नेपालको मौसमी कुरा

शुक्रबार, ०६ मङि्सर २०७६, १० : ५२ शुक्रवार
नेपालको मौसमी कुरा

हुन त नेपालमा मौसमी कुरा गर्ने नेताको के खाँचो ? पायो कि ठोकिहाल्छन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले यसै साता मौसमी भाषण ठोकेछन्।

फेरि भाषण पनि के भने, प्रधानमन्त्रीजस्तो गरिमामय पदभार सम्हालिसकेका नेपालले राजधानीको एक कार्यक्रमा कर्मचारीको सरुवा–बढुवा गर्दा नेता तथा मन्त्री आफैँ घुस लिने काममा संलग्न रहेको बताएछन्।

घुसकै कारण नेपाल बिग्रिएको समेत उनले ठोकुवा गरे। अझ उनले त स्थानीय तहमा करोडौँ बजेटमाथि लूट मच्चाउने काम भइरहेको पनि बताएछन्। कर्मचारीसँग मिलेर स्थानीय तहमा लूट मच्चिएकाले नेपालले प्रतिपक्षको शैलीमा सरकारले कडा कार्बाही गर्नुपर्ने मागसमेत राखेछन्। हुन त प्रतिपक्ष झोक्राएको अवस्थामा र स्वयं पार्टीमा प्रतिपक्षको अवस्थामा रहेका नेपालले यसरी माग राख्नु स्वाभाविक पनि हो।

पूर्व प्रधानमन्त्री, आफैँ जनप्रतिनिधि ! त्यसमाथि सरकारमा रहेको पार्टीको जल्दोबल्दो वरिष्ठ नेताले सारा कुरा बिग्रेको चाहिँ स्थानीय तह र कर्मचारीको थाप्लोमा हालेर बडो जगहसाइ गरेछन्।

हुन त कतिपय उनकै कार्यकर्ताको काम कर्मचारीसँग पैसा लिने, ठूलोबडा नेताको घर ढुक्ने र ‘आफन्त’लाई ‘आकर्षक’ ठाउँमा सरुवा गराइदिने काममा व्यस्त छन्। कतिसम्म भने ती कार्यकर्ताको घर–व्यवहार नै यस्तै सरुवाबढुवाका कारणले चल्ने गर्छ।

यस्तो अवस्था सबैलाई छर्लङ्ग हुँदाहुँदै पानीमाथिको ओभानो बन्न बोलिएको कुराले उनलाई कत्तिको लाज लाग्छ, त्यो त थाहा छैन तर जनता चाहिँ लाजले पानी–पानी हुन्छन्। बाई द वे, जनता भनेका उनका कार्यकर्ता भने होइनन् है !

पहिलो कुरा त, उनी आफैँ नियम कानुन बनाउने ठाउँमा बसेकाले भ्रष्टचारै नहुने प्रणाली बनाउने उनको पनि जिम्मेवारी हो। फेरि, उनी त्यो तहका नेता हुन्, जसका कुरा शायदै कसैले अस्वीकार गर्लान् ! त्यसमाथि भ्रष्टाचार भैहालेछ रे, कहाँ भ्रष्टाचार भएको छ पत्ता लगाएर कार्बाही गर्ने वातावरण मिलाउने काम पनि उनैको हो। यस्तो जिम्मेवारी भएकै कारणले उनीजस्ता नेतालाई ‘अगुवा’ बनाइएको हो, वरिष्ठ नेता बनाइएको हो। तर यस्ता व्यक्तित्वले पनि पानीमाथिको ओभानो बन्दै सस्तो लोकप्रियताको लागि मौसमी बाजा बजाउनु भने लाजैमर्दो हो !

अनि यस्ताका चेलाचपेटा सांसदहरुले किन विदेशी राजदूतसँग गाडीभाडाको गनगन नगरुन् पनि ! हुन त नेपालले ओली र प्रचण्डको चेपुवाको सकस पोखेका होलान्, कम्तीमा ओलीलाई अप्ठेरो पारौँ भनेर तर यस्सो केही बोल्नुअघि आफ्नो गरिमा पनि त बुझ्नु प-यो नि !

Leave A Comment