गुरु कुट्ने नालायक विद्यार्थी

शनिबार, २८ मङि्सर २०७६, १२ : ३६ प्रजु पन्त
गुरु कुट्ने नालायक विद्यार्थी

मंसीर ९ गते बिहानको ठीक साढे ११ बजे। त्रिचन्द्र क्याम्पसका क्याम्पस चिफ प्रदीपबहादुर न्याैपाने पहिलो तल्लामा रहेको आफ्नो कार्यकक्ष जाँदै थिए। बाहिर विद्यार्थीको कोणसभा चलिरहेको थियो। कोणसभा उनको विरोधमा थियो। १० वर्षदेखि नबढेको शुल्क बढाउन उनले प्रस्ताव गरेका थिए।

कार्यकक्षमा पुग्न मात्र लागेका थिए, उनीमाथि त्रिचन्द्रका विद्यार्थी जाइलागे। लाठी र मुक्काले जतापायो त्यतै हिर्काउन थाले। घरी टाउकोमा, घरी ढाडमा त कहिले छातिमा विद्यार्थीले लात्तैलात्ताले हिर्र्काए। न्याैपानेले आफूलाई जोगाउन सकेनन्।

न्याैपानेलाई यसरी निर्घात कुट्ने उनकै विद्यार्थी थिए। क्याम्पसमा रहेका अन्य विद्यार्थी रमिता हेरेर बसे। धन्न त्रिचन्द्रकै दुई कर्मचारीले न्याैपानेलाई कुट्दै गरेका विद्यार्थीको घेराबाट निकालेर अस्पताल पु-याए।

एक हप्ता अस्पताल बसाइपछि अहिले न्याैपाने घरमै आराम गरिरहेका छन्।  उनको शरीरभरि नीलडाम छन्।न्याैपानेको हात र खुट्टामा लगाइएका ब्यान्डेज खोलिएका छैनन्। क्याम्पस परिसरमा अहिले पनि उनलाई कालोमोसो दलेर जुत्ता माला लगाएको तस्बिर सहितको ब्यानर टाँगिएकै छ।

‘कुर्कुच्चा र हातमा गहिरो चोट लागेको रै’छ,’ क्याम्पस प्रमुख न्याैपानेले भने, ‘डाक्टरले थेरापी गर्नुपर्छ भनेका छन्, हेरौँ कस्तो हुन्छ !’

के भएको थियो त्यो दिन
न्याैपानेले स्नातक तह विज्ञान र मानविकी संकायको शुल्क बढाउने प्रस्ताव गरेलगत्तै विद्यार्थी नेताले उनलाई धम्काइरहेका थिए। विद्यार्थीको के भर ? पहिला पनि उनीमाथि आक्रमणको प्रयास भइसकेको थियो। त्यसैले उनले क्याम्पस छिर्नुअगाडि महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख डिएसपी विनोद घिमिरेलाई फोन गरेर भने, ‘म क्याम्पस जान लागेको, विद्यार्थीले धम्क्याइरहेका छन्। सुरक्षा दिनुप-यो।’ घिमिरेले क्याम्पस  आउँदा हुन्छ हामी सुरक्षा दिन्छौँ भनेपछि उनी ढुक्क भएर क्याम्पस छिरेका थिए।

उनी क्याम्पसमा छिरेलगत्तै सत्ताधारी दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुका त्रिचन्द्र इकाई अध्यक्ष गोविन्द थपलिया, नेता मनराज थापालगायत ५० जनाभन्दा बढी विद्यार्थी उनी भएतिर हुर्रिएर आए। कुटि त नहाल्लान् भनेर रोकिएका न्याैपानेलाई आफ्ना विद्यार्धीले कुटिहाले।

‘मैले डिएसपी घिमिरेलाई कल गरेको थिएँ, सुरक्षा छ भनेपछि म गएँ,’ न्याैपानेले भने, ‘प्रहरीले सुरक्षा दिएको भए कुट्दैनथे होलान्। सुरक्षा संयन्त्रले कमजोरी ग-यो।’

डिएसपी घिमिरेले क्याम्पस प्रमुख न्याैपानेले फोन गरेर सुरक्षा मागेको स्वीकार गरे। ‘उहाँले मलाई फोन गर्नुभएको थियो,’ डिएसपी घिमिरेले भने, ‘मैले प्रहरी पनि पठाएको थिएँ तर उहाँ बाहिर रहेका प्रहरीसँग कुरै नगरी भित्र जाँदा कुटिनुभयो।’

सर ओछ्यानमै, विद्यार्थी क्याम्पसमा
धन्न घटनामा संलग्न रहेको भन्दै प्रहरीले गोविन्द थपलिया र मनराज थापालाई पक्राउ ग-यो। क्याम्पस प्रमुख न्याैपानेलाई घाइते हुने गरी कुटेका थिए उनीहरुले। चोट पटक अहिले पनि देखिन्छ। यस्तो घटनामा प्रहरीले हत्या प्रयास या कुटपिटको आरोप लगाउँदै आएको थियो।

तर डिएसपी घिमिरे सत्ताधारी विद्यार्थी संगठनसँग लत्रिए र  उनीहरूविरूद्ध कमजोर आरोप ‘अभद्र व्यवहार’ गरेको आरोप लगायो। उनीहरु जिल्ला प्रशासन कार्यालयमा १५–१५ हजार धरौटी बुझाएर रिहा भइसके। उनीहरुबाट कुटिएका क्याम्पस चिफ न्याैपाने भने अझै ओछ्यानमै छन्।

मौन राज्य
क्याम्पस पढाउन गएका क्याम्पस प्रमुख कुटिँदा पनि सम्बन्धित विद्यार्थी संगठनका नेतृत्वहरु भने घटना थाहै नपाएझैँ गरेर बसेका छन्। प्राध्यापकसँग सम्बन्धित संगठनहरुसमेत अचम्मसँग मौन छन्। त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको चाला हेर्दा उनीहरुलाई घटना थाहै नभएझैँ देखियो। शिक्षा मन्त्रालय पनि मौन छ, यस घटनामा।

विद्यार्थी नेताको आवरणमा गुण्डागर्दी गर्नेलाई संगठनले अनुशासनात्मक कार्बाही गर्नु पर्दैन ? ‘हाम्रो संयोजक बाहिर हुनुहुन्छ,’ अखिल नेता सुनीता बरालले भनिन्, ‘हाम्रो संगठनको बदनाम भएको छ। संयोजक आएपछि घटनाअनुसार कार्बाही हुन्छ।’

शिक्षा मन्त्रालयकी सूचना अधिकारी दिव्या दवाडीले क्याम्पस चिफ कुटिएकोबारे मन्त्रालयलाई केही थाहा नभएको बताइन्। ‘यस घटनाबारे हामीलाई केही थाहा भएन,’ दवाडीले भनिन्, ‘विश्वविद्यालयलाई नै थाहा होला।’

क्याम्पस प्रमुखमाथि आक्रमण हुनु राजनीतिक घटना भएको भन्दै उम्कन खोजे त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटा। ‘यो राजनीतिक घटना हो,’ उपकुलपति बास्कोटाले भने, ‘अनुशासनहीन अमर्यादित विद्यार्थीलाई कानुनबमोजिम कार्बाही हुनुपर्छ।’

Leave A Comment