कोटेश्वर निवासी रमेश शर्मा (नाम परिवर्तन) डेरामा बसिरहेका थिए। रमेशको मोबाइलमा कल आयो। एक महिलाको रहेछ। ती महिलाले आफ्नो नाम बुनु भएको बताइन् र भनिन्, ‘मलाई केही ‘सामान’ चाहिएको थियो। कौशलटारमा ल्याइदिनु न।’
रमेशले बुझिहाले उनीहरुको साथी सर्कलमा बुनु नाम गरेकी महिला पनि थिइन्। सामान भन्नेबित्तिकै रमेशले सोधे, ‘कति थान ? के–के ल्याइदिम् ?’
बुनुले भनिन्, ‘डाइजेपाम ६ एम्पुल, बुप्रेनोर्फिन ६ एम्पुल, फेनारगन ६ एम्पुल। अहिलेलाई यत्ति भए पुग्छ।’ २०७४ साल कात्तिक ८। दिउँसो तीन बजे।
रमेश बुनुले भने जति सामानसहित ३० हजार रुपैयाँसमेत बोकेर स्कुटीमा हुइँकिए कौशलटारतिर। कौशलटार पुग्नेबित्तिकै रमेशलाई सादा पोशाकमा खटिएका प्रहरीले नियन्त्रणमा लिए। बुनु सामान माग्न हैन प्रहरीको जाल रहेछ। उनी प्रमाणसहित पक्राउ परे।
अहिले डिल्लीबजार कारागारमा रहेका रमेशको यो पहिलो जेल यात्रा थिएन। पहिल्यै उनी त्यही अपराधमा पक्राउ परेर कैद सजाय काटेर रिहा भएका थिए। यसअघि उनी २०६३ फागुन ११ मा डाइजेपाम, बुप्रेनोर्फिन सहित पक्राउ परेका थिए। त्यतिबेला उनले दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना भुक्तान गरे। जेल परेर पनि उनको बानी सुधारिएन। पुरानै धन्दा सुरु गरे र फेरि पक्राउ परे।
०००
रमेश घरका कान्छा छोरा हुन्। मूलपानी स्थायी घर भएका उनको घरमा आमा, दिदी र दाजु छन्। उनको बुबाआमाको भक्तपुरमा कपडा पसल थियो। उनको बुबा घरको काममा ध्यान दिँदैनथे। रमेशका अनुसार चार सन्तान र दुई बुढाबुढी पाल्ने जिम्मा उनको आमाको थियो। त्यसका लागि आमाले तातोपानी नाकाबाट आफैँ सामान ल्याएर बेच्थिन्।
छोराछोरी हुर्कँदै गए। खानेकुरा, स्कुल खर्च चलाउन रमेशकी आमालाई धौधौ भयो। आडभरोस दिनुपर्ने ठाउँमा रमेशका बाबुले उनीहरुलाई छाडेर छुट्टै बसे। छोराछोरीलाई पनि वास्ता गरेनन्। यसै क्रममा उनकी आमाको भारत रक्सौलतिर बस्ने प्रकाशसँग भेट भयो। उनले ‘सामान’ ल्याएर बिक्री गरे छिटो पैसा कमाइने उपाय सुझाए। आमाले कपडासँगै सामान पनि ल्याएर बेच्न थालिन्।
थप सामानको धन्दाले जीवन केही सहज भयो। छोराछोरी हुर्कँदै गए। रामै्र स्कुल पढाएकी थिइन्। नभ्याएको बेला कहिलेकाहीँ उनी छोराहरुलाई यो सामान फलानो मान्छेलाई दे है भनेर अह्राउँथिन्। बच्चै उमेरका छोराहरु के–के न रै’छ भनेर खान थाले। उनीहरुले आमालाई डिलरको रुपमा प्रयोग गरे। तर उनलाई पत्तै थिएन। आमाले भनेको दामभन्दा महँगोमा बेच्थे र आफैँ पनि खान्थे।
‘बिग्रेको घरको भताभुंग चाला’ भनेझैँ जुन सन्तान हुर्काउन उनकी आमा अवैध धन्दामा लागेकी थिइन्, छोराहरु पनि त्यसैमा फसे। रमेश र उनका दाजुले लागूऔषध सेवन गर्ने र बेच्ने सँगसँगै गर्न थाले। आमा–छोरीले भने बेच्थे मात्रै। जसै रमेश पक्राउ परे, परिवारै प्रहरीको निगरानीमा प-यो। त्यसपछि लगातार उनीहरु पक्राउ पर्न थाले।
०००
सीता शर्मा तीन वर्षदेखि धादिङ कारागारमा छिन्। उनी पछिल्लो समय २०७२ जेठ १२ मा कागेश्वरी मनहराबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगनसहित पक्राउ परेकी थिइन्। उनी यसभन्दा अघि २०६६ चैत २६ मा पक्राउ परिसकेकी थिइन्। उनले त्यो बेला दुई वर्ष ६ महिनाको कैद भुक्तान गरी एक लाख जरिवाना बुझाएर छुटेकी थिइन्। २०७३ असोज १३ मा काठमाडौं जिल्ला अदालतले गरेको फैसलाअनुसार लागूऔषध ओसारपसारमा उनलाई दुई लाख जरिवाना र २०८६ जेठ १२ सम्म कैदको फैसला गरेको छ।
रमेशकै दिदी पनि २०७० जेठ १ मा डाइजेपाम र बुप्रेनोर्फिनसहित पक्राउ परेकी थिइन्। जेलबाट छुटेको केही समयमै सादा पोशाकमा रहेका प्रहरीले उनलाई कोटेश्वरबाट पक्राउ गरेको थियो।
रमेशकै दाजु २०६९ २९ कोटेश्वरबाट पक्राउ परे। उनीबाट प्रहरीले नियन्त्रित लागूऔषध डाइजेपाम र बुप्रेनोर्फिन फेला पारेको थियो।
यो त एक उदाहरण मात्र हो। प्रहरीको तथ्यांक हेर्ने हो भने एउटा अपराधमा पक्राउ परी जेल जीवन कटाएर बाहिरिने अधिकांश फेरि पुरानै अपराधमा फर्कने गरेको पाइन्छ। लागूऔषधमा त यो दर उच्च छ।
त्यस्तै एक हुन् गोविन्द गुप्ता। उनी गएको भदौ २ मा काठमाडौंको गौशालाबाट पक्राउ परे। प्रहरीले सुराकीको आधारमा उनलाई सय थान ट्याबलेटसहित पक्राउ गरेको थियो। मोरङ स्थायी घर भएका गुप्ताको यो दोस्रो जेलयात्रा थियो। यसअघि उनी २०६९ असोज ६ मा तीन सय एम्पुल र छ सय ट्याबलेटसहित पक्राउ गरेको थियो। साढे २ वर्ष जेल बसेर बाहिरिएको केही वर्षमै उनी पुनः पक्राउ परे।
०५५ मा डाँका केसमा जेल परेका काभ्रेका हरि (नाम परिवर्तन) अहिले अपहरण लागूऔषध ओसारपसारलगायतको केसमा दोस्रो पटक ५ वर्षका लागि डिल्लीबजार जेलमा छन्।
प्रायः लागूऔषधमा पर्नेहरु पटक–पटक एउटै अपराधमा जेल परेको देखियो। लागूऔषध सेवन र ओसारपसारमा डिल्लीबजारमा जेलजीवन बिताइरहेका कैदीबन्दीका कुरा सुन्दा उनीहरुलाई जेलजीवन पछिको ट्रिटमेन्ट नपुगेको देखियो। जेलबाट छुटेपछि पुरानै संगतमा पुग्नु आयआर्जनको पाटो समाउन नसक्नु, समाजले सहजै नस्वीकार्नुजस्ता कारण जति पटक पक्राउ परे पनि पुरानै धन्दामा फर्किने गरेको देखियो।
जेलबाट छुटेपछि पनि प्रहरीले निगरानी राखिरहनु, समाजले सहजै नस्वीकार्नु, सामाजिक मान नपाउनु जस्ता कारणले पनि पुनः अपराधमा लाग्ने गरेको देखियो।
लागूऔषध नियन्त्रण तथा अनुसन्धान ब्युरोका प्रहरी उपरिक्षक कृष्ण प्रसाईंका अनुसार कारागारबाट छुटेर गएपछि उनीहरु फेरि पुरानै संगतमा पुग्छन्। कारागारमा रहँदा परामर्शको सुविधा हुन्न। त्यसैले सजाय काटेर बाहिरिइसकेपछि सुधारिनुको साटो फेरि पुरानै अपराधमा संलग्न हुने सम्भावना बढी हुन्छ।
डिल्लीबजारमा भेटिएका एक कैदीको भनाइले पनि पटक–पटक एकै अपराधमा लागिरहनुको कारण खुलाउँछ। ‘पहिलोपल्ट जेल जीवन बिताएपछि म सामान्य जीवन बिताइरहेको थिएँ। प्रहरीहरु प्रायजसो निगरानी गर्न आइरहन्थे,’ नाम उल्लेख गर्न नचाहने ती कैदीले भने, ‘प्रहरीले देख्यो कि केरकार गरिरहने गर्दा छिमेकीले सधैँ शंका गर्न थाले। सामान्य जीवनमा फर्कनै सकिनँ र पुरानै काम गर्न थालेँ।’
डिल्लीबजार कारागार प्रमुख अरुण पोखरेल जेल जीवन बिताइसकेकाहरुको समाजमा पुनस्र्थापना हुन र समाजमा घुलमिल हुन आवश्यक वातावरण नपाउँदा पुरानै अपराधमा लाग्ने गरेको देखिएको बताउँछन्।
‘ठगी लागूऔषध र बलात्कारको अपराधमा लागेकाहरु जेल जीवनपछि पनि पुरानै अपराधमा लाग्ने गरेको देखियो,’ उनले भने, ‘कानुन बनाएर मात्र हुन्न, जेललाई सुधार गृहको रुपमा विकास गरी परामर्श र जेल जीवन कटाएपछिको सामाजिकीकरणमा पनि ध्यान दिन आवश्यक देखिन्छ।’
एकै ठाउँमा राख्दा समस्या
गम्भीर अपराधमा जेल पुगेका हुन् या सामान्य, पटके हुन् या पहिलोपटक जेल पुगेका सबैलाई एकै ठाउँमा राखिन्छ। जसले गर्दा सामान्य अपराधमा जेल परेकाहरु रिहा हुँदा खुँखार आपराधिक मानसिकता बनाएर आउने हुन्छन्। अनजानबस अपराधमा संलग्नको मानसिकतै आपराधिक हुन सक्छ। यसले पनि जेल पर्दैमा सुधार हुन नसकेको मनोविद्हरुको तर्क छ।
मनोविद् गोपाल ढकाल अपराधीको मनोदशा फरक–फरक हुने बताउँछन्। अपराध गर्ने कारण पहिल्याइसकेपछि उनीहरुलाई त्यो अपराध पुनः नगर्न प्रोत्साहित गर्नुपर्ने, जेलमा मनोपरामर्श दिने र बाहिर निस्कीएपछि समाजमा सहज घुलमिल हुनसक्ने वातावरण बनाउन केन्द्रित हुनुपर्ने ढकालको सुझाव छ।
समाजशास्त्री मीना उप्रेती अपराध गरेर सजाय काटेर समाजमा फर्कँदा पनि अपराधीकै व्यवहार सहनु पर्दा आपराधिक मानसिकता हट्न नसकेको बताउँछिन्। गरेको अपराधअनुसारको सजाय पाइसकेपछि सुधारको प्रयास नहुनु, राज्यको संरचना सुधारमा भन्दा दण्डमा मात्रै केन्द्रित हुँदासमेत समस्या जहाँको त्यहीँ रहेको उनको बुझाइ छ।
‘अपराधअनुसारको सजाय काटेर फर्किनेहरुले समाजमा अपनत्व महसुस गर्न नसक्दा यसै अपराधी, उसै अपराधी भनेर फेरि अपराधमा लागेको देखिन्छ,’ उनले भनिन्, ‘एकपटक जेल परिसकेको व्यक्ति सधैँको अपराधी भन्ने सोच नबदलेसम्म समस्या समाधान हुन सक्दैन।’
मनोविद् रश्मिला काशुला किन अपराधमा संलग्न भयो ? जानाजान हो या अनजानमा, सुधारको सम्भावना कति छ ? पारिवारिक अवस्था कस्तो छ ? लगायतका अवस्थाको विश्लेशण गरी सोहीअनुसार उसलाई परामर्श दिनुपर्नेमा जोड दिइन्।
वर्षैपिच्छे बढ्दै कारोबारी
लागूऔषध अनुसन्धान ब्युरोले उपलब्ध गराएको तथ्याङ्क हेर्दा हरेक वर्ष पक्राउ पर्ने कारोबारी संख्या बढिरहेको देखिन्छ। आर्थिक वर्ष ०७३/०७४ मा ३ हजार ६ सय ७ पक्राउ परेका थिए। आर्थिक वर्ष ०७४/०७५ मा पक्राउ संख्या झण्डै एक हजार एक सयले बढेर ४ हजार ७ सय ५४ पुग्यो। ०७५/७६ मा ५ हजार ५ सय ५८ जना पक्राउ परे।
Leave A Comment