चार खेलाडीमाथि फाइनल कारबाही : तीन महिना निलम्बन, ५० हजार जरिवाना

शुक्रबार, ०४ पुष २०७६, १२ : ४३ शुक्रवार
चार खेलाडीमाथि फाइनल कारबाही : तीन महिना निलम्बन, ५० हजार जरिवाना

अनुसन्धानका लागि निरन्तर निलम्बनमा पर्दै आएका चार राष्ट्रिय खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतिबन्धको समय लम्ब्याउँदै जरिवानासमेत ग-यो।

एन्फाले विमल घर्ती मगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीको निलम्बनको अवधि लम्ब्याउँदै जरिवानासमेत गरेको छ। विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो रात ठमेलको लाउन्ज बारमा गएर मदिरा सेवन गरी अनुशासन उल्लंघन गरेको आरोपमा यी चारै जनालाई एन्फाले राष्ट्रिय टिमबाटै बर्खास्त गरेको थियो।

कारबाहीको अवधि लम्बिँदा यी चारै खेलाडीले नेपालमा आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) खेल्न पाएनन्। नेपाली राष्ट्रिय टिमका बलिया सदस्य मानिने चारैजना मैदान बाहिरै भए पनि नेपालले फाइनल जितेको थियो।

साग सक्किएलगत्तै एन्फाले उनीहरुमाथिको कारबाहीको विवरण सार्वजनिक ग-यो। जसअनुसार विमल र दिनेशमाथि ९० दिनको प्रतिबन्ध लागेको छ भने अन्जन र सन्तोषमाथि ४५ दिनको प्रतिबन्ध लागेको छ।

एन्फाको अनुशासन समितिले चारै खेलाडीलाई ५० हजार जरिवानासमेत गरेको छ। प्रतिबन्धको अवधिभर यी चारै खेलाडीले एन्फाले आयोजना गर्ने कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने भएकाले उनीहरुले  काठमाडौंमा जारी ‘ए’ डिभिजन लिग खेल्न पाएनन्। अन्जन र सन्तोषले  आधा सिजनबाट खेल्न सक्छन् भने विमल र दिनेशले पूरै सिजनै गुमाए।

Leave A Comment