कुकुर पाल्न निवेदन र बायोडाटा

शनिबार, ०५ पुष २०७६, १२ : ४६ शुक्रवार
कुकुर पाल्न निवेदन र बायोडाटा

यसपालि क्रिसमसमा तपाईंले सान्ता क्लजसँग तपाईंले के बरदान माग्नुभयो ? बेलायतस्थित केइला सेभेरीले भने सान्तासँग कुकुर मागेकी छन्। कुकुर भनेपछि हुरुक्क हुने केइलाले आफ्नी आमासँग एक वर्षअघिदेखि कुकुर पालौँ भनिरहेकी थिइन् तर आमाले मानिरहेकी थिइनन्।

हालै १८ वर्ष पूरा गरेकी उनले क्रिसमसमा सान्ता क्लजसँग कुकुर माग्ने धम्की दिइरहेकी थिइन्। अब उनलाई यो संसारमा सान्ता क्लज भन्ने चिज हुँदैन भन्ने थाहा नभएको त होइन। त्यो उमेर पनि पार गरिन्, जुन बेला सान्ता क्लजले राति कसरी उपहार फ्याँकेर हिँड्छन् होला भनेर कुर्दाकुर्दै निदाएकी थिइन्।

त्यसैले आमालाई प्रभावित पार्नुबाहेक उनीसँग अर्को बाटो थिएन। यसका लागि उनले एउटा निबन्धसँगै बायाडाटा नै पेश गरेकी छन् ताकि कुकुर पाल्ने आफ्नो योग्यता पेस गर्न सकौँ।

उनले आफू किन कुकुर पाल्न योग्य छु भनेर आठ सय शब्दको निबन्ध लेखी आमालाई पेश गर्नुअघि आमाको मुड ठीक पार्न चकलेट उपहार दिइन् र निबन्ध तथा बायोडाटा हस्तान्तरण गरिन्। निबन्धमा उनले कुकुर ल्याएपछिको जिम्मेवारी र बढ्ने खर्चको व्यवस्थापनबारे लेखेकी छन्।

‘ती सबै पढेपछि जब आमाले मेरा खुबी र जिम्मेवारी थाहा पाउनुभयो, कुकुर पाल्ने स्वीकृति दिनुभयो,’ उनले कुकुर पाएपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै लेखेकी छन्।

जब निवेदन र बायोडाटा उनकी आमाले पढिन्, आफ्नो हाँसो रोक्न सकिनन्। त्यसपछि उनले कुकुर पाल्ने स्वीकृति पाइन्।

केइला यतिबेला एउटा रेस्टुराँमा पिज्जा बनाउँछिन्। रेस्टुराँमा उनको ज्ञानी कुकुर पनि सँगै जाने गर्छ। कुकुरलाई हेर्दै उनले भनिन्, ‘त्यो दिन जब आमाले भान्सामा रहेको चकलेट देख्नुभयो, आश्चर्यले मतिर हेर्नुभयो। त्यसपछि मैले निवेदन दिएकी थिएँ।’

‘निवेदन नहेरी उहाँले थाहा पाइसक्नु भएको थियो, केका लागि यसले फकाउँदैछे,’ केइला भन्छिन्, ‘उहाँले आँखा तरेर हेर्नुभयो र भन्नुभयो– कुकुर त यो घरमा आउँदै आउँदैन, जतिसुकै हातखुट्टा बजार !’

तर जब आमाले यति सहजै स्वीकृति देलिन् भन्ने चाहिँ उनलाई पनि लागेको थिएन। ‘तर निवेदनले कतै काम गरिहाल्ला कि, कतै स्वीकृति पाइहालूँला कि भन्ने नलागेको होइन,’ उनले भनिन्, ‘त्यसैले प्रयास गर्दा के बिग्रला र भनेर बायोडाटा र निवेदन लेखेँ।’

जब निवेदन जोडदार लाग्यो, उनकी आमा कति मख्ख परिन् भने छिमेक र आफन्तलाई समेत बताउँदै हिँड्न थालिन्।

केइला भन्छिन्, ‘अहिलेका केटाकेटीलाई म सुझाव के दिन्छु भने घरमा गनगन गर्नुभन्दा नयाँ नयाँ शैली र शिल्पले आमाबालाई फकाउने तरिका खोज्नुस्। त्यसले तपाईंले सोचेभन्दा राम्रो परिणाम दिनेछ।’

Leave A Comment