गफले टिकेका मन्त्री

शनिबार, २८ मङि्सर २०७६, ११ : ५० शुक्रवार
गफले टिकेका मन्त्री

हाम्रा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई कस्ता व्यक्ति हुन् भन्ने कुराको छनक एउटै घटनाले दिन्छ। मन्त्रालय सम्हालेलगत्तै उनले पशुपति मन्दिर क्षेत्रमा साँझको आरति शुरु गर्नुअघि राष्ट्रगान बजाउन निर्देशन दिएलगत्तै उदाङ्ग भएको हो। तर उनको पहिलो गाँसमै ढुंगा लाग्यो। पशुपतिमा आरति र भजनको ठाउँमा राष्ट्रगान घुसाएपछि यति कडा विरोध भयो कि पछि हट्नु प-यो।

विद्यार्थी राजनीतिदेखि नै मिडियामा छाइरहन मन पराउने उनी मन्त्री भएपछि मिडियाबाट टाढा रहन कहाँ सकून् ! यस्ता ऊर्जाशील मन्त्रीको ऊर्जा उदांगो हुनु स्वभाविकै हो। तर कस्तो ऊर्जा भने, ओठे भाषणमा मात्रै ऊर्जा सीमित गर्न लागेको देखिन्छ। हुन त व्यवहारमा ठोस काम गर्न नसकेपछि बोेलेरै भए पनि त काम हुँदैछ भन्ने सन्देश त दिनै प-यो। आफ्नो मन्त्रालयमा ठोस काम भएको भए पो यो काम चार्हीँ भयो है भनेर देखाउनु। नभएपछि बोलेरै जनताको आँखामा छारो हाल्ने त हो !

त्यसैले त काठमाडौँको एक कार्यक्रममा उनले पर्यटन क्षेत्रमा अनुसन्धान नहुँदा कार्यक्रम ल्याउन नसकेको दुखेसो पोखेछन्। पर्यटन क्षेत्रको विकासका लागि अनुसन्धान आवश्यक रहेको भाषण छोडेछन्। अनुसन्धान हुनु त अवश्य राम्रो हो तर उनले अनुसन्धान थाल्दा करिव तीन वर्ष बाँकी रहेको मन्त्री पदै चिप्लेला !

रोचक गफ त उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा दिएछन्। नेपाल भ्रमण वर्षमा मोदी आउने अपेक्षा रहेको गफ ठोके। न यो भारतीय इभेन्ट हो न त उनको आवश्यकता यहाँ छ ! तर मोदी नेपाल आउनेबित्तिकै नेपालको पर्यटन क्षेत्रमा चमत्कारै आउलाजस्तो घोषणा गरेर लज्जास्पद व्यवहार देखाए। मानौँ, मोदी आए अरे, पर्यटन मन्त्रीको काम मोदीले नै गरिदिए उनको काम चाहिँ के रहेछ ?

Leave A Comment