बाबुरामको अरण्यरोदन

शुक्रबार, ०४ पुष २०७६, १२ : ०२ शुक्रवार
बाबुरामको अरण्यरोदन

गोरखाको क्षेत्र नम्बर दुईबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बाबुराम भट्टराई त्यसै पनि चतुर नेताका रुपमा चिनिन्छन्। तत्कालीन नयाँ शक्तिबाट विजयी भएका उनले यतिबेला नयाँ शक्तिको जरोकिलो नै उखेलिसके। हुन त उनी फेसबुके नेताका रुपमा समेत चिनिन थालेका छन्। आफ्ना जे–जस्ता आक्रोश छन्, मञ्चमा भन्दा फेसबुकमा पोस्ट्याउन थालेका छन्। हुन त मञ्चमा आक्रोश पोखे पनि उनलाई सुनिदिने कति नै हुन्छन् र ? बरु सामाजिक सञ्जालमा राम्रै फलोअर जो छन् ! त्यहीँ कामलाग्दो र नलाग्दो चिज पोखे भइहाल्छ ! यसबापत फेसबुक र ट्वीटरले शुल्क पनि लिने हैनन् क्यार ! त्यसमाथि उनीमाथि आश राख्ने पनि त्यहाँ छँदैछन्, रिट्वीट र सेयर गर्नेहरु पनि छँदैछन्।

खैर, हालै उनले एउटा फोटोसहितको स्टाटस पोस्ट्याउन भ्याए। जसमा लेखेका छन्, ‘गोरखाको दरौंदी फाँटमा एकातिर नदीजन्य पदार्थको मनपरि दोहनको यस्तो भद्दा रुप प्रस्ट देखिन्छ भने अर्कोतिर १२ वर्षदेखि निर्माणाधीन १२ किलोबाट दरौंदी किनार हुँदै बारपाकसम्म पुग्ने सडकको बेहाल हेरिनसक्नु छ।’

उनी थप्छन्, ‘राजनीतिक नेता (ठेकेदार) कर्मचारीतन्त्रको लगनगाँठो यति जब्बर छ कि त्यस क्षेत्रको प्रतिनिधिसभा सदस्य रहेको र भूपू प्रम भई टोपलेको म बबुरोको महिनौंदेखिको चिच्याहट अरण्यरोदन बनिरहेको छ।’

हैन, बिलौनाको नाटक गर्न पनि यिनले कति जानेका हौ ? आफैँ त्यस क्षेत्रको जनप्रतिनिधि अनि अझै कोसँग गुहार माग्न खोजेका हुन् ? छक्कै पर्नु छ। त्यसमाथि उनी पूर्वप्रधानमन्त्री पनि हुन्।

त्यति मात्रै कहाँ हो र ? आफैँ निर्वाचित क्षेत्रको विकास गर्नुको सट्टा प्रतिनिधिसभाको चुनावमा प्रतिद्वन्द्विका रुपमा भिडेका नारायणकाजी श्रेष्ठ र आफैँलाई जिताउने नेपाली कांग्रेसप्रति लक्षित गर्दै अनि दुई वटा फोटा पनि पोस्ट्याएछन्। र लेखेछन्, ‘स्मरणरहोस्, पहिलो फोटोमा देखिने बालुवा र गिट्टीको पहाड प्रमुख प्रतिपक्षी पार्टी निकट ठेकेदारको हो भने दोस्रो फोटोमा देखिने बालुवा र गिट्टीको पहाड सत्ताधारी निकट ठेकेदारको हो।’

अब प्रमुख प्रतिपक्षी पार्टी कांग्रेसको बलमा चुनाव जितेका बाबुरामले आफ्नै पूर्वसहकर्मीलाई पनि व्यंग्य गर्न चुकेनन् तर पनि उनको अरण्यरोदन कसले पो सुन्ने ?

Leave A Comment