पुरस्कारमै कन्फ्युज

शुक्रबार, ०४ पुष २०७६, १२ : ३३ शुक्रवार
पुरस्कारमै कन्फ्युज

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका खेलाडीहरुसँग खुसी साट्न र सरप्राइज प्याकेज घोषणा गर्न प्रधानमन्त्री कार्यालय बालुवाटारमा सबैलाई जम्मा पारियो।

प्रधानमन्त्री केपी शर्मा ओली निक्कै उत्साहित थिए मेडल विजेताहरुको बीचमा। पौडीमा चार स्वर्णसहित ९ मेडल जितेकी गौरिका सिंहको उलब्धिबाट उत्साहित प्रधानमन्त्रीले आफू पनि कुनै समय खास्साको पौडीबाज रहेको भन्दै खोलै आरपार गरेको किस्सा सुनाए। गौरिकालाई विशेष प्रार्थमिकता दिएर तस्बिर खिचाए। र, सरप्राइज प्याकेज पनि घोषणा गरे ‘सागमा स्वर्ण पदक विजेता खेलाडीलाई ९ लाख, रजत पदक विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख रुपैयाँ।’

यत्ति त क्लियरै भयो। दोस्रो चरणमा दुईभन्दा बढी स्वर्ण पदक विजेतालाई प्रति स्वर्ण ११ लाखका दरले पुरस्कार दिने प्रधानमन्त्रीको घोषणाले भने कन्फ्युज गरायो सबैलाई। केहीले २ भन्दा बढी पदक जित्नेलाई एकमुष्ट ११ लाख हो भने। कतिले चै हैन प्रतिपदकै ११ लाखको दरले हो भने। यसरी जोड्दा गौरिकाले स्वर्ण बापत मात्रै ४४ लाख पाउने पक्कापक्की भयो।

तर यो घोषणा मन्त्रिपरिषद्बाट निर्णय गरेर नभएकाले कसले कति सरप्राइज पुरस्कार पाउने रहेछन् भन्ने अझै एकिन भने हुन सकेको छैन। कमसेकम प्रधानमन्त्रीबाट घोषणा हुनु अगाडि मन्त्रिपरिषद्बाट निर्णय गरेर अनि घोषणा गरेको भए पक्कै यस्तो अन्योल हुने थिएन।

Leave A Comment