प्यासेन्जरले चोरको आरोप लगाइन्

मङ्गलबार, १० मङि्सर २०७६, १० : ५० शुक्रवार
प्यासेन्जरले चोरको आरोप लगाइन्

ओमकुमार सारु मगर
नाइट ट्याक्सी चालक

ट्याक्सी चलाउन थालेको सात महिना जति भयो। योभन्दा पहिले पढ्दै थिएँ। एसइई गरेपछि ट्याक्सी सिक्नका लागि काठमाडौं आएँ। ट्याक्सी सिकेँ र लाइसेन्स निकालेँ। अरु जागिर खानका लागि पढाइ नभएकाले साहुको ट्याक्सी लिएर भाडामा चलाउन थालेँ। मेरो दाइ पनि गाडी लाइनमा भएकोले मलाई पनि ड्राइभिङ पेसामा आउन मन लाग्यो। दाइले रामेछाप–काठमाडौंको सुमो चलाउनुहुन्छ।

चोरको आरोप
१७ दिन अगाडिको कुरा हो। ललितपुरको धापाखेलमा पुगेको थिएँ। ट्याक्सी चालक भएपछि एकै ठाउँमा बसिरहने कुरा पनि भएन। मैले ट्याक्सी साइड लगाएर राखेको थिए। एकजना लेडिज आएर होस्टेल सर्न लागेको सामान सातदोबाटो चोकमै सार्नुपर्ने भनिन्। मैले हुन्छ भनेँ। उनी एक्लै आएकी थिइन्। उनका साथीहरु बाइकमा आएका थिए। मैले ट्याक्सी लिएर होस्टेलमा गएँ र ट्याक्सीमा सामान हाल्न थालियो। सामान अटी नअटी भयो। सामान लिएर सातदोबाटो होस्टेलमै पुगेँ। त्यहाँ पुगेपछि एकजना दिदी आएर सुरुमा अगाडि राखेको झोलाहरु लगिन्। एकछिनमा आएर यहाँ अगाडि राखेको मेरो झोला खोइ भन्दै मसँग निहुँ खोज्न थालिन्।

मेरो आठ हजार रुपैयाँ त्यो  झोलामा थियो। तँ बाहेक यहाँ कोही आएको छैन  भन्दै मसँग झगडा गर्न थालिन्। मैले लगेकै छैन। ट्याक्सी चालक सबै चोर हुन्छन् र ? उनले बाटोमा हिँडेका मोटर साइकलवालालाई समेत पैसा हराएको कुरा सुनाउन थालिन्। बेकारमा लफडामा फसेँछु जस्तो भयो। मैले लगेको भए पुलिसलाई बोलाउँदा हुन्छ भन्दा पनि टेरिनन्। निकै बेरपछि सुरुमा भित्र लगेको झोला बाहिर ल्याउनुस् हेर्नुस् भनेँ। नभन्दै उनको पैसा त्यही झोलामा रहेछ। मान्छेको अगाडि उनले मसँग माफी माग्दैै ट्याक्सी भाडा दिइन्।

प्यासेन्जरले उल्टै पैसा माग्यो
पिंगलास्थानबाट मैतीदेवीसम्म एकजना प्यासेन्जर लगेको थिएँ। मैतीदेवी पु-याएपछि तीन हजार पैसा देऊ कि देऊ भन्न थाल्यो। आफूसँग पैसा छैन भन्दा हैरान बनाइसक्यो। उसले पैसा दिनेभन्दा पनि लिने मात्रै कुरा गर्छ। मलाई कहिले परराष्ट्र मन्त्रालयल जाऊँ पैसा दिन्छु भन्छन्। मलाई त्यहीँ लुट्ला जस्तै लागिसक्यो।  मान्छे हेर्दा खाइलाग्दो र ज्याङ्गो देखिन्थ्यो। तपाईं यहीँ ओर्लिनुस् मिटरमा लागेको पैसा दिनुस् भनेँ। उसले पैसा दिन खोजेको थिएन। पुलिसलाई बोलाइदिन्छु भनेपछि बल्ल बल्ल मिटरमा उठेको पैसा दियो र ओर्लिएर गयो।

नाइटका प्यासेन्जर मातेका
नाइटमा ट्याक्सी चलाउँदा भेटिने भनेको नाइट लाइफका नै हुन् । डान्सबार, दोहोरी क्लबतिर सक्नु पैसा सकेर बाहिर निस्किन्छन्। अनि ट्याक्सी खोज्छन्।

पैसा दिने बेला छैन भन्दै पन्छिन खोज्छन्। जति भन्यो त्यतिमा पु-याइदिनुपर्छ। मिटरमा उठेको भन्दा कम पैसामा पनि बोक्नुपर्ने बाध्यता छ। अहिले त एकजना बोक्नै पाइँदैन।  एकजना त टुटल पठाओले बोकेर गइहाल्छ। अलिक धेरै भएको मात्रै हामीले हो। पेसा धरापमा छ।

लभ म्यारिज
मेरो घर रामेछाप हो। अहिलेकी श्रीमती र मेरो घर पन्ध्र मिनेटको फरकमा पर्छ। एउटै गाउँको भएपछि बेलाबखत भेट्ने गफ गर्ने भइरहन्थ्यो। म काठमाडाैं हुँदा पनि उनलाई फोन गरिरहन्थेँ। उनले पनि फोन गरिरहन्थिन्। फोनमा कुराकानी भइरहँदा बिहे गर्ने सोचमा पुगियो। अनि पोहोरको दसैंमा उनलाई भगाएँ। अहिले दुवैजना काठमाडौंमा छौं।
प्रस्तुति : भोला अधिकारी

Leave A Comment