रौतहटमा रजगज गरिरहेका पूर्वमन्त्री मोहम्मद आफताब आलम आखिरमा जेल पुगिछाडे। तर उनको जेल यात्रासँगै रौतहटको बर्बर आपराधिक घटनाको कानुनी प्रक्रिया भने अझै सकिएको छैन।
१२ वर्षदेखि कचल्टिएर बसेको बर्बर हत्याकाण्डमा बल्लतल्ल पक्राउ परेका उनले जोगिन केसम्म गरेनन् ! उनले प्रहरीलाई थर्काए, आफ्नो विपक्षमा बयान दिने साक्षीलाई लोभ्याए, सडकमा समर्थन उतारे, महँगा र प्रभावशाली वकिलहरुको लाइन अदालतमा आफ्नो पक्षमा उभ्याइदिए।
तर उनको केही जोड चलेन। जति तिकडम गरे पनि मोहम्मद आफताब आलम आखिर जेल पुगे। अहिले उनको दैनिकी नक्खु कारागारको अग्लो पर्खालभित्र घुम्चिएर बितिरहेको छ।
उनको जेल बसाई दीर्घकालीन भने हैन। घटनामा उनको संलग्नता हो हैन, चुनाव जित्न आतंक मच्चाउन उनले बम बनाउन लगाएको हो हैन ? बम पड्किएको हो हैन ? अनि घाइते भएकाहरुलाई ज्युँदै इँटाभट्टाको भट्टीमा हालेर जलाएको हो हैन ? प्रश्नको उत्तर आइसकेको छैन।
अहिले उनी जेल पुग्नुको कारण हो, उनी कारागारबाहिर बस्दा मुद्दालाई प्रभावित पार्न सक्ने जोखिम। यसलाई अदालती भाषामा पुर्पक्षका लागि थुनामा भन्छन्।
प्रहरीको एक महिना लामो अनुसन्धानपछि जिल्ला अदालत रौतहटमा आलमलाई बाहिरै राखेर मुद्दा प्रक्रिया अगाडि बढाउने कि उनलाई जेलभित्र राखेर भन्ने बहसका क्रममा जिल्ला न्यायाधीश दीपक ढकालले उनलाई मुद्दा नसकिएसम्म जेलमै राखेर मुद्दा प्रक्रिया अगाडि बढाउने आदेश दिए। यही कारण उनी जेल पुगे।
यो नै अन्तिम फैसला हैन। मुद्दा प्रक्रिया बाँकी नै छ। जिल्ला अदालत रौतहटमा आलमको पक्षमा वकिलहरुको लाइन लाग्ने श्रृंखला जारी नै रहनेछ। बद्लिएको एक दृश्य मात्र हो, यी सबै दृश्य चलिरहँदा आलम स्वतन्त्र हैन, जेलको अग्लो पर्खालभित्र हुनेछन्।
उनीमाथिको आरोप सामान्य छैन– बम विस्फोट र घाइतेहरूको सामूहिक हत्या। २०६४ को निर्वाचनताका आफ्नो क्षेत्रमा मतदानको अघिल्लो दिन भारत र नेपालका केही युवा भेला पारेर बम बनाउन लगाउँदा बम पड्किदा घाइते भएकालाई उपचारका लागि अस्पताल लैजानुको साटो अपराध लुकाउन नजिकैको इँटा भट्टामा लगेर जलाई मारेको गम्भीर अभियोग छ उनीमाथि र उनी यही अभियोगमा जेल पुगेका हुन्।
मुद्दाको पहिलो प्रक्रिया सकिएसँगै बयान लिने, प्रमाण साक्षी बुझ्ने, पक्ष र विपक्षका कानुन व्यवसायीहरुको बहस सुन्ने क्रम जारी नै रहनेछ।
मुद्दा प्रक्रिया शुरु भएलगत्तै आलमबाट जे–जस्ता गतिविधि भए, त्यसका आधारमा आज उनको विपक्षमा बयान दिने घटनाका घाइते, छोरा गुमाएका दुई परिवार, घाइते जलाइरहेको देख्ने प्रत्यक्षदर्शी लगायतको सुरक्षा कस्तो हुन्छ, आशंका कायमै छ।
अदालतमा प्रारम्भिक चरणको प्रक्रिया चल्दाचल्दै घटनामा घाइते भएका सबैभन्दा बलिया प्रमाणको अपहरण गरी बन्धक बनाएर बयान बदल्न लगाएको, मृत्यु दर्ता गरिसकेका पीडित परिवारका सदस्यलाई मृत सदस्य ज्युँदै भएको भन्दै अदालतमा निवेदन दिन लगाएको घटना सार्वजनिक भइसकेका छन्।
आमना खातुनलाई प्रयोग गरी उनीहरूले ‘पति वैदेशिक रोजगारीमा गएको, उतै बेपत्ता भई नफर्केको’ भन्ने विवरणसहित निवेदन दिन प्रयोग गरेका थिए । विस्फोटबाटै घाइते भएको भनी चिकित्सकको प्रतिवेदनसहित इजलासमा उपस्थित हुने साक्षी गौरीशंकर रामलाई आलमले स्टोभ पड्किएर घाइते भएको भनी अदालतमा निवेदन दिन लगाएका थिए ।
धन्न पछि दुवैले आफूहरूले दबाब र प्रलोभनमा बयान फेरेको स्वीकारे र मुद्दा बलियो नै रह्यो। जसका आधारमा आलमले आफूमाथिको आरोप इन्कार गरे पनि अदालतमा पेस गरिएका अन्य प्रमाणले ‘उनी निर्दोष हुन् भन्ने अवस्था नरहेको’ भन्दै अदालतले उनलाई अल्पकालीन अवधिका लागि भए पनि जेल पठाउने आदेश दियो।
यी घटनाक्रमले आलम आफू जोगिन जुनसुकै हदसम्मको काम गर्ने मनस्थितिमा रहेको मात्रै हैन, चाहे अनुसारको काम गराउन बल प्रयोग गर्नसक्ने देखिइसकेकाले आगामी दिनमा राज्यले यो केससँग जोडिएकाहरुको सुरक्षामा कति गम्भीर हुन्छ, त्यसैमा आलमको अपराधको चिट्ठा खुल्ने या नखुल्ने टुंगो हुने देखिन्छ।
त्रासमा राज्य संयन्त्र
आलमको जेलयात्रा शुरु भएसँगै उनको विपक्षमा बहस गर्ने सरकारी वकिल अनि उनको पक्षमा आदेश दिने जिल्ला न्यायाधीश सरुवा मागेर रौतहटबाट हिँडिसकेका छन्। पक्राउको क्रममा प्रहरी अधिकारीलाई आलमले धम्क्याएको भिडियो अहिले भाइरल भइरहेको छ।
यसले आलम जेल पुगे पनि राज्य संयन्त्र भने अझै उनको त्रासमा रहेको देखाउँछ नै। कानुन कार्यान्वयनको पाटोमा यो पक्कै सुखद पाटो हैन। थुनछेक बहसबाट जस्तो नतिजा आयो, त्यसले बर्बर आपराधिक घटनाको अनुसन्धानमा प्रहरीले गरेको मिहिनेत, सरकारी वकिलको तयारी र न्यायाधीशको न्यायिक आँखा सक्रिय भएको देखियो नै।
तर उनको जेलयात्रा शुरु भएसँगै असुरक्षा भयो भन्दै न्यायाधीशले जिल्ला नै छाड्दा आलमलाई आफ्नो त्रास बढाउन सहयोगी बनेको देखियो। के जिल्ला न्यायाधीश असुरक्षित भएकै हुन् ? राज्यको सुरक्षा संयन्त्रले उनलाई रौतहटमा सुरक्षा दिनै नसक्ने अवस्था नै बनेको हो ? यस पाटोमा राज्यको जिम्मेवार निकायले अवस्था त्यस्तै हो या सकारात्मक माहोलको उपयोग प्रस्ट्याए आलमजस्ता व्यक्तिको मनोबल उकासिनबाट रोकिन सक्छ।
Leave A Comment