साग डायरी : चर्चाविहीन क्रिकेट, चर्चामा चेम्चो

शुक्रबार, २७ मङि्सर २०७६, ०१ : ५१ शुक्रवार
साग डायरी : चर्चाविहीन क्रिकेट, चर्चामा चेम्चो

श्रीलंकनलाई डेंगु

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेल्न आएका श्रीलंकाका ६ एथ्लेटिक्स खेलाडीलाई डेंगु लाग्यो। बिरामी भएका ६ खेलाडीलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलमा भर्ना गरी उपचार शुरु गरिएको थियो। परिक्षणमा डेंगु देखियो। चिसो मौसमसँगै लामखुट्टे हराइसकेको अवस्थामा डेंगु देखिएकाले उतैबाट आउँदा नै बिरामी रहेको आशंका गरियो।

चर्चाविहीन क्रिकेट
अन्य समयमा वाहवाही हुने नेपाली क्रिकेट टोली, सागमा भने चर्चाविहीन भयो। स्वर्ण आश गरिए पनि क्रिकेट टोलीले लगातार हार ब्यहोरेको थियो। नेपाली क्रिकेट टोली दक्षिण एसियाली टिमका सामु टिक्न सकेन। निकै कमजोर देखियो नेपाली क्रिकेट टिम। अन्तमा रजत पदक पाउँदै तेस्रोमा चित्त बुझायो नेपालले। पुरुष क्रिकेटमा बंगलादेशले स्वर्ण जित्यो। श्रीलंका दोस्रो भयो। महिला क्रिकेट टोली पनि कास्यमा चित्त बुझाउन बाध्य भयो।

महिला क्याप्टेनको संन्यास
अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सधैँ भारतबाट पराजित भएर दोस्रो हुँदै आएको नेपाली राष्ट्रिय महिला फुटबल टिमले आफ्नै भूमिमा भएको १३ औं सागमा भारतलाई हराएर स्वर्ण ल्याउने तयारी गरेको थियो तर सफल भएन। आफ्नै भूमिमा स्वर्ण जित्ने अधुरो सपना थाँति राखेर कप्तान नीरु थापाले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरिन्, फाइनलकै दिन।

फाइनलमा २–० ले नतिजा भारतलाई सुम्पिएसँगै भावुक हुँदै नीरुले संन्यासको घोषणा गरिन्। उनीसँगै मनमाया लिम्बुले पनि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरिन्।

समर्थक र पत्रकारलाई प्रहरीको लात्ती
नेपाल र भुटानबीच हुने फुटबलको फाइनल खेल हेर्ने दर्शकको संख्या बढ्ने पक्का भएपछि प्रतियोगिताको अघिल्लो दिन टिकटको दर दोब्बर बनाए पनि व्यवस्थित भने हुन सकेन।

अनलाइनबाट समेत टिकट किन्न सकिने सुविधा दिइए पनि अनलाइन टिकट बोकेर रंगशालामा फुटबल हेर्न आएका खेलप्रेमीले खेल हेर्न पाएनन्, उल्टो प्रहरीको लात्ती पाए।

टिकट बोकेर आएकालाई रंगशालामा प्रवेश गराउनुको साटो कुट्न थालेपछि फोटो खिच्दा नागरिक दैनिककर्मी पत्रकार सुमन चापागाईंले समेत प्रहरीले कुट्दा घाइते भएर अस्पतालै भर्ना हुनुप-यो।

चर्चामा चेम्चो
फाइनलमा नेपालसँग पराजित भए पनि भुटानका लागि फुटबल उपलब्धिमूलक भयो। अप्रत्यासित रुपमा फाइनलमा पुगेको भुटानले नेपाललाई राम्रै टक्कर दिएको थियो।

भुटानसँगै भुटानी फुटबल टिमका कप्तान चेम्चो ग्याल्सेन पनि चर्चामा आए। उनको खेल कौशलले धेरै फुटबलप्रेमी नेपालीको ध्यान तान्यो।

अब पाकिस्तानमा
नेपालले १३ औं साग समापन गरेसँगै १४ औं सागको आयोजना गर्ने जिम्मा पाकिस्तानले पायो। अबको तीन वर्षमा सागको आयोजना गर्ने जिम्मेवारी पाएको पाकिस्तानका लागि सबैभन्दा ठूलो बाधक भारत हुनसक्छ। हरेक विषयलाई राजनीतिसँग मिसाउँदा भारत–पाकिस्तानबीच मैत्रीपूर्ण खेलसमेत हुन नसकिरहेको अवस्थामा भारत पाकिस्तान गएर सागमा सहभागी होला ?

५१ स्वर्णको कीर्तिमान
कराँते
मण्डेकाजी श्रेष्ठ (एकल काता)
मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रवीण मानन्धर (टिम काता, पुरुष )
निर्मला तामाङ, संगीता मगर, सरु कार्की (टिम काता, महिला)
लक्ष्मण तामाङ (५५ केजी कुमुते)
विप्लवलाल श्रेष्ठ (८४ केजीमाथि)
कुसुम खड्का (४५ केजीमुनि)
अनु अधिकारी (५० केजीमुनि)
नवीन रसाइली (६७ केजी)
सुनिता महर्जन (६८ केजी)
अनुपमा मगर (६८ केजी)

तेक्वान्दो
कमल श्रेष्ठ (२३–२९ वर्ष पुम्से )
सिना मादेन लिम्बु (१७–२३ वर्ष पुम्से )
पार्वती गुरुङ (२३–२९ वर्ष पुम्से)
आयशा शाक्य (२९ वर्षमाथि पुम्से)
आयशा शाक्य र सञ्जीवकुमार पाण्डे (२९ वर्षमाथि पुम्से)
निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना (महिला टिम १७–२३ वर्ष टिम पुम्से)
निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई (महिला टिम २३–२९ वर्ष टिम पुम्से)
काजल श्रेष्ठ (४६ केजीमुनि गेरुगी)
वीरबहादुर महरा (६८ केजीमुनि गेरुगी)
संगीता बस्याल (६२ केजी मुनि गेरुगी)
सक्षम कार्की (८७ केजी गेरुगी)
भूपेन श्रेष्ठ (८७ केजी गेरुगी)

ट्रायथलन
सोनी गुरुङ
हिमाल टमाटा

उसु
विजय सिन्जाली (थाउलो)
सुस्मिता तामाङ (थाउलो)
दीपक हमाल (थाउलो)
निमा घर्तीमगर (थाउलो– नान्दौ)
जुनी राई (सान्डा सान्सो)

एथलेटिक्स
सन्तोषी श्रेष्ठ (१० हजार मिटर)
गोपीचन्द्र पार्की (५ हजार मिटर )
किरण सिंह बोगटी (म्याराथन)

साइक्लिङ
राजेश मगर (डाउनहिल)
निश्मा श्रेष्ठ (डाउनहिल)
लक्ष्मी मगर (क्रस कन्ट्री)
बुद्धिबहादुर तामाङ (क्रस कन्ट्री)

बक्सिङ
सनिल शाही (पुरुष ६० केजी)
मिनु गुरुङ (महिला ४८ केजी)
भूपेन्द्र थापा मगर (पुरुष ६४ केजी )

पौडी
गौरिका सिंह (२ सय मिटर फ्रिस्टाइल)
गौरिका सिंह (४ सय मिटर फ्रिस्टाइल)
गौरिका सिंह (२ सय मिटर ब्याकस्ट्रोक)
गौरिका सिंह (१०० मिटर फ्रिस्टाइल)

भारोतोलन
सञ्जु चौधरी (५९ केजी )
विकास थापा (पुरुष ८९ केजी तौल )

जुडो
पुनम श्रेष्ठ (महिला ७८ केजीमुनि)
देविका खड्का (महिला ५२ केजीमुनि)

गल्फ
सुवास तामाङ (पुरुष एकल)
सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की, निरज तामाङ (पुरुष टिम इभेन्ट्स )

फुटबल
पुरुष फुटबल

कुस्ती
संगीता धामी

Leave A Comment