अन्य सामान्य दिनझैँ अस्ट्रेलियाका वन्यजन्तु रेन्जर क्रेग डिकम्यान पोखरीमा माछा मार्न गएका थिए। उनको बल्छीमा त्यो दिन माछा परेन, गोही प-यो र यति माप्पाको गोही प-यो कि उनलाई आक्रमण नै गर्न तम्सियो।
अकस्मात गोही नै आफूतर्फ झम्टिएकाले अत्तालिएका क्रेग के गरौँ र कसो गरौँ भए। गोहीले उनको गोडा पक्रिहाल्यो। तर उनले सुरुमै नौ फुट लामो गोहीको आँखामा आक्रमण गरिहाले। आँखा दुख्न थालेपछि गोही रन्थनियो। जुन आँखामा उनले आक्रमण गरे, त्यतैतिरबाट उनी कुलेलम ठोके।
‘आँखा दुखेपछि उसले चिम्म ग-यो र मलाई देखेन,’ उनले आफ्नो बहादुरी सुनाउँदै भने, ‘आँखामा आक्रमण नगरेको भए मलाई त्यसले ज्यूँदो छाड्ने थिएन !’
५४ वर्षे क्रेगलाई त गोहीले पानीसम्म तान्न भ्याइसकेको थियो। ‘गोहीलाई दुखाउने सबैभन्दा नरम भाग नै त्यही हो, नत्र त अन्यत्रको छाला यति कडा हुन्छ कि बुलेटप्रुफ नै हुन्छ भन्दा पनि फरक पर्दैन,’ उनले भने।
आँखा बेस्कन दुखेपछि गोही आफैँ पानीमा लुसुक्क भागेको उनको भनाइ छ। यस घटनाबाट रन्थनिएका उनले ४५ मिनेटपछि मात्र डाक्टरलाई बोलाएका थिए।
‘गोहीको जात साह्रै नराम्रो हुन्छ, यो धोकेबाज त हुन्छ नै घोसे पनि हुन्छ,’ उनले भने, ‘त्यसैले यसले कुन बेला कसरी आक्रमण गर्छ भन्ने नै थाहा हुँदैन।’
सन् १९७० मा यी ‘क्रक’हरुलाई खतरामा परेको जन्तुको सूचीमा परेपछि यिनको संख्या ह्वात्त बढेको मात्र छैन, बेला न कुबेला सर्वसाधारणलाई आक्रमणसमेत गर्ने गरेको छ।
Leave A Comment