जेम्स बोन्ड लेखकका रंगीन चिठ्ठी

मङ्गलबार, १० मङि्सर २०७६, १२ : २४ शुक्रवार
जेम्स बोन्ड लेखकका रंगीन चिठ्ठी

जेम्स बोन्ड शृंखलाका चर्चित लेखक इयान फ्लेमिङले आफ्नी पत्नी एनलाई लेखेका अश्लील चिठ्ठीहरु यतिबेला बेलायतमा प्रदर्शनीमा राखिएको छ।

यससँगै कुनै प्रसंगमा आफ्नी प्रियतमसँग गरिएका अन्तरंग कुराकानी सार्वजनिक प्रदर्शनीको चिज बन्नु हुन्छ कि हुँदैन भन्ने चर्चा चुलिएको छ। तर यसका पक्षधरहरुले भने यसलाई अश्लीलताको प्रदर्शनभन्दा पनि त्यो बेलाको लेखकीय मनोविज्ञान बुझ्ने एउटा बाटो भएको टिप्पणी गरेका छन्।

इयान र एनको भेट सन् १९३४ मा भएको थियो। त्यो बेला एनको विवाह भइसकेको थियो। त्यो बेलासम्म इयानले एउटा लेखकको परिचय बनाइसकेका थिएनन्। सन् १९५२ मा ‘क्यासिनो रोयल’ उपन्यास बजारमा आउनेबित्तिकै ठूलो इयानले चर्चा मात्र कमाएनन्, रातारात स्टार लेखक बने। त्यसलगत्तै एनसँग इयानले विवाह गरेका थिए।

यी चिठ्ठीले विवाह गर्नुअघि तिनको उत्तेजक सम्बन्धलाई प्रस्ट्याउने केहीको धारणा छ। एउटा चिठ्ठीमा इयानले विवाहअघि एनलाई लेखेका छन्, ‘मलाई तिम्रो ओछ्यानमा लैजाऊ र एउटा बाच्छालाई गाईले जस्तो सहलाऊ, त्यसको बदलामा आउँदा ४० वर्षसम्म तिमीलाई त्यसको गुन तिरिरहनेछु।’

इयानले एनलाई लेखेका १६० तस्बिरहरु प्रदर्शनीमा छन्। चिठ्ठी किन्न चाहनेहरुलाई बेचिनेसमेत जनाइएको छ। २ लाख पाउन्डदेखि ३ लाख पाउन्डसम्म मूल्य राखिएका यी चिठ्ठीहरुले इयानको जीवन र करियरबारे धेरै कुराको जानकारी दिने पाण्डुलिपि विशेषज्ञ ग्याब्रियल हिटन बताउँछन्।

‘खासमा भन्ने हो भने इयान र एनको जुन गर्मागरम सम्बन्ध थियो, त्यसलाई उपन्यासमा ढाल्न तिनको अनुभवले काम गरेको यी चिठ्ठीहरु पढ्दा थाहा हुन्छ,’ ग्याब्रियलको भनाइ छ।

यिनको सम्बन्ध सधैँ गर्मागरम मात्र भएन, कतिपय अवस्थामा तिक्ततापूर्ण पनि थियो। यिनीहरुले पछि क्यास्पर नामक छोरा जन्माए पनि इयानको अन्य स्त्रीहरुसँगको रंगीन सम्बन्धका कारण वैवाहिक सम्बन्ध धरापमा परेको थियो।

Leave A Comment