अधिकांश नौ वर्षे बालक टेलिभिजन र मोबाइलमै समय गुजार्छन् तर बेल्जियमका एक बालक लरेन्स सिमोन्स भने अर्कै देशमा गएर संसारकै कम उमेरका स्नातकोत्तर अध्ययन गर्ने बालकका रुपमा कीर्तिमान बनाउन सफल भएका छन्।
यही डिसेम्बर महिनाबाट अध्ययन शुरु हुने इलेक्ट्रिकल इन्जिनियरिङमा अध्ययन शुरु गर्न उनी बेल्जियमबाट नेदरल्यान्डको इन्डहोभन युनिभर्सिटी अफ टेक्नोलजीमा भर्ती भएका छन्।
यसमा अध्ययन गर्नका उनले तीन वषैको विशेष कक्षालाई नौ महिनामा नै सक्ने गरी अध्ययन अघि बढाएका छन्। नौ वर्षको उमेरमा नै स्नातकोत्तर अध्ययन गर्न जाने भएपछि यी बालक संसारभर चर्चित बन्न पुगेका छन्।
नेटफ्लिक्समा फिल्म हेर्न र कुकुरसँग खेल्न रुचाउने यी बालकको प्रतिभाबाट उनका शिक्षकहरु पनि यति बढी प्रभावित छन् कि उनको क्षमताको प्रशंसा नगरी रहन सक्तैनन्।
‘लरेनको क्षमता साँच्चिकै अद्भूत छ,’ विश्वविद्यालयमा उनलाई इलेक्ट्रिकल इन्जिनियरिङको कक्षा लिइरहेका जोएर्ड हल्सफ भन्छन्, ‘यो उमेरमा उनको जुन तहको बुझाइ छ, त्यस्तो त हुर्किसकेका युवामा पनि भेट्न गाह्रो छ।’
कक्षामा यति चाँडो कुराहरु टिप्ने लरेन मात्र एक्ला विद्यार्थी भएको उनको दाबी छ। ‘उसलाई ‘हाइपर–इन्टेलिजेन्ट’ त भनिनहालौँ तर यो उमेरमा छिप्पिएका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्न सक्नु भनेको चानचुने कुरा होइन,’ जोएर्डको भनाइ छ।
त्यसो त यस्तो क्षमता भएको बच्चा जो पनि जन्माउन चाहन्छ, हुर्काउन चाहन्छ तर बढ्ता जान्ने हुनु पनि उनका लागि बेफाइदा नै भएको छ। ‘मेरो उमेरका साथीहरु प्राथमिक विद्यालयमा पढिरहेका छन्,’ लरेन भन्छन्, ‘म भने आफ्ना काका उमेरका साथीहरुसँग पढ्नु परिरहेको छ। खासमा भन्ने हो भने म स्कुललाई त्यत्ति धेरै मिस त गरिरहेको छैन तर मेरा स्कुले साथीहरुलाई भने साह्रै मिस गरिरहेको छु।’
पहिला बेल्जियममा हजुरबा–हजुरआमासँग बसेर पढिरहेका लरेनका बाबुआमा नेदरल्यान्डमा काम गरिरहेका बा–आमासँग बसाइँ सरेर नेदरल्यान्ड आइपुगेका छन्। अलेक्जेन्डर र लिडिया साह्रै व्यस्त हुनाले छोरालाई हेरचाह नपुग्ला भन्ने डरले हजुरआमा–हजुरबासँग बसोस् भनी छाडेका थिए।
उनको पढाइको तेज देखेर कक्षा चारमा पढ्न थालेकाका लरेनलाई त्यहाँको स्कुल प्रशासनले डेढ वर्षमा नै सम्पूर्ण स्कुले शिक्षा पार गर्न सक्ने क्षमता भएको भन्दै विश्वविद्यालयका लागि सिफारिस गरेको थियो।
उनका ३७ वर्षे बाबु अलेक्जेन्डर भन्छन्, ‘यो बच्चादेखि नै तेज त थियो तर उसको तीक्ष्णताका कारण बालखैमा जवान नहोस् भनेर हामी सचेत थियौँ। त्यसैले उसलाई स्कुल जान प्रोत्साहित ग-यौँ। तर ऊ स्कुलमा चाँडै बोर हुन थाल्यो।’
पेशाले दन्त अलेक्जेन्डर र उनलाई सघाउने २९ वर्षीया लिन्डिया भने छोरो अद्भूत जन्मिएकामा कुनै खासै रमाइलो मानेनन्। ‘समयअगावै तेज हुनु त्यति राम्रो होइन,’ आमा लिन्डियाले भनिन्, ‘अब हेर्नुस्, युनिभर्सिटी जान यति टाढा छ कि ऊ आफैँ जान सक्तैन। हामीले नै उसलाई ल्याउने/लैजाने गर्नुपर्छ। यति सानो छ कि ऊ आफ्नै हेरचाह गर्न सक्दैन। यस्तोमा कसरी गर्व लाग्नु ? हरबखत चिन्ता मात्र लागिरहन्छ।’
बाबु अलेक्जेन्डर भन्छन्, ‘हैन, यति सानै उमेरमा यत्तिको गाह्रो विषय कसरी सजिलै बुझ्न सकेको होला ? त्यो पो आश्चर्य लाग्छ मलाई त !’
इन्जिनियरिङ पढेर भविष्यमा उनी कृत्रिम अंग बनाउन उत्कट रहेको बताउँछन्। कृत्रिम अंगका कारण धेरै जनाले अकालमा ज्यान नगुमाउने हुनाले आफू यसतर्फ आकर्षित भएको बताए।
खासगरी उनका हजुरबा–हजुरआमाको मुटुमा समस्या देखिएको छ। उनीहरु लामो समय बाँचून् भन्ने उनको इच्छा छ र उनीहरुका लागि उनी कृत्रिम अंग बनाउन चाहन्छन्।
छोरोले छोटो समयमा नै मास्टर्स डिग्री सिध्याउने भएकाले थप विशेषज्ञताका लागि अमेरिकाका सर्वोत्कृष्ट कलेजमा पढाउनेबारे अलेक्जेन्डरले सोधखोज शुरु गरिसकेका छन्।
सानै उमेरमा नाम कमाउने कलाकार वा गायकहरुजस्तो विषाक्त वातावरण नहुने भएकाले छोराको नाम र ख्यातिमा एउटा बाबुका रुपमा आफू खुसी भएको एलेक्जेन्डरले बताए। ‘कलाकारहरु हिट भएपछि भुइँमा न भाँडामा हुन्छन् र तिनले जीवन बर्बाद गर्छन्,’ उनी थप्छन्, ‘तर म त्यस्तो बनाउने पक्षमा छैन। उसलाई कसरी हावामा उडिरहेका बेला जमिनसँग जोड्ने त्यो मलाई थाहा छ।’
Leave A Comment