रवीन्द्रको म्याउँ

शनिबार, २१ मङि्सर २०७६, ११ : ०७ शुक्रवार
रवीन्द्रको म्याउँ

यस पटकको उपचुनाव कसैका लागि हर्षको त कसैका लागि विस्मातपूर्ण रह्यो। यस्तोमा विवेकशील र साझा दुवै पार्टीका लागि विस्मातपूर्ण मात्र होइन कि कोक्याउने अवस्था रह्यो।

यस्तोमा प्रायः अन्त उपस्थिति नरहने तर ट्वीटरमा हरबखत देखिने साझा पार्टीका संयोजक रवीन्द्र मिश्र पनि ट्वीटरमा उपस्थिति देखाइहाले। अनापसनाप ट्वीट्याउन रुचाउने उनले उपचुनावको मेसोमा आफ्नो कुण्ठा पोख्न भ्याइहाले। उनको पार्टीको लज्जासपद हारपछि उनलाई कस्तो रनाहा चल्यो भने मत परिणामले काण्डैकाण्डवाला पार्टीलाई जनताले अनुमोदन गरेको तिक्तता पोखे।

उनको भनाइ थियो, ‘मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरुको मोजमस्ती, संसद्का खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ। जुन चिन्ताजनक छ।’

कास्की–२ मा साझाकी उम्मेद्वार रजनी केसीले ल्याएको मत यति लज्जास्पद थियो कि त्यसैको रन्कोमा उनले आफ्नो कमजोरी के हो केलाउनभन्दा पनि जनतालाई गाली गरेर आफ्नो तिक्तता र तुष पोख्न भ्याए।

पेशाले पूर्वपत्रकार रहेका मिश्रले हावा तालमा काण्ड, भ्रष्टाचारको आरोप लगाउन त सजिलै छ क्यार तर उनीजस्ता पत्रकारितामै केश पकाएकाले बिना एबिसी (एक्युरेसी, ब्यालेन्स र क्रेडिबिलिटी) प्वाक्क बोल्न नहुने थियो तर तीतो पोख्न पाएपछि सक्किगो नि !

हुन त उनी त्यहाँ पत्रकारभन्दा पनि नेता हुन्। नेताले जेजसो बोले पनि सर्वस्वीकृति हुने गरेको छ। नेता भएपछि आरोप लगाए पुग्यो। सोही तरिका मिश्रको यहाँ पनि देखिएकाले उनी पक्का नेतामा परिणत भएका छन्। पहिला कच्चा थिए भन्नुपर्छ।

अब उनी पनि कांग्रेस एमालेकै नेताको हावादारी भाषणको तहमा पुगेका हुनो उनको राजनीतिक भविष्य गज्जबको छ भन्ने भविष्यवाणी किन नगर्ने ?

Leave A Comment