलाउँछु।

भर्खर भर्खर ट्याक्सी चलाउन थाल्नुभएको छ ? कस्ता कस्ता यात्रु फेला पार्नुभएको छ त ?
मैले यो ६ महिनाको अवधिमा धेरै खाले यात्रु फेला पारेको छु। कोही दिनभरि ट्याक्सीमा चढेर बेलुका उल्टै पैसा मागेर पनि हिँडेका छन्। १५ दिन जति भयो होला। भत्तपुरको सूर्यविनायकमा एकजनाले भक्तपुरको विभिन्न ठाउँमा लिएर गए। दिनभरि जसो ट्याक्सीमा घुमेको घुमै गरे। ३,४ बजेतिर फेरि सूर्यविनायकमा आएर उल्टै मसँग ३ सय रुपैया मागे। म अहिले एटिएमबाट निकालेर दिउला नत्र भोलि दिउँला भनेर ३ सय रुपैयाँ लिएर गए। फोन नम्बर पनि लिएर गएका थिए। अहिलेसम्म फोन गरेका छैनन्। यताबाट फोन गर्दा उठाउँदैनन्।

साँझ ७ बजे दरबारमार्गमा एउटा अमेरिकन ट्याक्सी कुरेर बसेको देखेँ। उनी दरबारमार्गमा जाडोले कामिरहेको थियो। मलाई माया लाग्यो र कहाँ जाने भनेर सोधेँ। उसले कपनको ह्वाइट गुम्बा  पु-याइदिनु न भन्यो। मैले हुन्छ भनेर पु-याइदिएँ। गुम्बा पु-याइ दिएपछि मसँग पैसा छैन भन्यो। ऊ ढोका खोलेर भित्र जान खोजेको थियो। भित्रबाट पनि चाबी लगाएको रहेछ। साथीहरुसँग मागेर भए पनि देऊ भनेँ। तर उसले पैसा दिने कुरै गरेन। छैन कि छैन भन्यो। यसरी पैसा नदिने धेरै भेटेँ।

राम्रा यात्रु भने भेटिएनन् ?
राम्रा भन्नाले, दुई चार पैसाभन्दा बढी दिने पनि भेटिएका थिए र  भेन्छिन् पनि। नयाँ वर्षमा अलिक बढी थिए। कसैले ५ सय, कसैले हजार मिटरमा उठेको भन्दा २,४ सय बढी नै दिएका थिए।  म प्रायः ठमेल दरबारमार्गतिर नै हुन्छु। अरु ठाउँमा नाइटमा त्यस्तो ट्रिप पाइँदैन। त्यस कारण मेरो साँझ परेपछि बास नै यतै हुन्छ।  यो ठाउँमा नाइटमा मान्छेहरुको चहल–पहल बढी हुने भएकाले ट्रिप पाइन्छ।

यता त केटी मिलाइदेऊ भन्ने पनि भेटिन्छन रे ?
खै मैले त्यस्तो त भेटेको छैन। एकपटक भने एउटाले सोध्दै थियो। मलाई थाहा छैन भनेँ। राति १० बजेको थियो। ठमेल चोकमा बसिरहेको थियो। एउटा अधबैँसे आयो र दाइ कतै रमाइलोका लागि केटी छैनन्  भनेर सोध्यो। खै मलाई त थाहा छैन भनेँ। त्यो बाहेक अहिलेसम्म कसैले सोधेका छैनन्।

जोडीहरु ट्याक्सीमा चढेर कत्तिको मनपरी बोल्छन् ?
मैले अहिलेसम्म यस्तो फेला पारेको छैन। नयाँ नयाँ भएर हो कि ।
प्रस्तुति : भोला अधिकारी

Leave A Comment