विवाहिता छोरीको हकमा कस्तो अंश कानुन ?

बुधबार, ०४ मङि्सर २०७६, ०१ : ०७ स्वीकृति बराल
विवाहिता छोरीको हकमा कस्तो अंश कानुन ?

मेरो बाबाका दुईजनासँग विवाह भएको थियो। जेठी श्रीमती पट्टिको म एक्लो सन्तान हुँ भने कान्छीपट्टि दुईवटी छोरी मात्र छन् जसमध्ये एउटी छोरीको विवाह भइसकेको छ। मेरो बाबासहित दुईजना दाजुभाइमध्ये मेरो बाबा स्वर्गीय भएको केही समय भयो। यस्तो अवस्थामा अंशबण्डा गर्दा कसरी भाग लगाइन्छ। मेरो बाबाको भाग अंश पनि हामीले पाउँछाैँ कि पाउँदैनौँ ? विवाह भएको छोरीको हकमा कस्तो कानुन लाग्छ ?

–परिवारका सदस्यबीच सगोलमा रहेको सम्पत्ति बाँडफाँड गर्ने प्रक्रियालाई अंशबण्डा भनिन्छ। मुलुकी देवानी (संहिता) ऐन, २०७४ को पच्छिेद १० मा अंशबण्डासम्बन्धी व्यवस्था गरिएको छ। सगोलमा सम्पत्ति भएका पति, पत्नी, बाबु, आमा, छोरा, छोरीले पत्नी, पति, छोरा, छोरी, बाबु र आमालाई इज्जत आमद अनुसार खान लाउन दिन र आर्थिक हैसियतअनुसार शिक्षा र स्वास्थ्योपचारको व्यवस्था नगरे वा आफूले गर्नुपर्ने दायित्व पूरा गर्न नसके  अंशियार आफ्नो अंश लिई छुट्टिन पाउने व्यवस्था मुलिकी देवानी (संहिता) ऐन, २०७४ को परिच्छेद १० को दफा २११ को उपदफा १ र २ मा गरिएको छ।

एकै घरका बुवा, आमा छोरा, छोरीबीच अंशबण्डा गर्नु परेमा उनीहरुको सगोलमा भएको सम्पत्तिमा हरेक परिवारका सदस्यको समान हक अधिकार हुन्छ। अंशियारहरुबीच आपसी समझदारी भएमा निजहरु जहिले सुकै अंश लिई भिन्न भई बस्न सक्नेछन् तर त्यसो गर्नका लागि अंशियार कानुनबमोजिम उमेर पुगेको हुनु पर्दछ। पत्नी, छोरा र छोरीले आफ्नो पति वा बुवाको भागबाट मात्र अंश पाउँछन् र अंशवण्डा नहुँदै बुवा वा पतिको मृत्यु भएमा मृतकले पाउने अंश उनकै पत्नी वा छोरा छोरीले पाउने व्यवस्था मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा २०९ को उपदफा १,२ ले गरेको छ। सगोलको सम्पत्तिमा सबैको हक लाग्ने हुनाले त्यस्तो सम्पत्ति सबै अंशियारको मन्जुरीविना कुनै एक अंशियारलाई मात्र दिन पाइँदैन र सहमतिमा दिइएको छ भने पछि अंशबण्डा गर्दा निजले पाउने अंशमा हिसाब गरी अन्य सम्पत्ति बण्डा गर्नुपर्छ।

प्रश्नमा विवाहिता छोरीको हकमा अंश पाउने कानुन के छ भनेर साधिएको छ। मुलुकी देवानी (संहिता) ऐन, २०७४ को अंशबण्डा सम्बन्धी व्यवस्थाको दफा २०५ ले परिवारका सदस्य क–कसलाई  अंशियार मान्ने भन्ने कुरा स्पष्ट रुपमा उल्लेख गरेको छ। दफा २०५ अनुसार सगोलको सम्पत्ति अंशवण्डा गर्ने प्रयोजनका लागि अंशबण्डासम्बन्धी अन्य दफाको अधिनमा रही पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार मानिनेछन्।

कानुनमा लेखिएका एउटै परिभाषाको व्याख्या गर्ने अनेक तरिका हुन्छन् र कुनै पनि मुद्दाको निष्कर्षमा पुग्ने पनि कानुनी परिभाषा र सो परिभाषाको व्याख्याको आधारमा नै हो र यसमा नजिरहरुको पनि ठूलो भूमिका हुन्छ।

अहिलेसम्म चलिआएको प्रचलनअनुुसार  विवाह नहुँदासम्मको हकमा छोरीको नाताले छोरी आफ्नो बुवाको अंशको अंशियार रहन्छन् भने विवाह भएको अवस्था हो भने छोरी कसैको पत्नी भइसकेको  हुने कारणले गर्दा पत्नीको नाताले जसको पत्नी हुनुहुन्छ उसको अंशमा मात्र छोरीको अधिकार रहन्छ।

दफामा लेखिएअनुसार पति, पत्नी, बाबु, आमा छोरा, छोरीमध्ये निवेदक कुन नाताको हैसियतले अंश दाबी गर्दै हो भन्ने कुरा अंशबण्डा गर्दा हेर्न जरुरी हुन्छ।

Leave A Comment