बर्सातमा मेकअप

शनिबार, २९ साउन २०७३, १० : ३३ सृजना खड्का , Kathmandu
बर्सातमा मेकअप

‘सुन्दर बन्ने चाहना सबैमा हुन्छ, सुन्दरताविना नारी अधुरै देखिन्छन्,’ यो भनाइ कुमकुम ब्युटिपार्लर कमलविनायक–४, भक्तपुरकी करुणा सुवालको हो । अहिले वर्षायाम भएको हुँदा सुन्दरता कायम राख्न बढी टिकाउ हुने खालका मेकअप गर्नुपर्ने उनी बताउँछिन् । ‘वाटरप्रुफ मेकअप वर्षायाममा निकै उपयुक्त हुन्छ,’ उनी भन्छिन् । बेस बनाउने मेकअप क्रिमदेखि आइस्याडो, आइलाइनर, लिपिस्टिक वाटरप्रुफ नै प्रयोग गर्न उनी सल्लाह दिन्छिन् । ‘छालाअनुसार मेकअप पनि फरकफरक किसिमको हुने गर्छ । वर्षायाममा आफूलाई सुट हुने खालको क्रिमको बेस वाटरप्रुफमा हुनुपर्छ,’ उनी भन्छिन्, ‘कसैलाई लाइट खालको क्रिम सुट गर्छ भने कसैलाई डिम खालको । त्यसैले छालाअनुसार मेकअप गर्न जान्नुपर्छ ।’
विशेष गरी स्ट्रेट गरेको कपालमा वर्षायाममा धेरै ध्यान पु¥याउनुपर्छ । सकेसम्म हप्तामा एक पटक ट्रिट्मेन्ट गर्नुपर्छ । हेयर पम्प र पर्मानेन्ट कर्ली गरेको कपालमा पनि वर्षायाममा ध्यान दिनुपर्ने हुन्छ । यस्तो कपाल वर्षायामको पानीले बिग्रन्छ । स्ट्रेट गरेको कपाल नुहाएर ट्रिट्मेन्ट गरेपछि स्ट्रेट नै हुन्छ भने कर्ली कपाल झन् बिग्रने हुन्छ । जसको लागि तेलले मसाज गरिरहनुपर्ने र नुहाएपिच्छे ट्रिट्मेन्ट गर्नुपर्छ ।
मेकअप गर्दा सबैभन्दा पहिला फेसवास अथवा क्लिन्जिङ गर्नुपर्छ । त्यसपछि टोनर लगाइ आफ्नो छालाअनुसार मेकअपको बेस लगाउनुपर्छ । अनुहार अनुसारको तैलीय, सुख्खा र सामान्य बेस बनाउन सकिन्छ । मेकअप बेस पनि वर्षायाममा वाटरप्रुफ नै हुनुपर्छ । वाटरप्रुफ मेकअपको क्रिम २४ घण्टासम्म टिक्ने खालको हुन्छ । दिनभरि टिक्ने हुँदा यस्तो खालका मेकअप प्रभावकारी हुन्छ ।
दिनदिनै मेकअप गरिसकेपछि सुत्ने बेलामा मेकअप रिमुभ गरेर सुत्ने बानी गर्नुपर्छ । मेकअप नपखाली सुतियो भने विभिन्न नकारात्मक असर पर्छ । छाला चाँडै चाउरिने र दाग धब्बाहरू देखापर्छ । जाडो होस् या गर्मी, जस्तोसुकै मौसममा पनि फ्रेस देखिन खानपिनमा विशेष ध्यान पु¥याउनु जरुरी छ । बढी मात्रामा पानी पिउनुपर्छ । नियमित व्यायाम गरी आफूले लगाउने प्रोडक्टको छनोटमा समेत चनाखो रहनुपर्छ ।
जुनसुकै मौसममा पनि सनब्लक चाहिँ छुटाउनु हुँदैन । एक पटक लगाएपछि यसले कम्तीमा पनि तीन घण्टा काम गर्छ भने बढीमा छ घण्टा  । सामान्य छालादेखि दागधब्बा आएको छालासम्मकाले दिनमा दुई पटक सनब्लक लगाउनै पर्ने हुन्छ । एक पटक लगाइसकेपछि पुनःअर्कोपटक लगाउँदा मुख धोएर मात्र लगाउने बानी राम्रो हो ।
फाइन ब्युटिपार्लर पुरानो ठिमी, भक्तपुरकी ब्युटिसियन गंगा मानन्धर पनि वर्षामा वाटरप्रुफ मेकअप नै गर्नुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘वर्षायाममा पानीले नपखालिने वाटरप्रुफको आधारमा मेकअप गर्न सकिन्छ ।’ वर्षामा वाटरप्रुफ म्वाइस्चराइजर, फाउन्डेसन, टोनर र दैनिक मिक्स फ्रुटको फेसवास उपयुक्त रहने उनी बताउँछिन् ।
ब्युटिसियन मानन्धरका अनुसार नेपाली बजारमा वाटरप्रुफ कस्मेटिक सामग्री आएको झन्डै आठ वर्ष हुन थाले पनि यसबारे धेरैलाई थाहा छैन । उनी भन्छिन्, ‘अहिले वाटरप्रुफ सामानमा सबैभन्दा बढी गाजल चल्छ । आजभोलि सबै कामकाजी छन् । दैनिक अफिस जानुपर्ने हुन्छ । यस्तो व्यस्ततामा पसिना वा वर्षाको पानीले असर नपु¥याओस् भनी वाटरप्रुफ मेकअप प्रयोग गर्ने गरिन्छ ।’
वर्षामा ध्यान दिनुपर्ने कुराः

  •    बेस बनाउने मेकअपको क्रिम वाटरप्रुफ प्रयोग गर्ने ।
  •    स्ट्रेट गरेको कपाललाई जोगाउने ।
  •    बेलाबेलामा हेयर ट्रिटमेन्ट वा तेल मसाज गर्ने ।
  •    छालाअनुसार क्रिमको प्रयोग गर्ने ।
  •    सुत्नेबेला मेकअप धोएर मात्र सुत्ने ।
  •    जुनसुकै मौसममा पनि सनब्लक नछुटाउने ।

 

Leave A Comment